१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक

अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक
अ अ+ अ-

कैलाली। यहाँको भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ ।

वडामा रहेको श्री हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएका लोनिया वार्षिक रु २०–२५ हजार पारिश्रमिक पाउनुहुन्छ ।

अभिभावकहरूले स्वःस्फुर्त रूपमा दिएको चन्दाले लोनियाले वर्षभरि अध्यापन गराएबापतको रु २०÷२५ हजार पारिश्रमिक पाउनुहुन्छ । त्यो पारिश्रमिक पनि ‘फिक्स’ हुँदैन ।

अभिभावक, समाजसेवी तथा अन्य स्थानीयले स्वेच्छिक रूपमा जति सङ्कलन गरेर दियो, त्यसैमा लोनियाले चित्त बुझाउनुपर्ने हुन्छ । ग्रामीण क्षेत्र आर्थिक अवस्था निकै कमजोर भएका बालबालिका अध्ययन गर्दै आएको उक्त विद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा सङ्कलन गरेर पारिश्रमिक दिने निर्णय गरेपछि उहाँले आफ्नो अध्ययनसँगै विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण गराउँदै आएको बताउनुभयो ।

“विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक जनशक्ति कम छ । त्यसो हुँदा पठनपाठनमा समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले चन्दा सङ्कलन गरेर पारिश्रमिक दिनेगरी निर्णय गरेर मैले अध्यापन गराउन थालेको हुँ”, उहाँ भन्नुहुन्छ, “न्यून पारिश्रमिक भए पनि गाउँको विद्यालय, आफ्नै बालबालिका अध्ययन गर्ने भएपछि मैले समितिको निर्णय स्वीकार गर्दै काम गरिरहेको छु ।”

यसपछिका बालबालिका शिक्षाको अभावमा अहिले हाम्रा अभिभावकले भोगेको जीवनशैली व्यतित नगरुन् भन्ने अपेक्षाका साथ बालबालिकाको भविष्यलाई सोचेर पैसाका लागि मात्र शिक्षण नगरेको लोनिया बताउनुहुन्छ । कक्षा १२ सम्मको अध्ययन गर्नुभएका उहाँ त्यो गाउँको त्यहाँसम्म अध्ययन गर्नेमध्येका एक हुनुहुन्छ ।

थारु बाहुल्यता रहेको काँढा गाउँका अधिकांश नागरिक कृषि र ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् । त्यहाँ पढाइ गर्नुपर्छ भन्ने मानसिकता निकै कमको भएको लोनिया बताउनुहुन्छ । “यहाँ पढाइ गर्नुपर्छ भन्ने निकै कम छन् ।

सबैलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्रै हुन्छ ।” उहाँले भन्नुभयो, “त्यो देखेर पनि मैले बालबालिकालाई पढाइमा लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको छु ।” उहाँले अहिले अङ्ग्रेजी र स्वास्थ्य शारीरिक शिक्षाको अध्यापन गराउँदै आउनुभएको छ । दैनिक छ घन्टी अध्यापन गराउँदै आएका लोनिया आफ्नै गाउँघरका बालबालिकालाई अध्यापन गराउन पाउँदा निकै खुसी हुनुहुन्छ ।

विद्यालयमा हाल १७१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । पाँच कक्षासम्मको अध्ययन हुँदै आएको विद्यालयमा लोनियाबाहेकका छ जना शिक्षक कार्यरत छन् । त्यसमा पनि दुईजना बालविकास, दुईजना प्राथमिक तह स्थायी, एक जना राहत र एक जना नगर अनुदानका कार्यरत छन् । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक सङ्ख्या कम भएकै कारण स्थानीयले लोनियालाई चन्दा सङ्कलन गरेर शिक्षकको जिम्मेवारी दिइएको प्रधानाध्यापक महेश्वरी ओझा बताउनुहुन्छ ।

विद्यालयसँग आम्दानीको कुनै स्रोत छैन । तीन कट्ठामा सीमित रहेको विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा छ । जुन ऐलानी जग्गा स्थानीयले अतिक्रमण गरेर वर्षौँदेखि भोगचलन गर्दै आएका छन् । विसं २०६३ मा स्थापना भएको विद्यालयका लागि त्यसबेला विद्यालयसँग जोडिएको पाँच बिघाभन्दा बढी जग्गा अतिक्रमण खाली गरेर विद्यालयको आम्दानीसँग जोड्ने निर्णय भएर हस्तान्तरणसमेत भएको थियो । पछि पुनः स्थानीयले जग्गा अतिक्रमण गरेर भोगचलन गर्न थालेपछि विद्यालय समस्यामा पर्दै गएको प्रधानाध्यापक ओझाको भनाइ छ ।

“आज हामीसँग भएको सबै जग्गा भोगचलन गर्न पाएको भए विद्यायलको सामान्य खर्च अनि एक जना शिक्षक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कुनै समस्या हुने थिएन”, प्रधानाध्यापक ओझा भन्नुहुन्छ, “सञ्जय सर तीन वर्षदेखि अध्यापन गराउँदै आउनुभएको छ । वार्षिक रु १५÷२० हजार पारिश्रमिक लिएर दिनभर काम गरेको देख्दा आफैँलाई अप्ठ्यारो लाग्छ । उहाँको काम अनि इमान्दारिताका अगाडि नतमस्तक हुनुबाहेक केही छैन ।”

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले विद्यालयमा शिक्षकको व्यवस्थापन अस्तव्यस्त रहेको उल्लेख गर्नुभएको छ । “केही दिन अगाडि मात्र विद्यालय अनुगमन गर्दा कतै विद्यार्थी अनुपातमा धेरै शिक्षक छन् भने कतै शिक्षकको अभाव छ”, उहाँ भन्नुहुन्छ, “आउने शैक्षिकसत्रबाट त्यसलाई व्यवस्थापन गरेर लैजाने तयारी गरेका छौँ ।”

उहाँले शिक्षक लोनियाको कार्य निकै उत्कृष्ट भएको उल्लेख गर्दै अध्ययन अनुमतिपत्र नभएका कारण तत्काल लोनियाको विषयमा नगरपालिकाले कुनै निर्णय लिनसक्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।

अनुगमनका क्रममा कतिपय शिक्षक दुईपटकको हाजिर एकैपटक लगाएर बिहानै विद्यालयबाट घर जाने गएको भेटिएको बताउँदै शिक्षा अधिकृत पङ्खबहादुर शाहले कैयौँ गल्ती कमजोरीलाई सुधार्ने काममा आफूहरू लागेको बताउनुभयो । रासस