१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला मध्यमा परिक्रमा विधिवत रुपमा शुरु



अ+ अ-

काठमाडौँ । मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूले संयुक्त रूपमा डोला मन्दिरबाट निकालेपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ भएको हो । यो परिक्रमा १५ दिनसम्म चल्नेछ र यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू सहभागी छन् । यात्राले कुल १३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र स्थलहरू पार गर्नेछ ।

परिक्रमामा १५ स्थानमा रात्रि विश्राम गरिन्छ, जसमध्ये अधिकांश नेपालमा र केही भारतको बिहारमा पर्छन् । कचुरीबाट निस्केको डोलासहितका श्रद्धालुहरू साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्नेछन् । जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा अन्य मन्दिरका डोलाहरू पनि यसमा समाहित हुनेछन् । हनुमानगढीबाट मंगलबारदेखि परिक्रमा पूर्ण रूपमा विधिवत अगाडि बढ्नेछ । अठारौं शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित छ ।

परिक्रमा १५ औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ । जनविश्वासअनुसार मन, वचन र कर्मले परिक्रमा गर्दा अनेकौं पाप तथा अन्याय नष्ट हुने, मनोकामना पूरा हुने तथा अन्ततः मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । यो धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई पनि मजबुत बनाउँदै आएको छ । श्रद्धालुहरूले यसलाई भगवान राम र माता जानकीको मिथिला आगमनसँग जोडेर हेर्ने गर्छन् ।