३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण



Debris of missiles fired from Iran toward Israel leave trails in the night sky over Nablus in the occupied West bank after being intercepted on June 13, 2025. (Photo by Zain JAAFAR / AFP)
अ+ अ-

बग्दाद। इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् ।

बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो।

लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानेको थियो।

शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कुटनीतिक नियोगमाथि कालो धुवाँको मुस्लो उठेको एएफपीका एक पत्रकारले बताएका छन् ।

दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताएअनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण भएको थियो।

घटनाबारे अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको छ ।

तेहरान समर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्गटनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ । इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने इरान सहयोगी अभियान अन्तर्गत विभिन्न गठबन्धन गरिएको छ । इराक र यस क्षेत्रमा अमेरिकी आधारशिविरहरूमा दैनिक ड्रोन र रकेट आक्रमणको दाबी ती सङ्गठनहरूले गर्ने गरेका छन् ।

युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ।

पहिलो आक्रमण इरान समर्थित धेरै समूहहरूको उपस्थिति रहेको अरासतको छिमेकमा रहेको एक घरमा भएको थियो। त्यसको दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको थियो ।

सुरक्षा स्रोतहरूले सुरुमा दुई समूहका सदस्यहरू मारिएको बताएका थिए ।

इरान समर्थक स्रोतले एएफपीलाई बताएअनुसार पछि घरमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको पुष्टि भएको छ ।

कमाण्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी उक्त समूहको घरमा भएको आक्रमणमा घाइते भएका बताइएको छ।

इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्याको प्रयास’ भएको बताएको छ।

अरासत जिल्लाका एक बासिन्दाले एएफपीसँग भने, “काताइब हेजबुल्लाहले कब्जा गरेको निकै साधारण देखिने घरबारे छिमेकमा कसैलाई पनि थाहा थिएन।”

कुनै पनि स्रोतले इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको हात रहेको भन्ने कुरा बताएको छैन र कतैब हेजबुल्लाह समूहले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन।  (रासस/एएफपी)