११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नवीन चुनौतीबीचको निर्वाचन र पत्रकारिता

नवीन चुनौतीबीचको निर्वाचन र पत्रकारिता
अ अ+ अ-

काठमाडौँ। आवधिक निर्वाचनले नै लोकतन्त्रलाई प्राण थप्न सक्दछ । निर्वाचन केवल अङ्कगणितको खेल हैन, यो त नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने र आफ्ना प्रतिनिधि चुन्ने एउटा अवसर हो ।

चुनावलाई अङ्कगणितकोे खेलमा सीमित राख्ने र सत्तामा जाने सिँढी मात्र सम्झने हो भने त्यो जीवन्त लोकतन्त्र हुन सक्दैन, त्यसलाई प्राविधिक लोकतन्त्रको नाम मात्र दिन सकिन्छ । यद्यपि निर्वाचनको प्रक्रिया हेर्ने हो भने मत हाल्ने, धेरै सङ्ख्याले जित्नेलाई सत्तामा पुर्याउने मात्र ठान्न सकिएला । तर, यसलाई जीवन्त बनाउन र प्राविधिक लोकतन्त्र हुन नदिनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ निर्वाचनको सफलता केवल राजनीतिक दलहरूको सक्रियता वा निर्वाचन आयोगको तयारीमा मात्र निर्भर हुँदैन ।

निर्वाचनलाई कति स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउने भन्ने कुरामा राज्यको चौथो अङ्ग अर्थात् पत्रकारिताको भूमिका अत्यन्तै निर्णायक र अपरिहार्य हुन्छ ।आजको सूचना प्रविधिको युगमा मतदाताको अभिमत निर्माण गर्न मिडियाले सबैभन्दा शक्तिशाली भूमिका खेल्छ । सही सूचनाले सही नेतृत्व चयनमा मद्दत गर्छ भने गलत सूचनाले लोकतन्त्रकै भविष्यलाई अन्धकारमा धकेल्न सक्छ । तसर्थ, निर्वाचनको समयमा पत्रकारिताको जिम्मेवारी अरू बेलाभन्दा कैयौँ गुणा बढ्छ ।

यो समय भनेको मिडियाको विश्वसनीयताको अग्निपरीक्षाको समय पनि हो । आसन्न निर्वाचनको सङ्घारमा सामाजिक सञ्जाल एउटा गम्भीर चुनौतीका रुपमा खडा भएको छ । कुनै पनि सम्पादकीय प्रक्रिया र जवाफदेहिता बिना सामाजिक सञ्जालमा पोखिने व्यक्तिगत धारणाहरूलाई नै नागरिकले आधिकारिक सूचना मान्ने खतरा ह्वात्तै बढेको छ । सामाजिक सञ्जालको यो ‘हा हा हो हो’ र असन्तुलित बाढीले जनमतलाई दिग्भ्रमित पार्ने जोखिम उच्च छ । योभन्दा अघिल्ला चुनावहरुमा पनि सामाजिक सञ्जालहरुको अभ्यास गरिएको भएता पनि त्यो बेला यतिको प्रभावकारी मानिँदैनथ्यो । इन्टरनेटमा पहुँचको वृद्धि र मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा आएको अप्रत्याशित वृद्धिले अब यो सुविधा एउटा चुनौती बन्न पुगेको छ ।

बौद्धिक कृत्रिमता (एआई)को प्रयोगले ‘फेक’ सामग्री बनाई सम्प्रेषण गर्ने अभ्यास त यो चुनावमा मात्रै देखिँदैछ । त्यसकारण अघिल्ला चुनाव र यो चुनावका बीचमा चुनौतीका दृष्टिले धेरै भिन्नता देखिएको छ । सरोकारवालाहरुले यो कुरामा समयमै ध्यान पु¥याउन आवश्यक देखिन्छ । एआई अहिले नवीन चुनौती बनेको तथ्यमा उभिएर नै आगामी रणनीति बनाउन सरोकारवालाहरु गम्भीर हुन आवश्यक छ ।

इन्टरनेटको पहुँचमा भएको वृद्धिसँगै उपस्थित यो खतरालाई चिर्ने एक सशक्त माध्यम मूलधारको पत्रकारिता हो । मूलधारको पत्रकारिता भनेको केवल सूचना प्रवाह होइन, यो त निश्चित सम्पादकीय नीति, तथ्यको परीक्षण र जवाफदेहिताको कसीमा खारिएको सामग्रीको उत्पादन र प्रवाह हो । यतिबेला पत्रकारितासामु ठूलो चुनौती छ–नागरिकलाई सामाजिक सञ्जालको ‘अल्गोरिदम’ निर्देशित भ्रामक जालोबाट बाहिर निकाल्नु । भीडको हल्लाबाट जोगाएर सही, सत्य र विश्वसनीय समाचार प्राप्तिमा नागरिकको पहुँच सुनिश्चित गर्ने यो अग्निपरीक्षामा मूलधारको पत्रकारिता सफल हुनैपर्ने दबाब सिर्जना भएको छ ।

जिम्मेवार पत्रकारिताको पहिलो र आधारभूत सर्त के हो भने, मिडियाले आफ्नो वास्तविक परिचय कहिल्यै भुल्नु हुँदैन । मिडिया सत्ताको भजनमण्डली वा कुनै अमुक राजनीतिक दलको अघोषित प्रवक्ता होइन, र हुनु पनि हुँदैन । लोकतान्त्रिक व्यवस्थामा मिडियाको एकमात्र बफादारी नागरिकप्रति हुनुपर्छ । यो नागरिकको ‘सूचना पाउने संवैधानिक हक’ को सच्चा संरक्षक हो । निर्वाचनको बेला दलहरूले आफ्ना ‘एजेन्डा’ स्थापित गर्न मिडियालाई प्रयोग गर्न खोज्नु नौलो कुरा होइन तर ती दबाब र प्रलोभनबाट मुक्त रही स्वतन्त्र अस्तित्व जोगाइराख्नु नै असली पत्रकारिता हो ।

यदि कुनै सञ्चारमाध्यमले समाचारलाई तोडमरोड गरेर, कुनै एक पक्षलाई मात्र काखी च्यापेर वा विपक्षलाई निरन्तर प्रहार गरेर सामग्री पस्कन्छ भने त्यो पत्रकारिता रहँदैन, त्यो त ‘प्रोपोगान्डा’ मात्र बन्छ । पक्षपातपूर्ण प्रस्तुतिले समाजमा ध्रुवीकरण बढाउँछ र मतदातालाई दिग्भ्रमित तुल्याउँछ । निर्वाचनको संवेदनशील घडीमा अपुष्ट समाचार सम्प्रेषण गर्नु भनेको आगोसँग खेल्नु जस्तै हो । हतारमा ‘ब्रेकिङ न्युज’ दिने होडबाजी वा बढी ‘भ्युज’ बटुल्ने लोभमा राखिने सनसनी खालका शीर्षकहरूले क्षणिक चर्चा त देलान् तर दीर्घकालमा यसले मिडिया स्वयंको विश्वसनीयता गुम्छ र प्रकारान्तरले लोकतन्त्रको जगलाई नै कमजोर बनाउँछ ।

त्यसो भए निर्वाचनमा मिडियाको धर्म के हो त ? यसको सिधा उत्तर हो– तथ्यमा आधारित सत्य सूचनाको प्रवाह । विचार र समाचारलाई अलग–अलग राखेर प्रस्तुत गर्नु व्यावसायिक धर्म हो । निर्वाचनका बेला अनेकौँ हल्ला, आरोप–प्रत्यारोप र भ्रामक सूचनाहरूको बाढी आउँछ । यस्तो बेलामा मिडियाले ‘फिल्टर’ को काम गर्नुपर्छ । तथ्य जाँच (फ्याक्ट चेक) नगरी कुनै पनि कुरा बाहिर ल्याउनु हुँदैन । यसका साथै, लोकतन्त्रमा सबैको आवाजको कदर हुनुपर्छ । निर्वाचनमा ठूला र साना, सत्ता पक्ष र प्रतिपक्ष, स्रोतसाधनले सम्पन्न र विपन्न सबै खाले दल तथा उम्मेदवार मैदानमा हुन्छन् । मिडियाले पहुँच र शक्तिका आधारमा मात्र स्थान दिने हो भने त्यो न्यायोचित हुँदैन । सबै पक्षलाई आफ्ना एजेन्डाहरू जनतासमक्ष राख्न समान अवसर प्रदान गर्नु मिडियाको नैतिक दायित्व हो । समावेशी र बहुलवादी समाजमा सीमान्तकृत समुदायका मुद्दाहरू, महिला उम्मेदवारका आवाजहरू र वैकल्पिक विचारहरूलाई पनि मूलधारको मिडियाले स्थान दिनुपर्छ ।

पत्रकारिता भनेको केबल ‘कसले के भन्यो’ वा ‘कसको सभामा कति मान्छे आए’ भनेर टिपोट गर्नु मात्र होइन । जिम्मेवार पत्रकारिताले सतहभन्दा गहिराइमा पुगेर विश्लेषण गर्न सक्नुपर्छ । दलहरूका घोषणापत्रहरूको तुलनात्मक अध्ययन, उम्मेदवारहरूको विगतको पृष्ठभूमि र उनीहरूका बाचाहरूको यथार्थपरक विश्लेषणले मात्र मतदातालाई सही निर्णय लिन मद्दत गर्छ । तर, यस्तो विश्लेषण पनि आग्रह÷पूर्वाग्रहबाट मुक्त र तथ्यमा आधारित हुनुपर्छ । जिम्मेवार विश्लेषण नै विश्वसनीय पत्रकारिताको आधारस्तम्भ हो भन्ने मान्यतालाई कहिल्यै भुल्नु हुँदैन । मूलधारको पत्रकारिताले जतिसुकै परिश्रम गरेर उत्कृष्ट एवं तथ्यपरक सामग्री तयार पारे पनि यदि पाठक वर्ग त्यसतर्फ आकर्षित भएनन् भने त्यसको अपेक्षित परिणाम हासिल हुन सक्दैन । सामग्री राम्रो हुनु मात्र पर्याप्त छैन, त्यो लक्षित वर्गसम्म पुग्नु र विश्वसनीय ठानिनु पनि उत्तिकै महत्वपूर्ण छ ।

आजको ‘डिजिटल’ युगमा नागरिकलाई सामाजिक सञ्जालको भ्रामक अल्गोरिदमको जालोबाट जोगाउनु ठूलो चुनौती बनेको छ । यो चुनौतीको सामना गर्न राजनीतिक दलहरू र निर्वाचन आयोगले आफ्नो दायित्व गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ । यी जिम्मेवार निकायहरूले आम मतदातालाई सामाजिक सञ्जालमा आउने व्यक्तिगत धारणा र अपुष्ट सूचनाका आधारमा आफ्नो मत नबनाउन निरन्तर सचेत गराउनुपर्छ । उनीहरूले नागरिकलाई सम्पादकीय प्रक्रिया पूरा गरेका र जवाफदेहिता बहन गर्ने मूलधारका समाचार माध्यमतर्फ ध्यान केन्द्रित गरेर मात्र धारणा बनाउन सूचित तथा प्रेरित गरिरहनुपर्छ । यसो गर्न सकिएमा मतदाताहरू गलत सूचनाका आधारमा निर्णय लिने जोखिमबाट जोगिनेछन् ।

दल र आयोगको यो सक्रियताले निर्वाचनलाई स्वच्छ बनाउन मात्र होइन, समाजमा मिडिया साक्षरता अभिवृद्धिका सन्दर्भमा पनि महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । निर्वाचन लोकतन्त्रको परीक्षा हो भने यो समय पत्रकारिताको पनि परीक्षा हो । स्वच्छ निर्वाचन र जिम्मेवार मिडिया एकअर्काका पूरक हुन् । यदि मिडियाले आफ्नो धर्म इमान्दारीपूर्वक निभाउने हो भने मात्र लोकतन्त्रको यो उत्सव सार्थक र परिणाममुखी बन्न सक्छ । रासस

(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ)