११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सहज सडकमार्ग नहुँदा ओझेलमा पर्दै ‘चमेरे गुफा’

सहज सडकमार्ग नहुँदा ओझेलमा पर्दै ‘चमेरे गुफा’
अ अ+ अ-

दाङ ।  जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन । गुफासम्म पुग्ने करिब चार किलोमिटर बाटो कच्ची र साँघुरो हुँदा गुफा ओझेलमा पर्ने जोखिम बढेको हो ।

कच्ची र साँघुरो सडकका कारण पर्यटक तथा स्थानीय सहज रूपमा गुफासम्म पुग्न सक्दैनन् । पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा पूर्वाधार विकास र सहजमार्ग विस्तार नहुँदा ओझेलमा परेको छ । पछिल्लो समय जिल्लाका अन्य पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि चमेरो गुफा क्षेत्र प्रायः सुनसान हुने गरेको स्थानीय बताउँछन् ।

करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक सौन्दर्यले भरिएको यस गुफाको आवश्यक प्रचारप्रसार र प्रवर्द्धन गर्ने सके आन्तरिकका साथै बाह्य पर्यटकलाई आकर्षित गर्ने, नागरिकको आयआर्जन वृद्धि हुने तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ । चारतिर वनजङ्गल रहेको र सोही जङ्लसँगैको पहाडको फेदमा रहेको गुफा चारैतिर हरियाली र स्वच्छ दृश्यले सबैलाई मनमोहक बनाउने गरेको छ ।

सुन्दर दृश्य तथा गुफा अवलोकनका लागि आउने पर्यटकलाई भने पैदल हिँड्नुपर्ने बाध्यता छ । प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य  तथा आन्तरिक पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर वृद्धि हुने विश्वास लिइएको छ । पैदल हिँडेर थकानका साथ जब  आन्तरिक पर्यटक गुफामा पुग्छन् तब सबै थकान मेटिने उहाँहरूको प्रतिक्रिया छ ।

तुलसीपुरबाट गुफा अवलोकन गर्न पुग्नुभएकी ४३ वर्षीया सरस्वती पुनले पहिलो पटक यहाँ आएको भन्दै निकै सुन्दर र रमणीय दृश्य यहाँ रहेका प्रतिक्रिया दिनुभयो । सहज सडक नहुँदा पैदल हिँड्नु पर्ने अवस्थाले थकान महसुस भएको उहाँले अनुभव सुनाउनुभयो । “गुफा सुन्दर छ, तर हिँड्नु परेकाले कठिनाइ भएको छ”, उहाँले भन्नुभयो । चमेरे गुफासम्म पुग्न सामान्य कच्ची बाटो बने पनि पर्याप्त रूपमा पूर्वाधार विकास र सडक विसतार नहुँदा गुफाकोे अस्तित्व सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीयहरू बताउँछन् ।

तुलसीपुर-४ की ४५ वर्षीया विमला शर्माले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासमा सरोकार भएका निकायले ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक थप भित्र्याउन सकिने धारणा राख्नुभयो । “यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने, रोजगारीका अवसर सृर्जना हुने, जीवनस्तरमा सुधार हुने थियो”, उहाँले भन्नुभयो ।

तुलसीपुर बजारबाट करि १२ किलोमिटरको दूरीमा यो गुफा पर्दछ । प्राकृतिका सुन्दरताले भरिएको गुफाको संरक्षण गरी दीगो रूपमा पूर्वाधार निर्माण गर्नसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास हुने सम्भावना छ । हाल गुफा अवलोकन गर्न दैनिक ४० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका सिद्द चेमेरोे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनतला रहेको यस गुफासम्म पुग्नका लागि केही वर्ष पहिले साविकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा कच्ची बाटो, यात्रु प्रतिक्षालय, चमेना गृहलगायत केही संरचना निर्माण भएका छन् । पछिल्ला वर्षमा कुनै पनि निकायले बजेट उपलब्ध नगराउँदा गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो निर्माण हुन नसकेको समितिका अध्यक्ष पुनले बताउनुभयो ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघका स्वरुप देखिने भएकाले अवलोकन गर्ने जोकोही आकर्षित हुने उहाँको भनाइ छ । “गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । गुफामा तीन तह छन् । प्रत्येक तहका भित्तामा विभिन्नस्वरुप देख्न पाइन्छ”, उहाँले भन्नुभयो ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेर गुफामा चमेरा बस्ने भएकाले यसको नाम चमेरे गुफा हुन गएको जानकारहरू बताउँछन् । विसं २०५२ मा पत्ता लागेको यो गुफा कसले र कसरी पत्ता लाग्यो भन्नेबारे सबै अनविज्ञ रहेका समितिका अध्यक्ष पुनले जानकारी दिनुभयो । यहाँका ज्येष्ठ नागरिकका अनुसार भिरमा घाँस काट्न जाँदा गुफा पत्ता लागेको बताउने गरेका उहाँको भनाइ छ ।

