• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

अमेरिकी सहायक रक्षामन्त्री उच्चस्तरीय भेटवार्ता: अमेरिकासँग थप सहकार्य, आउने भयो नेपाली सेनाका लागि दुई अमेरिकी स्काई ट्रक



काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । हिन्द प्रशान्त क्षेत्र हेर्ने उनले बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षासचिव रेश्मीराज पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे । सबै भेटमा उनले नेपालको सार्वभौमसत्तालाई सम्मान गर्दै अमेरिकाले नेपालको आर्थिक र सुरक्षा क्षेत्रमा सहकार्य गर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र अमेरिकाबीच उच्चस्तरीय राजनीतिक संवाद भइरहनुपर्नेमा जोड दिँदै आफ्नै आँखाले नेपालका बारेमा धारणा बनाएकोमा धन्यवाद दिए । उनले नेपाली सेनालाई निरन्तर गरिरहेको सहयोगप्रति पनि खुसी व्यक्त गरे । सेनालाई अमेरिकी सहयोगमा दुईवटा स्काई ट्रक दुई साताभित्रै आउने तयारी छ । स्काई ट्रक अमेरिकाले २ पुसमा नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

अमेरिकाले नेपाललाई दिने वचन दिएका थप दुई स्काई ट्रकमध्ये एउटा सन् २०२१ र अर्को २०२२ मा नेपाल आउनेछन् । यी जहाज प्रकोपको उद्धार र व्यवस्थापनका लागि सेनाले प्रयोग गर्नेछ ।सहायक रक्षामन्त्री स्क्राइभरले अमेरिकाले सधैँ साना ठूला देशको सार्वभौमसत्तालाई उच्च सम्मान गर्दै आएको र त्यही आधारमा सहकार्य गर्दै आएको बताए । उनले नेपालको विकास र उन्नतिमा अमेरिकाले साथ दिने पनि स्पष्ट पारे ।

भेटवार्तामा अमेरिकी सहायक रक्षामन्त्रीले नेपाल र अमेरिकाबीच अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम९एसपिपी० अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१ देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट