• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

गढीमाई बली प्रथा: ५ हजार बढी राँगाको बलि दिईयो अझै बढ्न सक्ने



बारा । गढीमाई मेलामा मंगलबार पाँच हजार बढी राँगाको बलि चढाइएको छ । मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउने कार्य सुरु भएको थियो । राति अबेरसम्म पनि बलि चढाउने काम जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पुजारी परिवारबाट तान्त्रिक विधिअनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलिका लागि बोका, राँगा, परेवा, जंगली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ ।

मंगलबार राँगाको बलि दिने तथा बुधबार बोका, हाँस, कुखुरा, परेवालगायतको बलि दिने कार्य हुने गढीमाईका पुजारी मंगल चौधरीले बताए । नेपालमात्रै नभई भारतबाट पनि बलि चढाउन आउनेहरूको संख्या उल्लेख्य छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरालगायतको असंख्यमा बलि दिन आउने गरेका छन् ।

गढीमाई विकास समितिद्वारा बनाइएको रंगशालामा सोमबार रातिसम्म ३ हजार ४ सय ४१ राँगा बुझाएको थियो भने रंंगशाला बाहेक खुला खेतमा श्रद्धालुहरूले आफैंले समेत बलि दिएका छन् । जसले गर्दा एकिन संख्या पत्ता लगाउन कठिन हुने गरेको छ । बलिको बाहिर चर्को विरोध हुने गरेका कारण समितिले पनि यकिन संख्या दिने नगरेको आरोप लाग्दै आएको छ । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो लागेको छ ।

नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एसियाबाट गरी करिब ६० लाखभन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पुजारी चौधरीले बताए । मेलामा आउने करिब नौओटा बाटोमा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको छ । भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभंगा, सीतामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र बंगलादेश, पाकिस्तान, बर्मादेखिबाट भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।

बलि दिन आएकोहरूबाट प्रति राँगा पाँच सय चिराकी लिएकोमा करिब १७ लाख २० हजार ५ सय रुपियाँ संकलन भएको छ । राँगा काट्ने व्यक्तिलाई ज्याला बापत रकम दिनलाई यसरी चिराकी लिने गरेको समितिले जनाएको छ । यसको रकम बढ्न सक्ने छ, यकिन विवरण मेलापछि सार्वजनिक गरिने मेला समितिले जनाएको छ । बलिका कारण मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । बोका बलि भने बुधबार बिहान चार बजेबाट सुरु हुने पुजारी चौधरीले जानकारी दिए । सौर्य दैनिकबाट