१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले जनजीवन प्रभावित



अ+ अ-

बैतडी । मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो ।

गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुभयो । हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ ।

हिमपातले बाहिर निस्कन मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले बताउनुभयो । चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् । हिमपातले विभिन्न रोगकीरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।

लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । यसैबीच हिजोरातिदेखि बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।