गुफासम्म पुग्न बाटोमा भर्‍याङहरू पनि निर्माण गरिएका छन् । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-सल्यान सडकखण्डको हर्नेटीसम्म बाटो पक्की छ । हर्नेटीबाट गुुफासम्म पुग्न करिब चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा वर्षात्को समयमा यातायातका साधन सञ्चालन हुन नसक्दा पर्यटक आगमन घट्ने जनाउँदै पुनले हिउँदको समयमा साना सवारीसाधन भने यहाँसम्म आउने बताउनुभयो ।

साना सवारीमार्फत यहाँ आउँदा करिब एक दशमलव पाँच किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता रहेको समितिका अध्यक्ष पुनले बताउनुभयो । सोही कारणले पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीयबासी बताउँछन् । यस क्षेत्रको विकास भए आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने भएकाले स्थानीयले सरोकार भएका निकायलाई गुफा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

सिद्द चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष पुनले गुफासम्म पुग्ने चार किमी बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाई हुने गरेको बताउनुभयो । “कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचबाटोबाट फर्किँदा आगन्तुकको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो, “गत मङ्सिरमा बर्दियाबाट गुफा अवलोकनका लागि बसमा आएको थियो । एकटोली क्षेत्रको बाटो साँघुरो भएकाले बस यहाँसम्म नपुगी हर्नेटीबाट फर्केको थियो ।”

यसको क्षेत्रको विकास गरी रोजगारी सृजना गर्न तथा स्थानीयको आयआर्जन बढाउन सबैले सहयोग र समन्वय गर्नुपर्नेमा अध्यक्ष पुनले जोड दिनुभयो । चमेरे गुफसम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा तुलसीपुर उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदै आइएको जनाउँदै उहाँले हालसम्म कुनै सुनुवाइ नभएको बताउनुभयो ।

चमेरे गुफालाई प्रर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि गुफाभित्र बिजुली, भर्‍याङ निर्माण गर्नुपर्ने तथा बाहिर प्रतिक्षालय, शौचालय, व्यवस्थित चमेना गृह निर्माण गरिनुपर्ने भन्दै सहज सडक सञ्जाल विस्तार गरिदिन उहाँले सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि आउनेसँग प्रतिव्यक्ति रु २० लिने गरेको जनाउँदै उहाँले सोहीबाट सङ्कलन भएको रकमले गुफाको संरक्षण र विकास गरिँदै आइएको उल्लेख गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले यसवर्ष चमेरे गुफाको विकासका लागि भौतिक पूर्वाधार निर्माणसहित व्यवस्थित पूर्वाधार निर्माणका लागि बजेट विनियोजन नभएकाले समस्या भएको बताउनुभयो । उहाँले चमेरे गुफा संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताउँदै बजेट अभावका कारण सडक पक्की बनाउन नसकिएको उल्लेख गर्नुभयो ।

सन् २०११ मा चमेरे गुफाको प्रचारप्रसाका लागि भन्दै स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो । सो अवधिमा पर्यटकको आगमन पनि बढेको थियो । तर, पछिल्ला वर्षहरूमा गुफाको अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी आउँदा पर्यटकीय सम्भावना बोकेको क्षेत्र ओझेलमा परेको भन्दै स्थानीय सरकारले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय बताउँछन् । रासस