८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
अ+ अ-

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् ।

लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो ।

उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ ।

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालनसमेत सञ्चालन गर्दै आएको छ । सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग व्यवस्थापनसम्बन्धी सहयोगले किसानलाई थप हौसला मिलेको राईको भनाइ छ ।

हतुवागढी–२ लुङ्गिनका वडाध्यक्ष बिचारी थापाले फलफूल खेतीमार्फत किसानको आयआर्जन बढाउने लक्ष्यसहित सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न वडाको बजेटमा नर्सरीसमेत विस्तार गरिएको र वडाले समयसमयमा सुन्तला, एभोकार्डो, कागतीका बिरुवासमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“यहाँ सुन्तला उत्पादन हुने स्थानलाई पकेट क्षेत्र घोषणा गरेर खेती विस्तारमा जोड दिइएको छ । यहाँका वालिङ, साक्सिराङ, दितेनी क्षेत्रमा सुन्तलाको बढी उत्पादन हुने गरेको छ । त्यसैले किसानलाई उन्नत जातका बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग दिँदै आएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले किसानलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख बनाएको छ । नर्सरी स्थापना गरेर किसानलाई बिरुवा वितरण गर्दै आएका छौँ ।”

स्थानीय कृषक प्रशुराम राईका अनुसार सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भइरहेका छन् । आफ्नो बारीमा हाल १५० बोट  हारहारी सुन्तला रहेको उहाँले बताउनुभयो । “अन्नबालीभन्दा सुन्तलाबाट बढी आम्दानी हुने देखिएको छ”, राईलेले भन्नुभयो, “यसले हाम्रो जीवनस्तर सुधारमा सहयोग पुगेको छ । त्यसैले यस क्षेत्रका किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छौँ ।”

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले लुङ्गिन क्षेत्र फलफूल खेतीका लागि उपयुक्त भएकाले सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “यहाँको हावापानी र माटो सुन्तलाका लागि निकै उपयुक्त छ”, उहाँले भन्नुभयो, “यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना छ ।”

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सुन्तला खेतीमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो । फलफूल खेतीको माध्यमबाट किसानको आयस्तर सुधार गर्ने लक्ष्यले भूगोलअनुसार फलफूल खेतीमा जोड दिएको उहाँले बताउनुभयो ।

“स्थानीय उत्पादन बढाउँदै किसानको आयस्तर उकास्ने हाम्रो उद्देश्य हो । फलफूल खेतीलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने योजना बनाएका छौँ”, अध्यक्ष राईले भन्नुभयो ।

स्थानीय तहको सहयोग, उपयुक्त हावापानी र बजारको पहुँचका कारण लुङ्गिन क्षेत्र सुन्तला उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।  रासस