१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै असोजमा ‘पर्यटन लगानी सम्मेलन’ हुने



अ+ अ-

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए । उनका अनुसार २०७७ असोज ६ गते यस्तो सम्मेलन आयोजना गर्ने योजना छ ।

भ्रमण वर्षको सफलता नयाँ भित्रने लगानीले पनि निर्धारण गर्ने भएकाले यस्तो सम्मेलन आयोजनाको तयारी गरिएको उनले जानकारी दिए । भ्रमण वर्ष खाली सङ्ख्याले मात्र सफल हुँदैन, उनले भने, नयाँ लगानी र त्यसले सिर्जना गर्ने रोजगारीको पनि यसको सफलतामा महत्वपूर्ण भूमिका हुन्छ । सम्मेलनमा पर्यटन क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता रहने उनले जानकारी दिए । सम्मेलनको मिति तय भए पनि स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दुईवटा लगानी सम्मेलन आयोजना भइसकेको छ तर लगानी सम्मेलनपछिको उपलब्धि कार्यान्वयनको अवस्था भने कमजोर छ । त्यही परिस्थितिलाई ध्यानमा राखेर पर्यटन लगानी सम्मेलन भने अलि फरक ढङ्गबाट गरिने वैद्यको भनाइ छ । लगानी प्रतिबद्धतालाई कार्यान्वयनमै ल्याउने गरी सम्मेलनको आयोजना हुने उनले बताए । सम्मेलनले पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान बढाउने अपेक्षा सचिवालयको छ ।

जीडीपीमा पर्यटन क्षेत्रको योगदान अहिलेको तीन प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । सन् २०२५ सम्मको उक्त लक्ष्यलाई पूरा गर्न उक्त सम्मेलन सहयोगी हुने वैद्यले बताए । नेपालको पर्यटन क्षेत्रमा खासगरी होटल उद्योगमा विदेशी लगानीको आकर्षण छ । पर्यटकको सङ्ख्या बढ्दै जाँदा पर्यटक स्तरीय होटलको आवश्यकता पनि बढ्ने भएकाले त्यसका लागि आवश्यक लगानी जुटाउन सम्मेलन उपयोगी हुने विश्वास वैद्यको छ ।

भ्रमण वर्षलाई सचिवालयले आन्तरिक रोजगारी सिर्जनाको अवसरका रूपमा अगाडि बढाइरहेकाले लगानी सम्मेलन आवश्यक रहेको उनको भनाइ छ । कतिपय नयाँ गन्तव्यमा अहिले पनि आवश्यक न्यूनतम पूर्वाधार छैन, उनले भने, त्यस्ता ठाउँमा लगानीको अवसर सम्मेलनले देखाउने छ । खप्तड, रारा, अरुण उपत्यका, कोसीटप्पुजस्ता पर्यटकीय हिसाबले अति आकर्षक ठाउँमा पनि पर्यटकीय पूर्वाधार नहुँदा पर्यटक नै पुग्न नसकेको उनको भनाइ छ । गुणस्तरीय पर्यटक लैजान सकिने त्यस्ता सम्भाव्य स्थानमा लगानी भित्र्याउन सम्मेलन माध्यम बन्ने उनले बताए । गोरखापत्र दैनिकबाट