काठमाडौँ । कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको झापा लगायतका क्षेत्रहरूमा मतदाता भयमुक्त रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको छ।
कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच सहकार्य र समन्वय गरेर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको सुरक्षा निकायहरूले बताएका छन्। मतदातालाई समयमै मतदानस्थलमा पुगेर निर्धक्क मतदान गर्न आग्रह गरिएको छ।
नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले रासससँगको कुराकानीमा भने, “सेना अन्य सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ।”
कोशी प्रदेशका १४ वटै जिल्लामा अस्थायी बेस स्थापना गरी पैदल र मोबाइल गस्ती, बम डिस्पोजल टोली परिचालन, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी, हवाई गस्ती र ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ।
सशस्त्र प्रहरी बलसँगको सहकार्यमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन पैदल र मोबाइल गस्ती बढाइएको छ। आकस्मिक उद्धार र सम्भावित संवेदनशील अवस्थालाई सामना गर्न इटहरी र विराटनगरमा हेलिकप्टर र हवाइजहाज तयारी अवस्थामा राखिएका छन्।
प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा सुरक्षा निकायहरू एकीकृत योजनाअनुसार खटिएको बताए। उनले भने, “सुरक्षा चुस्त, दुरुस्त र सुदृढ छ। मतदाताले डर नमानिकन मतदान गर्न सक्नुहुन्छ।”
सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगरी गस्ती भइरहेको जानकारी दिनुभयो। उहाँले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चित गरिएको स्पष्ट पारे।
सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको छ। सुरक्षा व्यवस्थापनका लागि ‘हेडक्वार्टर’ र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ।











