काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–५ सुनारटोलमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।
आज बिहान करिब ०८:३० बजे चितुवाको आक्रमण हुँदा ६१ वर्षीय रणबहादुर गर्तौला घाइते भएका छन्।
जिल्ला सोलुखुम्बु घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका गर्तौला कामबाट घर आउने क्रममा गोरेटो बाटोमा हिँडिरहेका बेला अचानक चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन्। घटनास्थलमा रहेका स्थानीय बासिन्दाले उनलाई बचाउने क्रममा चितुवालाई मारेका थिए।
घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घाइते गर्तौलाको उद्धार गरी आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि पुर्याएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृत चितुवाको व्यवस्थापनका लागि जिल्ला वन कार्यालयसँग समन्वय गरिएको प्रहरीको भनाइ छ।











