१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जलपन्छी गणनामा उत्साहपूर्ण सहभागिता

जलपन्छी गणनामा उत्साहपूर्ण सहभागिता
अ अ+ अ-

काठमाडौं । हाल मुलुकभरका नदी, सिमसार र तालतलैया क्षेत्रमा जलपन्छी गणना भइरहेको छ । चरा गणनामा चराविज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, सरकारी प्रतिनिधिलगायत सयौँ जनशक्ति स्वयंसेवीका रूपमा परिचालन भएका छन् ।

‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा नेपालमा चरा गणना हुँदै आएको छ । मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित छ । चरा गणनामा विज्ञसँगै सम्बन्धित क्षेत्रका स्थानीयवासीको पनि उत्साहपूर्ण सहभागिता रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो ।

सन् १९८७ देखि नेपालमा हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्या जस्ता जानकारी अभिलेख गरिन्छ । वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आकलन हुन्छ । हरेक वर्ष पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म जलपन्छी गणना गर्ने गरिएकामा यस वर्ष मौसमका कारण दुई दिन ढिला शुरु भएको हो । सिमसार र आसपासको क्षेत्रमा प्रजनन, चरन र आफ्नो अधिकांश समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।

चराको सङ्ख्या गत वर्षकै हाराहारी

चरा गणना गर्दा गत वर्षकै हाराहारीमा चराको सङ्ख्या फेला परेको गणनामा सङ्लग्न विज्ञले बताएका छन् । चरा गणनामा सङलग्न विज्ञले चराको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे पनि यस वर्ष गत वर्षकै हाराहारी चरा रहेको देखिएको छ । मुलुकभरका आधाभन्दा बढी नदी, सिमसार र तालतलैया क्षेत्रमा चरा गणना सम्पन्न भइसक्दा सो आकलन गरिएको चरा विज्ञ डा बरालले बताउनुभयो ।

“मौसम सफा नभएकाले होला विभिन्न स्थानबाट हाँस प्रजाति चरा धेरै नदेखिएको र चराको सङ्ख्या बढेको छैन भन्ने खबर छ”, उहाँले भन्नुुभयो । गत वर्षको तुलनामा यस वर्ष हिउँदे वर्षा बढी देखिएको छ । गणना अवधिमा बादल लागेर धुम्म भएको मौसमका कारण गणना अपेक्षा गरेअनुसार नदेखिएको उहाँको भनाइ थियो ।

बर्दियाको बढैया तालमा गत वर्ष ५० प्रजाति चरा फेला परेकामा यसपालि ४७ प्रजातिका चरा फेला परेका छन् । चराको राम्रो बासस्थान मानिने कोसी क्षेत्रबाट गत वर्षको तुलनामा कम चरा गणना भएको गणनामा सङ्लग्न संस्था नेपाल पन्छी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । गत वर्ष मुलुकभर ७० प्रजातिका ५० हजार हाँस तथा जलपन्छी गणना गरिएको थियो । यस पटक नेपालमा कहिलेकाही देखिने सङ्कटापन्नमध्येको चीनबाट आएको ‘म्याण्डरिङ’ हाँस प्रजातिको भाले र मङ्गोलियाबाट आएको भनिएको ‘वियर्स पोचर’ नामको चरा बर्जु तालमा फेला परेको छ ।

पश्चिममा चरा गणना सम्पन्न

यही पुस २१ गतेदेखि गणना शुरु गरिएकामा शनिबारसम्म पश्चिम नेपालका बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, पूर्वी चितवनलगायत सिमसार क्षेत्रमा चरा गणना सम्पन्न भएको छ । आइतबारदेखि लुम्बिनी वरिपरिका ताल, नदी, सिमसार क्षेत्र, काठमाडौँको वाग्मती, टौदहलगायत पूर्व क्षेत्रका सिमसार क्षेत्रमा चरा गणना शुरु गरिएको छ ।

कपिलवस्तुस्थित जगदीशपुर ताल सबैभन्दा बढी चरा पाइने क्षेत्र हो । गत वर्ष त्यहाँ १७ हजार चरा गणना गरिएको थियो । त्यसपछि सुनसरीको बर्जु तालमा बढी चरा पाइन्छन् । गत वर्ष त्यहाँ १२ हजार चरा गणना गरिएको थियो भने चितवन निकुञ्ज आसपास क्षेत्र चराका लागि तेस्रो राम्रो बासस्थान हो ।

हिउँदको चिसो बढेसँगै न्यानो बासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् । केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गर्छन् । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अद्यावधिक गर्न जलपन्छीको गणना गरिएको हो ।

गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीले दुरबिन र टेलिस्कोपको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामाआउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन् । चरा गणनामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समन्वय र सहयोग गरेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।