१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण
अ अ+ अ-

रौतहट। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।

उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उहाँले बताउनुभयो ।

तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ । गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको गौर कारागार प्रमुख प्रदीप पौडेलले जानकारी दिनुभयो । उनीहरूलाई मतदान गर्न कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । अठारवटा पालिका रहेका यहाँ यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता छन् ।

दुईवटा मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व

यहाँका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । गौर नगरपालिका–५ मा रहेको आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलमा रहेका दुईवटा मतदान केन्द्रमा उनीहरुलाई खटाइएको हो ।

उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृतमा सुचिता श्रीवास्तव, सहायक कर्मचारीमा प्रियङ्का कुमारी यादव, सविता कुशवाह, रुबि झा र कार्यालय सहयोगीमा रञ्जना रिजाल तथा ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृतमा कल्याणी मिश्र, सहायक कर्मचारीमा अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम रहनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

क्षेत्र नंं १ क्षेत्रमा १३२ मतदान केन्द्र छन् । सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ यही फागुन ९ गते नै निर्वाचनसम्बन्धी प्रशिक्षण दिइसकेको उहाँले जाकारी दिनुभयो । जिल्लाको ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी खटिसकेका छन् ।

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले मंगलबार जारी गर्नुभएको सूचनामा जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सम्पूर्ण जिल्लावासीबीच आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम गर्न आग्रह गरिएको छ ।

फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउनुका साथै निर्वाचनको सुरक्षा प्रत्याभूति तथा आचारसंहिता पालनाका लागि सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक सङ्घसंस्था, नागरिक तथा सरोकारवाला निकायलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

भीडभाड हुने कार्यक्रम आयोजना गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने, अनुमतिप्राप्त नभएका कार्यक्रम, मेला, जात्रा गराउन नपाइने सूचनामा उल्लेख छ ।

त्यसैगरी, पर्वलाई एकता, सद्भाव, एकआपसमा सुसम्बन्ध तथा भाइचारा कायम गर्ने पर्वका रुपमा मनाउन, पर्व मनाउने नाममा कसैको इच्छाविपरीत जबर्जस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न÷नगराउन, आआफ्ना समुदायभित्र आपसी सहमतिमा मात्र पर्व मनाउन र कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेजस्ता असभ्य व्यवहार नगर्न÷नगराउन सूचनामा उल्लेख छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी तथा बाटोमा हिँडिरहेका व्यक्तिलाई रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेलगायत कार्य गरी दुःख, हैरानी तथा कष्ट दिने कुनै पनि कानुनविपरीतका कार्य नगर्न÷नगराउनसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सूचनामा शान्ति सुरक्षामा असर पर्नेगरी मादक तथा नशालु पदार्थ सेवन नगर्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने तथा ट्राफिक नियम पालना गरेर मात्र सवारी चलाउन, सार्वजनिक स्थानमा होहल्ला नगर्न तथा चर्को आवाजमा डिजेलगायत ध्वनि प्रदूषकयन्त्र उपकरण नबजाउन र छरछिमेकलाई असर पर्ने कुनै पनि कार्य नगर्न÷नगराउन उल्लेख गरिएको छ । यदि कोही कसैले कानुनविपरीतका कार्य गरे÷गराएमा प्रचलित कानुनबमोजिम भइजाने पनि सूचनामा जनाइएको छ ।