३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्कानाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए ।

उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा एक हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमापास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताउनुभयो ।

त्यसैगरी, हालसम्म ६४८ जनाले सीमापास नवीकरण गरेका छन् । सीमापास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमापास र परिचयपत्रका आधारमा किमाथाङ्कानाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका–१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ ।

भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।