११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै
अ अ+ अ-

झापा। एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।

घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी  ३० लाख रुपैयाँ बजेट दिएका छन् ।

मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको  एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबारा जडान गरिएको थियो ।

सौर्य घेराबारा प्रभावकारी भएकाले सुरुका वर्षहरुमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए । तर, घेराबाराको नियमित मर्मतसम्भार हुन नसक्दा बिगत पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्याउँदै आएका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी हर्षित भएको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालयले १० लाख रुपैयाँ, राष्ट्रिय प्रकृति संरक्षण कोषले १० लाख रुपैयाँ  र मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

“अठार किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्रीसहितको उपकरण जडान गरिएका थिए,” अध्यक्ष उप्रेतीले भन्नुभयो, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ । गौडाहरुमा विद्युत् प्रवाह हुने तार र खम्बाहरु समेत ढलेका छन् । तिनको पनि मर्मत गर्नैपर्ने हुन्छ ।”

मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको उप्रेतीले जानकारी दिनुभयो ।

भारतको आसाम र पश्चिम बङ्गालको विभिन्न वन्यजन्तु आरक्षण केन्द्रहरुबाट जङ्गली हात्तीहरु नेपाल प्रवेश गर्ने मुख्य स्थान नै मेचीनगरको बाहुनडाँगी हो । जहाँ दिनहुँ एक सयको बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन् । आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीको व्यापक क्षति गर्दै आएका छन् ।

विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि सरकारले बजेट नदिँदा समस्या बल्झिएको जनाउँदै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मर्मतका लागि बजेटको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

“मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न असल अभ्यास भइरहेको छ,” उहाँले भन्नुभयो, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बिमाको व्यवस्थामा ध्यान केन्द्रित गरिरहेका छौँ । विद्युतीय घेराबारा मर्मत भएपछि बथानमा भित्रिने हात्ती मेची नदीपारि नै रोकिनेछन् । जसबाट निकै राहत मिल्ने आशा छ ।” रासस