११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दर्शकको तालमा नेपथ्य, बुटवलमा दुई घण्टा लोकरकको उत्सव

दर्शकको तालमा नेपथ्य, बुटवलमा दुई घण्टा लोकरकको उत्सव
अ अ+ अ-

बुटवल: नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङले गीत मात्र पस्केनन्, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल गरे,  नेपाली क्रिकेट टोलीको विश्वकप यात्रालाई शुभकामना दिए । प्रस्तुतिको सुरुदेखि अन्तिमसम्मै तालमा ताल मिलाएर अमृतलाई दर्शकले साथ दिए ।

जारी गरिएका साढे आठ हजार टिकट कन्सर्ट सुरु हुनुभन्दा केही घण्टा अगावै सकिएका थिए । दुई घण्टापहिले ढोका खोलेकै क्षणदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर ‘मेला’ मा परिणत भएको थियो ।

दर्शकदीर्घामा अनेक भाव भङ्गिमा, जातीय पहिचान र आधुनिक पहिरनका रङ्गीविरङ्गी दृश्य देखिन्थ्यो । तिनैमध्ये ह्विचेयर गुडाउँदै आफ्ना निम्ति सुरक्षित स्थान खोजिरहेका दर्शक वसन्त न्यौपाने पनि भेटिए । उनलाई स्वयंसेवकहरूले तत्कालै उपयुक्त ठाउँमा लगेर राखिदिए ।

‘गीतले गर्दा मात्रै होइन, व्यवस्थापनसम्मका यस्ता अनेक प्रबन्धले नेपथ्य विशेष लाग्छ,’ २२ वर्षे वसन्त भनिरहेका थिए ।

पाल्पाबाट बसाइँ सरेर तिलोत्तमा शिवचोक आएका वसन्त चार वर्षअघि पनि नेपथ्यको बुटवल कन्सर्टमा उपस्थित थिए । त्यतिखेर उनको अवस्था सामान्य थियो ।

‘दुई वर्षअघि सिद्धबाबा स्विमिङ पुलमा डाइभ गर्दा स्पाइनल इन्जुरी भएर ह्विलचेयर चाहिने भयो,’ हाल स्नातक अध्ययनरत उनले थपे, ‘सानैदेखि असाध्यै मन पर्ने नेपथ्यको गीत छाड्नै नसक्ने भएकाले यो कन्सर्टसम्म आइपुगेको हुँ ।’ कन्सर्ट अवधिभर वसन्त रमाइरहे ।

दर्शकदीर्घाको अन्तिम किनारामा विजया पाण्डे भेटिइन् । अगाडि विशाल मैदानमा लहरजस्तै फैलिएका मानिस थिए भने यता एक्लै उभिएकी विजया सुरुदेखि अन्तिमसम्मै रमाएर नृत्य गरिरहेकी थिइन् ।

‘मसँगै आएका छोरा र छोरीले त्यो विशाल भीडमा पस्ने आँट गरे,’ मणिग्रामकी फर्निचर व्यवसायी उनी भनिरहेकी थिइन्, ‘मलाई चाहिँ आँट आएन र यतै रमाइरहेकी छु ।’

आफू दुई दशकदेखि नेपथ्यको ‘फ्यान’ रहेको बताउने विजयाले सन् २०१५ मा जापानको टोकियोमा आयोजित नेपथ्य कन्सर्ट पनि हेरेको सुनाइन् ।

‘हो रामा रामा’ गीतबाट सुरु भएको कन्सर्टमा तीव्र गतिका गीतहरू एकपछि अर्को गरी प्रस्तुत हुँदै थिए । त्यसै क्रममा अमृतले कर्णालीको सन्दर्भ निकाले ।
‘उहिलेको वैभवशाली कर्णालीमा पछि के बिग्रियो बिग्रियो, त्यो सिङ्गो भेग समय क्रममा पछाडि छुटेजस्तो भयो,’ उनले भने, ‘अब राष्ट्र निर्माणको मूल प्रवाहमा मिलाएर उसको त्यो वैभव फर्काउनु छ है… ।’

त्यसपछि उतैबाट सङ्कलन गरिएको लोकभाका ‘टप्पा’ मा आधारित गीत ‘कर्नालीका छाइला’ प्रस्तुत भयो ।

उता गेटमा भने कार्यक्रमको मध्य अवधि पार भइन्जेलसम्म पनि दर्शकको प्रवेशक्रम जारी देखिन्थ्यो । परिसरभित्र ‘लुम्बिनी बरिस्ता’ को कफी स्टल चलाइरहेकी लक्ष्मी विश्वकर्मालाई ग्राहकको अर्डरबमोजिम कफी बनाउने व्यस्तताले छाडेको थिएन ।

‘पाएदेखि म पनि गएर हेरूँला भनेको,’ उनी सुनाइरहेकी थिइन्, ‘आज मौकै मिलेन ।’

दर्शक कोही ठूलो झन्डा बोकेर आएका थिए, कोही अनुहारमा रङ दलेर । कोही आफूले बनाएको गायक अमृतको तस्बिर बोकेर आएका थिए । आकाश विश्वकर्माजस्तै आफूले तयार गरेको स्केच बोकेर नृत्यरत दर्शक मात्रै पनि मैदानका तीन स्थानमा देखिएका थिए ।

‘बुटवलमा नेपथ्य कन्सर्ट आयोजना गर्दा ठूलो सङ्ख्यामा दर्शक जुटाउन मुस्किल पर्दैन,’ कार्यक्रम सकिएपछि स्थानीय आयोजक ब्याकअप इभेन्ट्सका सन्तोष टन्डन भन्दै थिए, ‘प्रस्तुतिदेखि व्यवस्थापनसम्मको कुशलताका कारण सबै दर्शक सन्तुष्ट भएर फर्किएको देख्दा आनन्द महसुस हुन्छ ।’

शनिबारको कन्सर्टका लागि मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

बुटवलपछि नेपथ्य टोली आइतबार सबेरै नारायणगढ प्रस्थान गरिसकेको छ । त्यहाँस्थित ‘क्याम्पा चौर’ मा माघ २७ को बेलुकी ब्यान्ड प्रस्तुत हुनेछ । यो फराकिलो मैदानमा नेपथ्यले लगभग चार वर्षअघि पनि प्रस्तुति दिएको थियो । ब्यान्डले यो सहरमा पनि आफ्ना प्रशंसकबाट सदैव उच्च सम्मान पाउँदै आएको छ ।

नारायणगढको प्रस्तुतिपछि यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को साँझ नेपाली लोकरक गुन्जिनेछ ।

दर्शक सुविधा ध्यानमा राखेर सबैजसो कन्सर्टको टिकट अनलाइनबाटै सोझै काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।