काठमाडौं । खाडी युद्ध लम्बिने संकेत देखिएको छ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर सुरु भएको युद्ध अरु देशमा पनि फैलिएको छ । हिजो पनि खाडीका अन्य देशहरुमा इरानले हमला गरिरहेको छ भने उता इजरायलमाथि हिजबुल्लाहले हवाई आक्रमण जारी राखेका छन् ।
हिजो साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । त्यहाँको दूतावासको भवनमा दुईवटा ड्रोनबाट इरानले आक्रमण गरेको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । त्यसबाट कुनै मानवीय हताहती भने भएको छैन ।
त्यसैगरी यता युएई, बहराइनमा पनि इरानले हमला जारी राखेको छ । त्यस्तै उता कुबेतमा हिजो पनि इजरायलले हमला गरेको छ । लेबनानको अवस्था पनि त्यस्तै छ । त्यहाँ पनि इजरायली हमला भइरहेको बताइएको छ ।
यता अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई भने देश छोड्न भनेको छ । सोमबार राति अमेरिकाले एक ट्राभय एड्भाइजरी जारी गर्दै सक्दो चाँडो खाडी देशहरुबाट बाहिरिन भनेको हो ।
अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । ती देशहरू बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, युएइ आदि हुन् ।
इरानले कतिपय खाडी देशहरूमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेको छ भने उता इजरायलले पनि इरानमा हमला जारी राखेको छ । यसै समयमा सोमबारमात्र अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई ती देश छोड्न भनेको हो ।
(AP Photo, RSS /Hadi Mizban)











