२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ‘मानवसेवा शास्वत धाम’ बनाइने



अ+ अ-

काठमाडौं । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यमा अघि बढेको मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेम्जास्थित आश्रमस्थललाई ‘मानवसेवा शास्वत धाम’का रूपमा विकास गर्ने भएको छ ।

सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र जीवनरक्षामा सक्रिय आश्रमले मानवसेवाको उत्कृष्ट नुमनाका रूपमा हेम्जाको आश्रमलाई विकास गर्ने भएको हो

। ‘मानवसेवा शास्वत धाम’को लक्ष्यअनुसार हेम्जामा पूर्वाधार निर्माणका कामलाई अगाडि बढाइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम भवनको पूर्वतर्फ ‘मुक्तिनाथ सेवा धर्मशाला’ निर्माण हुने उनको भनाइ छ ।

मुक्तिनाथलगायत यस क्षेत्रका प्रसिद्ध तीर्थस्थलमा जाने स्वदेशी तथा विदेशी श्रद्धालुहरूलाई लक्षित गरी उक्त धर्मशाला बनाउन लागिएको हो ।

तीर्थयात्रीहरूलाई आवास र भोजनसहितको निःस्वार्थ सेवाका लागि उक्त धर्मशाला निर्माणको योजना ल्याइएको अध्यक्ष अधिकारीले बताउनुभयो । एक सय महिला र एक सय पुरुषलाई सेवा दिन मिल्ने गरी धर्मशाला बन्ने जनाइएको छ ।

सोही स्थानमा अहिले क्ष्मीनारायण मन्दिर पनि निर्माण भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार सम्पन्न गर्न, अक्षयकोष वृद्धि र आश्रमस्थललाई शास्वत धामका रूपमा विकास गर्न आश्रमले यही वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको छ ।

भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन रहेको उक्त महायज्ञबाट रु १० करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको आश्रमले जनाएको छ ।

विसं २०७५ चैतदेखि सुरु भएको हेम्जाको आश्रम भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । रु दस करोडको लागतमा उक्त भवन बन्न लागेको हो । लक्ष्मीनारायण मन्दिरको निर्माण ६० प्रतिशत सकिएको आश्रमका केन्द्रीय सदस्य सदिस पुनले जानकारी दिए ।

तीनै तहका सरकार र दाताहरूले आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भएको उहाँले बताउनुभयो । आश्रमको हेम्जा र छोरेपाटन गरी कास्कीमा दुईवटा सेवाकेन्द्र छन् । छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित छन् ।

‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गरिरहेको आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर, सडकआश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ ।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरूको उद्धार र संरक्षण गर्ने उद्देश्ययले १३ वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो । ‘सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ ।

मध्यकालीन योजनामा विसं २०८७ भित्र मानवसेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रूपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापना गर्ने लक्ष्य लिइएको छ ।

मुख्य कार्यालय मकवानपुरको हेटौँडामा रहेको आश्रमका २१ जिल्लामा ३३ सेवा केन्द्रहरू सञ्चालित छन् । आश्रमले हालसम्म १२ हजार २४८ जनालाई सेवा प्रदान गरेको जनाइएको छ । मकवानपुर, वीरगञ्ज, चितवन, धनगढी, बुटवल, विराटनगर, कास्की, सर्लाही, लमजुङ, दाङ, गोरखा र बागलुङमा आश्रमका आफ्नै भवन छन् ।




भर्खरै