४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

नेकपा केन्द्रीय कमिटी बैठक : पार्टीलाई थप चलायमान बनाइने

नेकपा केन्द्रीय कमिटी बैठक : पार्टीलाई थप चलायमान बनाइने
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न थालेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसपछि यता बैठक हुन सकेको छैन । पार्टी एकता भएको झण्डै डेढ वर्षपछि बैठक हुन थालेको हो । बैठक प्रदर्शनीमार्गस्थिति राष्ट्रियसभागृहमा गर्नका लागि बुकिङसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । बैठक आगामी बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ । बिहान ११ बजेदेखि ५ बजेसम्म बैठक हुनेछ । पार्टी एकतापछि पहिलो पटक कार्यसूचीसहित बैठक बस्न थालेको हो । केन्द्रीय कमिटीको बैठकको कार्यसूची सचिवालय बैठकले तय गरेको थियो ।

पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो । बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी सञ्चालन गर्ने जिम्मेवारी र सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको निर्णयलाई अनुमोदनसमेत गर्नेछ । बैठकले अनुमोदन गरेपछि गौतम उपाध्यक्ष बन्नुहुनेछ । यसअघि स्थायी कमिटीले अनुमोदन गरिसकेको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । महासचिव विष्णुप्रसाद पौडेलद्वारा सचिवालय बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई केन्द्रीय कमिटी बैठकमा पारित गरिनेछ । संशोधित विधान प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ ।

बैठक पार्टीलाई क्रियाशील बनाउनका लागि अभियानमा मुख्यतया केन्द्रित हुनेछ । “प्रदेश, जिल्ला र स्थानीय तहलाई चलायमान बनाउनका लागि अभियान आवश्यक रहेको छ”, विष्णु रिजालले भन्नुभयो, “अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने निर्णय बैठकले गर्नेछ ।” दुई पार्टी मिलेर बनेको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रायः केन्द्रीय सदस्यबीच एकापसमा समेत भेटघाट भएको छैन । सो बैठकले दुई पार्टीका नेतालाई घुलमिल गराउनसमेत सहयोग मिल्ने विश्वास गरिएको छ । बैठकमा केन्द्रीय कमिटीबाहेक विभिन्न आयोगका अध्यक्षसमेतको सहभागिता हुनेछ ।

बैठकले मुख्यतः सचिवालय र स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने कार्यतालिका छ । संशोधित विधान केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र लागू हुन्छ । पाँच दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यको समूह विभाजन गरेर छलफल गरिने केन्द्रीय कार्यालय सचिव रिजालले जानकारी दिनुभयो । “धेरै केन्द्रीय सदस्य भएकोले सबै बोल्न असम्भव हुन्छ”, उहाँले भन्नुभयो, “समूह समूह बनाएर एजेण्डामाथि छलफलमा गरिएको निष्कर्षलाई बैठकमा प्रस्तुत गरिनेछ ।”

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर उल्लेख गरिएको छ । केन्द्रीय सदस्य ठाकुर गैरेले बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन मात्र गराउन नभई पार्टी र सरकारले गरेका कामको समीक्षासमेत हुने भएकाले फलदायी हुने बताउनुभयो ।

आवश्यक विषयमा पार्टीको दृष्टिकोण तथा नीति तय गर्ने र पार्टीका नीति तथा निर्णय कार्यान्वयन गर्ने र गराउनेसमेत पार्टीको अन्तरिम विधानमा उल्लेख गरिएको छ । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सरकार र पार्टीका अहिले भएका कामको समीक्षा गरी सुधार गर्नमा बैठक केन्द्रित हुनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य सुनिल मानन्धरले केन्द्रीय सदस्यले पहिलो पटक पार्टी सञ्चालनका बारेमा आफ्नो विचार राख्न पाउने बताउनुभयो । “पार्टी एकता भएपछि पार्टीमा धेरै नै उतारचढाव आएको छ”, उहाँले भन्नुभयो, “भारतसँगको सीमा विवाददेखि अमेरिकी सहयोगका कुरा पनि आएका छन् । बैठकले यस विषयमा ठोस निर्णय गर्न सघाउँछ ।”