• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

फास्ट ट्र्याकमा परामर्शदाता छनोट: रद्द गरिएका कम्पनी नेपाली सेनाद्वारा फेरि पनि छानिए



काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सेनाले नयाँ प्रक्रियाबाट पुनः परामर्शदाता कम्पनी छानेको छ । नयाँ प्रक्रियाबाट परामर्शदाता कम्पनी छान्न पुनः टेन्डर आह्वान गरिएकामा २२ विदेशी कम्पनीले इच्छापत्र बुझाएका थिए । त्यसमध्ये बुधबार मात्रै ६ वटा कम्पनीलाई सेनाले छानेको हो । नयाँ प्रक्रियाबाट छानिएका कम्पनीमा समेत दुई वटा पुरानै प्रक्रियामा समावेश भएका र मापदण्ड चुहावटका कारण टेन्डर रद्द हुनेमा परेका कम्पनी छन् ।

रद्द भएका कम्पनीमध्ये सुसुङ इन्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका हुन् । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको द्रुतमार्ग आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गर्दा ती कम्पनी फेरि अटाएका हुन् । नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले पहिलेको प्रक्रियामा समावेश भएका कम्पनीले पुनः भएका वा हुने टेन्डर प्रक्रियामै सहभागी हुन नपाउने भन्ने नरहेकाले उनीहरू नयाँ प्रक्रियामा परेको हुन सक्ने बताए । उनले पुनः छानिएका कम्पनीका लागि मूल्यांकन मापदण्ड नै फरक रहेको समेत जनाए ।

‘पहिले छानिएका र रद्द भएका कम्पनी फेरि भएका वा हुने टेन्डर प्रक्रियामा समावेश नै हुन नपाउने भन्ने छैन । अहिले नयाँ मूल्यांकन मापदण्डअनुसार परामर्शदाता कम्पनी छानिएको छ । उनीहरू पुनः प्रक्रियामा आएका हुन सक्छन्,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने । उनले पहिलेको डीपीआरमा पुलको संख्या बढी र सुरुङको संख्या कम रहेको र सुरुको डीपीआरको तुलनामा अहिलेको डीपीआरमा समेत धेरै फरक भएकाले त्यसले कुनै असर नपर्ने जनाए ।

अहिले छानिएका ६ वटा परामर्शदाता कम्पनीमा कोरियाली कम्पनी योसिन इन्जिनियरिङ, कोरिया एक्सप्रेस वे र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्टको संयुक्त भेन्चर, चाइना रेलवे इर्वान इन्जिनियरिङ समूह, पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ जर्मनीको जेभी संयुक्त छन् ।
यस्तै, अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङसुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभीको संयुक्त कम्पनी तेस्रो नम्बरमा छानिएका छन् । त्यस्तै, चौथो नम्बरमा सिंगापुरको मेनहार्ड, कोरियाको योङ डोङ इन्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरनेसनलको संयुक्त कम्पनी छ भने पाँचौंमा स्पेनको इप्टिसा सर्भिस र कोरियाको सोसुङ इन्जिनियरिङको संयुक्त समूह छ ।

अन्तिम सूचीमा छानिएको परामर्शदाता कम्पनीमा कोरियाको दसन कन्सल्ट्यान्ट र रिट्स लिमिटेड तथा भारतको संयुक्त भेन्चर छन् । यसअघि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक हुनुअगावै परामर्शदाता छनोट गरिएको भन्दै सैनिक मुख्यालयसहित रक्षा मन्त्रालयमा उजुरी परेपछि सेनाले पहिलेको प्रक्रिया नै रद्द गरेको थियो । अब पुनः प्रक्रियामार्फत छनोट सूचीमा परेका कम्पनीसँग आर्थिक प्रस्ताव माग गरेर अन्तिम सूची निकालिने जनाइएको छ ।

यसअघि भएको छनोटमा मापदण्ड चुहाउने व्यक्ति फेला पार्न नसकेपछि छानबिनका लागि गठित बोर्डले पूर्वप्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड, सहायक रथी शरदलाल श्रेष्ठसहित प्राविधिक मूल्यांकन बोर्डका सात जनालाई सदस्यलाई सचेत गराउन सुझाएको थियो । छानबिन अवधिभर आयोजना प्रमुख श्रेष्ठलाई जिम्मेवारीबाटै हटाइएको थियो । श्रेष्ठ फेरि जिम्मेवारीमा फर्किसकेका छन् । राजधानी दैनिकबाट