१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
अ अ+ अ-

काठमाडाैँ । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन् ।

“कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!”

यस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिले मिथिलाको होलीलाई जीवन्त बनाउँथे । होलीका अवसरमा गाइने यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ ।

संस्कृतिविद् किशोरी साहका अनुसार जोगिराले होली खेल्नेहरूबीच माया, सद्भाव र उत्साहको सन्देश प्रवाह गर्दछ । उनले भनिन्, “होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ । सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन । होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ ।”

मिथिला नगरपालिका–२ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले विगत सम्झँदै भने, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ घुमेर जोगिरा गाइन्थ्यो । अहिले ढोल, मृदङ्ग केही बज्दैँनन्, फागुका गीत पनि सुनिदैँन ।” उनका अनुसार जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा सङ्कटमा परेको छ ।

क्षीरेश्वरनाथ विदेश पलायन हुनु, संस्कति हस्तान्तरण हुन नसक्नुलगायत कारणले मौलिक परम्परा लोप हुने जोखिम बढेको बताए । “यसपालिको होली नजिक आइपुग्यो, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल”, उनले भने, “पुराना परम्परा जानेका, बुझेका साथीहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ । गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन् ।”

हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतोले जोगिराको पुरानो शैली स्मरण गर्दै सुनाए

“किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी… जोगिरा सररर…!”

यस्ता पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र ख्यालठट्टाले भरिएका मैथिली जोगिरा अब विरलै मात्र सुनिन थालेका छन् । पुराना होलियाहरूका अनुसार जोगिराले सामाजिक भेद्भाव मेट्दै समानता र सद्भावको सन्देश दिन्थ्यो । तर अहिले ‘डिजे’ संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले बताए ।

मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होलीगीत मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको सांस्कृतिक परम्पराको हिस्सा पनि हो । धार्मिक मान्यताअनुसार फाल्गुण शुक्ल पूर्णिमाको रात होलिका दहन गरी भोलिपल्ट रङ खेल्ने परम्परा रहिआएको छ । जोगिराले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सेतुको भूमिका खेल्ने गरेको जानकारहरू बताउँछन् ।

जनकपुरधाम–१२ का सतीशलाल कर्णले भन्नुभयो, “पहिलाका होली गीतमा धार्मिकता, जीवनको उमङ्ग र सांस्कृतिक प्रकाश झल्किन्थ्यो । अहिले भने उच्छृङ्खल गीतले स्थान लिएको छ ।”

हरिहरपुरका रामलाल महतोका अनुसार आपसी रागद्वेष र सामाजिक विखण्डनले पनि जोगिरा परम्परा कमजोर बनाएको छ । सखुवा बजारका सत्यनारायण सिंहले स्मरण गर्दै भने, “पहिले राति चोकमा भेला भएर झ्याल, मृदङ्ग, ढोल र डम्फा बजाउँदै समूहगत रूपमा जोगिरा गाइन्थ्यो । अहिले त्यो दृश्य देख्न पाइँदैन ।” वैदेशिक रोजगारीका कारण युवा पुस्ता बाहिरिनु पनि यसको अर्को कारण मानिएको छ ।

संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार ग्रामीण क्षेत्रका होली गीतमा स्थानीय माटोको सुगन्ध र मौलिकता झल्किन्थ्यो । “पश्चिमी प्रभाव र अश्लीलताले मौलिक जोगिरालाई विस्थापित गर्दै गएको छ”, उनले भने ।

साहित्यकार तथा संस्कृतिविद् डा राजेन्द्र विमलले जोगिरा संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताए। “होली यस्तो हुनुपर्छ जहाँ महिला, पुरुष निर्धक्क भएर सहभागिता जनाउन सकून् र विश्वले मिथिलाको उदाहरण प्रस्तुत गरोस्”, उनले भने ।

यसैबिच, जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा जोगिरा प्रतियोगिता आयोजना गर्दै संरक्षणको प्रयास गरिरहेको छ । यद्यपि, परम्परागत जोगिराको मौलिकता जोगाउन राज्य, स्थानीय तह र समुदाय सबैको सक्रिय चासो आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ ।