११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

यस्तो छ बागलुङ–१ को चुनावी गणित

यस्तो छ बागलुङ–१ को चुनावी गणित
अ अ+ अ-

गण्डकी। यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै छवि बनाउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार हुनुहुन्थ्यो ।

नेकपा (एमाले)का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो ।

उक्त चुनावमा पाठकलाई पराजित गर्दै केसीले आफ्नो संसदीय विरासतलाई कायम राख्न सफल हुनुभएको थियो । अहिलेको चुनावमा भने दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर हुनुहुन्छ । केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । नेकपा (एमाले)बाट हिराबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।

विसं २०७९ को चुनावमा पाँचदलीय गठबन्धनमा सामेल भई राष्ट्रिय जनमोर्चाका केसीलाई जिताउन भूमिका खेलेको नेपाली कांग्रेस पनि अहिले एक्लै चुनावमा होमिएको छ । कांग्रेसबाट भीम श्रीस चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो चुनावमा एउटै गठबन्धनमा रहेका नेपाली कम्युनिष्ट पार्टी र राजमोले अहिले पनि चुनावी सहकार्यलाई दोहो¥याएका छन् ।

बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । हिजो एउटै चुनावी मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् ।

गत चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा उत्रेको छ । रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ मा यिनै चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सम्बन्धित दल र उम्मेदवारले आ–आफ्नै जितको दाबी गरे पनि विगतको चुनावी गणित हेर्दा जुनसुकै दललाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज देखिन्न ।

एक्लाएक्लै चुनावमा होमिएका कांग्रेस, एमाले र रास्वपाले आफ्नै बलबुतामा चुनाव जित्ने दाबी गरिरहेका छन्भने नेकपा र जनमोर्चा गठबन्धनको आडमा जित निकाल्ने दाउमा छन् । कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट अघिल्लो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी बनाएको राष्ट्रिय जनमोर्चालाई यसपटक नेपाली कम्युनिष्ट पार्टीको मात्र साथ छ । उक्त चुनावमा जनमोर्चाका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुनुभएको थियो ।

एक्लै चुनाव लड्दा पनि जम्मा दुई हजार ६२६ को मतान्तरले एमाले उम्मेदवार पाठक पराजित हुनुभएको थियो । पाठकको १८ हजार ८२५ मत आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले नौ हजार १८१ मत ल्याउनुभएको थियो ।

समानुपातिकतर्फ भने कांग्रेसले सबैभन्दा धेरै १६ हजार ४९३ मत ल्याएको थियो । एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७, जनमोर्चाले चार हजार ९८६, नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र)ले दुई हजार ८५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २९ र अन्य साना दलले एक हजार १३३ मत ल्याएका थिए ।

विसं २०७९ को चुनावका समानुपातिक मत परिणाम हेर्दा कांग्रेस र एमालेको मतान्तर झन्डै एक हजार देखिन्छ । यी दुवै दलको भन्दा झन्डै आधा मत रास्वपाले पाएको थियो । जनमोर्चा र नेकपाको मत त्योभन्दा पनि कम छ । विगतका चुनावको समानुपातिक मत सङ्ख्यालाई हेरेर ढुक्क हुने अवस्थामा दलहरू छैनन् । पछिल्लो समय मतदातामा मत बदल्ने प्रवृत्ति बढेका कारण हिजो निश्चित राजनीतिक दलका प्रभाव क्षेत्र भनिएका ठाउँमा मत परिणाम भिन्न आउन सक्ने आकलन स्वयं दलहरूले नै गरेका छन् ।

यस क्षेत्रको उम्मेदवारमा अहिले अधिकांश नयाँ अनुहार छन् । कांग्रेस उम्मेदवार भीम श्रीस विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । विसं २०६२ मा  त्रिभुवन विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभएका उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ जैमिनी नगरपालिका–१० राङखानीका बासिन्दा हुनुहुन्छ । एमालेका हिराबहादुर केसी यस क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग पराजित हुनुभएको थियो ।

विसं २०७९ को प्रदेशसभा सदस्य चुनावमा बागलुङ–१ (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी एमाले, बागलुङको अध्यक्ष हुनुहुन्छ । ससंदीय यात्रा तय गर्ने उहाँको तेस्रोपटकको प्रयास कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी पनि पहिलोपटक संसदीय चुनाव सामना गर्दै हुनुहुन्छ ।  विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय रहँदै आउनुभएका उहाँ बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तथा युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–३ गुठी निवासी उहाँ बागलुङको राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याणविक्रम आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, नेसनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।

जितहारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव नजिकिँदै जाँदा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङ–१ को प्रतिस्पर्धामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ ।

विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसले जिल्ला सबै क्षेत्रमा जित हासिल गरेको थियो । विसं २०७४ को चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र विसं २०७९ को चुनावमा कांग्रेससहितको गठबन्धनले विजयी बनेको थियो ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन् । ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४८ मतदास्थल रहेका छन् । रासस