• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

आज सागको चौंथो दिन १६ खेल हुँदै, कुन खेल कहाँ ? (सम्पुर्ण जानकारी सहित)



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज (बुधबार) काठमाडौं र पोखरामा १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार क्रिकेट, साइक्लिङ, एथ्लेटिक्स, फुटबल, गल्फ, कराते, ब्याडमिन्टन, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल हुनेछ भने अन्य खेल काठमाडौंमै हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ भने भारत १९ स्वर्णसहित दोस्रो स्थानमा छ ।

क्रिकेट: साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ ।पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू(२३ ले भुटानको सामना गर्नेछ ।

कराते: आज नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित कराते हलमा हुनेछ । करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष व्यक्तिगत कुमुतेतर्फ ५० केजीमा सोनाम लामा र महिलातर्फ ६८ केजीमा अनुपमा मगरले खेल्नेछिन् ।

यसैगरी महिला टिम कुमुतेतर्फ रिता कार्की, सनी तामाङ, एस्टर राई र अस्मिता वाईबाले खेल्नेछिन् । पुरुष टिम कुमुतेतर्फ बिनोद शाक्य, दिगम्बर पन्त, लेखनाथ मैनाली, सुशिल पौडेल, नबिन रसाईली, मुकुन्द महर्जन र अर्जुन बागचनले खेल्नेछन् । करातेमा नेपालले ९ स्वर्ण जिकिसकेको छ ।

उसु:आज उसुमा नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । नेपालको पुरुषतर्फ हुने दुई खेलमा पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् । अन्य स्पर्धाको खेलहरु समेत हुनेछ । तर, स्वर्णको तय भने हुनेछैन ।

फुटबल:पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ । फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।

सुटिङ: मंगलबारबाट सुरु भएको सुटिङतर्फ आज विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ । सुटिङमा नेपाल पदक विहिन रहेको छ ।

तेक्वान्दो:तेक्वान्दोमा बुधबार विभिन्न खेलहरु हनेछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार गेरुगीतर्फ प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोको अहिलेसम्म ९ स्वर्ण जितिसकेको छ ।

खोखो:खोखोको महिलातर्फको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित गर्दा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हराएको थियो । पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

एथ्लेटिक्स:एथ्लेटिक्सतर्फ बुधबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट एथ्लेटिक्सको ९ स्पर्धा सुरु हुनेछ ।

ब्याडमिन्टन:पोखरामा हुने ब्याडमिन्टनतर्फ बुधबार एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछ । नेपालले एकलमा खराब प्रदर्शन गर्दा डबल्स र मिक्स डबल्समा सुधारिएको प्रदर्शन गरिरहेको छ ।
नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ: गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट खेल सुरु हुनेछ । पुरुष ब्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् । पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ । गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस:लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार विभिन्न स्पर्धामा खेल हुनेछ । मंगलबार नेपालले पुरुष टिममा रजत र महिला टिममा कास्य जितेको छ ।

ट्रायथलन:पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत बुधबार १ स्वर्णको लागि खेल हुनेछ ।
मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २।५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।
यस अघि नेपालले दुई स्वर्ण जितिसकेको छन् ।

टेनिस:सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । टिम इभेन्ट्सको पुरुष र महिलातर्फ नेपालको दुवै टिम बाहिरिसकेको छ ।

ह्यान्डबल: पोखरामा ह्यान्डबल बुधबार सुरु हुनेछ । पहिलो दिन चार खेल हुनेछ । महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ । पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

साइक्लिङ:साग अन्तर्गत साइक्लिङतर्फ बुधबार विभिन्न स्पर्धाको सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

कब्बडी: कब्बडीको खेल बुधबारबाट सुरु हुनेछ । कब्बडी एपीएफ मैदानमा खेल्नेछ ।