२० आश्विन २०८१, आईतवार
,
Latest
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक कोतघर जीर्णोद्धार गरिँदै



अ+ अ-

बागलुङ । चौबिसे राज्यका पालाको गलकोट कोतघर जीर्णोद्धार गरिने भएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिला राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । कोतघर जीर्णोद्धार नगर गौरवको योजनामा छ । चालू आवमा रु ५० लाख बजेट छुट्याइएको छ । आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने लक्ष्यसहित कोतघरको विकास र संरक्षणको काम अघि बढाइएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । “ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोदार गर्दैछौँ”, उहाँले भन्नुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनुपूर्व वडाले सरोकार भएका पक्षसँग छलफल÷परामर्श गरिरहेको छ । जग्गा व्यवस्थापन र घेराबारलगायत पूर्वाधार तयारीका काम यही वर्ष हुने वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना नगरपालिकाको छ । कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्धार गरिनेछ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए ।

राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएका छन् । “झिँगटीले छाएको भुइँतले दरबार थियो, अहिले पनि जगमा इँटाका अवशेष भेटिन्छन्”, गलकोट बहुमुखी क्याम्पसका प्रमुख एवं इतिहास विषयका अध्यापक कृष्णप्रसाद गौतमले भन्नुभयो । उहाँका अनुसार कोतघर पनि पहिले झिँगटीको थियो । विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने अध्यापक उहाँको सुझाव छ । कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् ।

तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति, शिला आदि छन् । मन्दिरमा अहिले पनि हरेक वडादशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । चैत्राष्टमीमा त कोतघरमा मेला नै लाग्छ । कोतघरको प्रवद्र्धनमा ‘गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च’ पनि सक्रिय छ । नगर प्रमुख भरत शर्मा गेरैले कोतघर गलकोटकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले कोतघरको विकासमा जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । “कोतघर गलकोटकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन्छ”, उहाँले भन्नुभयो ।

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गोलो पहाडको टाँकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ । चौबिसे राज्यअन्तर्गतको स्वतन्त्र गलकोट राज्यका अन्तिम राजा जगतबम मल्लसम्मले सोही कोतघरबाट शासन चलाएका थिए ।

विसं १८४४ मा गोरखा राज्यमा एकीकरण भएपछि गलकोटमा रजौटाको शासन शुरु भयो । नेपालको एकीकरणपश्चात् मल्ल राजा हटिया बजार नजिकको राजघरा हुँदै वडा नं ५ हरिचौरको सर्दाखेत सरेका थिए । उक्त दरबार अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । दरबारको उचित संरक्षण भने हुन सकेको छैन ।