१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलपन्छी गणनामा उत्साहपूर्ण सहभागिता



अ+ अ-

काठमाडौं । हाल मुलुकभरका नदी, सिमसार र तालतलैया क्षेत्रमा जलपन्छी गणना भइरहेको छ । चरा गणनामा चराविज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, सरकारी प्रतिनिधिलगायत सयौँ जनशक्ति स्वयंसेवीका रूपमा परिचालन भएका छन् ।

‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा नेपालमा चरा गणना हुँदै आएको छ । मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित छ । चरा गणनामा विज्ञसँगै सम्बन्धित क्षेत्रका स्थानीयवासीको पनि उत्साहपूर्ण सहभागिता रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो ।

सन् १९८७ देखि नेपालमा हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्या जस्ता जानकारी अभिलेख गरिन्छ । वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आकलन हुन्छ । हरेक वर्ष पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म जलपन्छी गणना गर्ने गरिएकामा यस वर्ष मौसमका कारण दुई दिन ढिला शुरु भएको हो । सिमसार र आसपासको क्षेत्रमा प्रजनन, चरन र आफ्नो अधिकांश समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।

चराको सङ्ख्या गत वर्षकै हाराहारी

चरा गणना गर्दा गत वर्षकै हाराहारीमा चराको सङ्ख्या फेला परेको गणनामा सङ्लग्न विज्ञले बताएका छन् । चरा गणनामा सङलग्न विज्ञले चराको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे पनि यस वर्ष गत वर्षकै हाराहारी चरा रहेको देखिएको छ । मुलुकभरका आधाभन्दा बढी नदी, सिमसार र तालतलैया क्षेत्रमा चरा गणना सम्पन्न भइसक्दा सो आकलन गरिएको चरा विज्ञ डा बरालले बताउनुभयो ।

“मौसम सफा नभएकाले होला विभिन्न स्थानबाट हाँस प्रजाति चरा धेरै नदेखिएको र चराको सङ्ख्या बढेको छैन भन्ने खबर छ”, उहाँले भन्नुुभयो । गत वर्षको तुलनामा यस वर्ष हिउँदे वर्षा बढी देखिएको छ । गणना अवधिमा बादल लागेर धुम्म भएको मौसमका कारण गणना अपेक्षा गरेअनुसार नदेखिएको उहाँको भनाइ थियो ।

बर्दियाको बढैया तालमा गत वर्ष ५० प्रजाति चरा फेला परेकामा यसपालि ४७ प्रजातिका चरा फेला परेका छन् । चराको राम्रो बासस्थान मानिने कोसी क्षेत्रबाट गत वर्षको तुलनामा कम चरा गणना भएको गणनामा सङ्लग्न संस्था नेपाल पन्छी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । गत वर्ष मुलुकभर ७० प्रजातिका ५० हजार हाँस तथा जलपन्छी गणना गरिएको थियो । यस पटक नेपालमा कहिलेकाही देखिने सङ्कटापन्नमध्येको चीनबाट आएको ‘म्याण्डरिङ’ हाँस प्रजातिको भाले र मङ्गोलियाबाट आएको भनिएको ‘वियर्स पोचर’ नामको चरा बर्जु तालमा फेला परेको छ ।

पश्चिममा चरा गणना सम्पन्न

यही पुस २१ गतेदेखि गणना शुरु गरिएकामा शनिबारसम्म पश्चिम नेपालका बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, पूर्वी चितवनलगायत सिमसार क्षेत्रमा चरा गणना सम्पन्न भएको छ । आइतबारदेखि लुम्बिनी वरिपरिका ताल, नदी, सिमसार क्षेत्र, काठमाडौँको वाग्मती, टौदहलगायत पूर्व क्षेत्रका सिमसार क्षेत्रमा चरा गणना शुरु गरिएको छ ।

कपिलवस्तुस्थित जगदीशपुर ताल सबैभन्दा बढी चरा पाइने क्षेत्र हो । गत वर्ष त्यहाँ १७ हजार चरा गणना गरिएको थियो । त्यसपछि सुनसरीको बर्जु तालमा बढी चरा पाइन्छन् । गत वर्ष त्यहाँ १२ हजार चरा गणना गरिएको थियो भने चितवन निकुञ्ज आसपास क्षेत्र चराका लागि तेस्रो राम्रो बासस्थान हो ।

हिउँदको चिसो बढेसँगै न्यानो बासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् । केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गर्छन् । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अद्यावधिक गर्न जलपन्छीको गणना गरिएको हो ।

गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीले दुरबिन र टेलिस्कोपको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामाआउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् । चरा गणनामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समन्वय र सहयोग गरेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।