२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइरन त मेयरमा बालेनको उदयसँगै बजेको हो, तर नेताले कान थुन्दा यो अवस्था आयो



अ+ अ-

काठमाडौं । ‘लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा कहिले विजयी हुनु र कहिले पराजय भोग्नु सामान्य कुरा हुन् । निर्वाचन मार्फत कहिले कुनै ‘साना’ दल ठूला बन्छन् भने कुनै ‘ठूला’ दल साना ।

तर यसपटकको निर्वाचनले अलोकतान्त्रिक, भ्रष्ट र पाखण्डका पर्याय रहेका कम्युनिष्टहरूको धेरै हदसम्म पत्तासाफ गरेको छ । नेपालको दीर्घकालीन भविष्यको लागि यो अत्यन्त सकारात्मक परिघटना हो । विसं २०६४ र २०७४ को आम निर्वाचनमा कम्युनिष्टहरूले पाएको ठूलो मतले उनीहरूको भ्रष्टाचार, अहंकार र झगडा मात्र ठूलो बनाएको थियो ।

आशा गरौं, रास्वपाले पाएको झन् ठूलो जनमतले कम्युनिष्टहरूको अहंकारी इतिहासको पुनरावृत्ति गर्ने छैन । शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालले दुई दशकसम्म जनतालाई रैती ठानेर मनोमानी गरेको बदला रास्वपामार्फत मतादाताले मजैले लिएका छन् । रास्वपा सभापति रबि लामिछाने र बालेन्द्र शाहलाई हार्दिक बधाई तथा शुभकामना ।’

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम रास्वपाका पक्षमा ओइरिइरहेका बेला रास्वपाका बरिष्ठ नेता बालेन साह र सभापति रवि लामिछानेलाई बधाई दिदै राजनीतिक विश्लेषक मुमाराम खनालले शनिबार आफ्नो फेसबुक वालमा लेखेका छन् ।

उता पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाको सुनामीलाई ‘शान्त विद्रोह’ को संज्ञा दिएका छन् । उनले पनि आफ्नो सामाजिक सञ्जाल वालमा नयाँ नेतृत्वलाई शुभकामना दिएका छन् र यो जनमतलाई सुशासन र समृद्धिको तीव्र भोकका रूपमा व्याख्या गर्दै पुराना दलहरूले अब जनताको भावना बुझ्नुपर्ने पनि सुझाएका छन् ।

भट्टराई भन्छन् ‘यो लहर अप्रत्याशित होइन, बरु परिवर्तनको भोको नेपाली समाजको वास्तविक प्रतिविम्ब हो ।’ उनले आफ्नो धारणाका रुपमा रास्वपाले जटिल भू–राजनीति र आर्थिक संकटलाई व्यवस्थापन गर्न सक्छ कि सक्दैन भन्ने आशंका समेत व्यक्त गरेका छन् र व्यवस्थापनमा सफल हुन शुभकामना पनि दिएका छन् ।

अहिले यस्ता विश्लेषणहरु सयथरि आएका छन् सामाजिक सञ्जालमा । कतिपय लेखक, विश्लेषकहरुले राजनीतिक विश्लेषक खनाल र राजनीतिज्ञ भट्टराईले जस्तै टिप्पणी गर्दै पुराना भनिएका राजनीतिक दलहरूलाई राम्रोसँग सच्चिन राम्रैखाले दबाबको भाषामै सुझावहरु प्रस्तुत पनि गरिरहेका छन् ।

अहिले राजनीतिक विश्लेषकहरुको बजार ह्वात्तै तातेका बेला यस्तै यस्तै विश्लेषण, सुझाव र किन यस्तो भयो भन्ने प्रश्नका जवाफहरु बग्रेल्ती आइरहेका छन् । त्यसो त यस्तै अवस्था आउनेमा अहिले विचार दिनेहरु पनि विश्वस्त भने थिएनन् । यो नियमित आकस्मिकता पनि थिएन र होइन पनि ।

तर, अहिले जेजस्ता अनुमान र धारणाका पोकाहरु खोलिरहेका पनि आजको यो परिस्थितिको बिजारोपण हिजो नै भएको हो । आजको अवस्थाको विचारोपण धेरै पहिले पनि होइन, २०७९ को स्थानीय निर्वाचनबाट नै हो ।

स्थानीय निर्वाचनमा जब टिकट बाँड्ने बेला हुन्छ तब काठमाडौँको मेयरको सबैभन्दा धेरै बार्गाेनिङ र आकर्षण नै हुने गर्दछ । हुन पनि सिंहदरबार भित्रको एउटा गतिलै मन्त्रालय भन्दा धेरै बजेट महानगरले खेलाउँछ र केही विकास गरौँ भन्नाका लागि पनि गर्ने ठाउँ प्रसस्तै रहन्छ । त्यसले न्युयोर्क, लन्डन, टोक्योजस्ता सहरका मेयरहरु ती देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँगै टक्कर र ‘पावर सेयरिङ’ गर्नसक्ने हैसियतका हुन्छन् ।

त्यस्तो ठाउँमा टिकट दियो कांग्रेसले सिर्जना सिंहलाई र जसको योग्यता सुनाइएको थियो लौहपुरुष गणेशमान सिंहकी बुहारी, कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती । त्यसबाहेक पार्टीमा योगदान केही थिएन र न कसैले त्यसअघि उनको नाम नै सुनेको, चिनेको थियो ।

कांग्रेस र माओवादीको सत्ता गठबन्धन थियो, मतको हिसाबै गर्दा पनि सिधै जितिन्छ भन्ने अनुमान हुनु पनि स्वाभाविकै थियो । त्यसैले त्यो पदमा कांग्रेसको आकर्षण हुनु पनि स्वाभाविकै थियो ।तर, निकै आलोचना भयो कांग्रेसको यो निर्णयको । तर माओवादीले चितवन महानगरमा रेनुका लागि सुरक्षित गरेकाले बोल्न सक्ने अवस्थामा थिएन र बोलेन पनि ।

यता नयाँ पुस्ताले आँखा लगाएको थियो त्यो सिटमा किनभने त्यसअघिकै चुनावमा पनि रञ्जु दर्शनाले करिब २० हजार भोट ल्याइसकेकी थिइन् । त्यो मत पनि संख्याका हिसाबले ठूलो नै थियो । पछि बालेनले यसरी मत सोहोरे कि त्यो मत कांग्रेस, एमालेकै मतदाताले बालेनलाई खन्याए । किनभने वडा अध्यक्षमा रुख र सूर्यलाई आएको मत यता बालेनलाई आएको थियो ।

काठमाडौँ महानगरको परिणामले त्यसपछि लगत्तैको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म दिएको हो । नभन्दै रास्वपाले पनि संसदमा २० सिट नै ल्यायो, जुन उनीहरुकै कल्पनामा थिएन । यता राजनीतिक दलहरुले रविलाई जेल हाल्ने लगायतका कामहरु गर्दै गए, उता नयाँ शक्तिका रुपमा युवा बर्गले घन्टीलाई देशको बुढा नेताहरुको एक बलियो वैकल्पिक शक्तिका रुपमा राख्दै गए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलको तनहुँको उपनिर्वाचनमा पनि डा स्वर्णिम वाग्लेले भारी मत पाए र जिते । अझै पनि पत्याएनन् दलले र त्यसलाई पनि तनहुँमा पौडेल र गोविन्द जोशीका बीचको झगडाको परिणामका रुपमा अथ्र्र्याए ।

दिन प्रतिदिन राजनीतिक दलहरु, विशेषगरी तीन ठूला नेता शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड पुरानै संसदीय भासमा भास्सिँदै गए र सत्तामा पुग्ने संख्याको जोडघटाउमा मात्र सीमित रहे तर नयाँ पुस्ताले के चाहिरहेको छ र के पाइरहेको छ भन्ने कुराको तथ्य बुझ्नेतिर खासै लागेनन् । मात्र उनीहरुको दिमाग यसैमा थियो कि– कुन दलसँग गठबन्धन गरेर चुनावमा जाने र अर्काको कुन पार्टी फोडेर संख्या पुर्याउँदै सत्तामा जाने ।

ओली देउवाको मौनता होस् या प्रचण्डको छट्पटी केवल यसैमा सीमित थियो । त्यसो त प्रचण्ड पनि सत्तामा पुग्दा भने बडो नम्र बनेर मौन रहन नै सिकेका थिए । यता युवा पुस्ता कसरी जुर्मुराएको छ र ८४ मा दलहरुलाई कसरी देखाउन खोजिरहेको छ भन्ने कुराको तयारीको यिनीहरुले भेउ नै पाएनन् । नेताहरु २० औँ शताब्दिका बादशाहजस्तै महंगा भए, आफ्ना र आसेपासेहरुको सीमित घेराभित्रै रमाए । लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका र नेताहरु पछिल्लो समय जनताको पहुँचमा रहेनन्, उनीहरुलाई भेट्न विचौलियाको सहारा लिनुपर्ने अवस्था भयो । त्यसैले उनीहरुले आफ्ना घेराबाहिर जनता कसरी बाँचिरहेका छन् र आफ्नै विरुद्धमा पनि के गरिरहेका छन् भन्ने कुराको भेउ नै पाएनन् ।

हुँदा हुँदा सत्ताको रतन्धोले अब फेसबुक नै बन्द गर्ने सम्मको तयारीसम्म नै पुर्याइदियो । सरकारले कुन कम्पनीसँग कसरी डिल गर्ने भन्ने देशका युवालाई थाहा हुने कुरा भएन । मात्र उनीहरु इन्टरनेट, सामाजिक सञ्जाल उपयोग, उपभोग गर्न चाहन्थे । त्यो भेन्टिलेसन पनि सरकारले रोकिदिएपछि उकुसमुकुस त हुने नै भयो । अनि धेरै उकुसमुकुस भएपछि विस्फोट पनि हुने नै भयो ।

निउँ फेसबुक हो तर गल्ती भने दलहरुले जनता चिढ्याएर गरेकै थिए । चुनावमा जनता रिझाउने भाकल गरेर जान्थे, अनि सत्तामा पुगेपछि उनीहरु नै जनता चिढ्याउन थाल्थे । भित्रभित्रै जनताको रिसाको पारो यसरी चढ्दै गएको थियो कि त्यो यसरी नै विस्फोट हुनेवाला थियो, भयो ।

अघिल्लो संसदमा बोल्ने क्रममा एकदिन रास्वपाका सभापति रवि लामिछानेले भनेका थिए– यहाँहरुकै गल्ती र कुशासनको आक्रोस जनताले हामीलाई जिताएर गरेका हुन्, त्यसैले हामी आक्रोषित हुनु स्वाभाविकै हो ।

हो, अहिले रास्वपाका पक्षमा सुनामीसरी थुप्रिएको भोट पनि त्यही कुशासनको चक्रले बनाएको लक्ष्मण रेखा नै हो । अनि फेसबुक खोलाइ पाउँ भनेर विद्यालय पोशाकमै सडकमा उत्रिएका बालबालिकाका टाउकामा बर्सिएको गोलीले आगोमा घीऊ थपेको मात्र हो ।

यो सब परिस्थिति र पृष्ठभूमिको साइरन काठमाडौँमा बालेन उदाएसँगै बजेकै हो । तर, बुढा नेताहरुले त्यसलाई सुन्नुपर्ला भनेर कान थुनेर बस्दा आजको अवस्था आएको हो । काठमाडौँमा उ बेलैदेखि बजेको साइरनले अहिले पूर्वको सूर्यलाई छेकेपछि अबत त्यो सूर्यको घाम घैटोमा लाग्ला कि ?