८ आश्विन २०८१, मंगलवार
,
Latest
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान सरकारले दियो स्वीकृति



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ । गत २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरिएको रक्तचन्दन भारत फिर्ता लैजाने निर्णय गरेको हो ।रक्तचन्दन काठ जे–जस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट भारत फिर्ता लैजान स्वीकृति दिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

साइटिस सन्धिको आर्टिकल ८ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा २ र ३ अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति जहाँ बरामद गरिए पनि उत्पत्ति भएको मुलुकलाई फिर्ता दिनुपर्ने व्यवस्था छ । सोहीबमोजिम नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई सो रक्तचन्दन लैजान स्वीकृति दिएको मन्त्री बाँस्कोटाले बताए ।

अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान भए पनि लामो समयदेखि नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ । सरकारले पटक–पटक ताकेता गरे पनि भारतले फिर्ता लगेका छैनन् । भारतको आन्द्रप्रदेश, महाराष्ट्र तथा कर्नाटक राज्यमा पाइने भए पनि नेपालको बाटो हुँदै अवैध कारोबार हुने रक्तचन्दत वन विभाग र अन्य जिल्लामा सुरक्षा दिएर राखिएको छ ।

नेपालमा हालसम्म २ लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएकामा अहिले १ लाख ७३ हजार १७ किलो रक्तचन्दन अझै नेपालमै छ । पक्राउ परेकोमध्ये ३६ हजार ९ सय २८ किलो भारतले जिम्मा लिएको र बाँकी १९ हजार ३ सय २४ किलो हराएको विभागले जनाएको छ । नेपालका चितवन, सर्लाही, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, सप्तरी, गोरखा र काठमाडौंलगायत २० जिल्लाबाट रक्तचन्दन बरामद भएको थियो । यसको माग तिब्बतमा बढी भएको भन्दै पूर्वी नाकाबाट बढी चोरीनिकासी हुँदै आएको छ ।

यसको तस्करीमा ठूला गिरोह संलग्न रहेको प्रहरीको दाबी छ । नेपाल सरकारले नेपालमा रहेको १ लाख ७३ हजार केजी रक्तचन्दन ९० दिनभित्र भारत फिर्ता लैजान स्वीकृति दिएको हो । चीनमा रक्तचन्दनको मूल्य प्रतिकिलो १६ हजार रुपैयाँसम्म पर्ने जानकारको दाबी छ । त्यहाँ रक्तचन्दन विभिन्न फर्निचर, क्रिम तथा म्युजिक सामान बनाउन प्रयोग गरिन्छ । रक्तचन्दन साइटिसको अनुसूची–२ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले यसको व्यापार तथा व्यवसाय गर्न नपाइने व्यवस्था छ । अभिसन्धिमा नेपालले पनि हस्ताक्षर गरेकाले त्यसको कारोबारलाई अवैध मानिन्छ । विगत १३ वर्षयता प्रहरीले रक्तचन्दन बरामद गर्दैै नियन्त्रण गरी सुरक्षा दिएर राखेको छ ।

नेपालमा ६० को दशकमा रक्तचन्दनबाट अकुत सम्पत्ति कमाएका केही विवादास्पद व्यापारीले दिल्लीबाट पानीजहाजमार्फत रक्तचन्दन तस्करी गर्न थालेको विभिन्न अनुसन्धानले देखाएका छन् । तातोपानी नाकाबाट रक्तचन्दन तस्करीमा कडाइ भएपछि रसुवाबाट तस्करी हुने गरेको पाइएको थियो । रसुवाबाट रक्तचन्दन तस्करी गर्दा सेनाका कर्णेल रामजी कटवालको कोर्टमार्सल भई जागिर नै गएको थियो । नेपाल प्रहरीका तत्कालीन डीएसपी ओमबहादुर रानालाई भने कुनै कारबाही भएन । नेपालमा कडाइ भएपछि रक्तचन्दन चीन जाने क्रम कम भएको थियो ।

गोलिया आकारमा ठूलो परिमाणमा एकैपटक ओसारपसार गर्दा प्रहरी जाँच छल्न समस्या देखिएपछि तस्करले सानासाना टुक्रा, तेल र गहनाको आकारमा यसको ओसारपसारमा ध्यान मोडेका छन् । तस्करले प्रहरी सुरक्षा जाँच छल्न रक्तचन्दनलाई माला, भाँडा र तेल बनाएर चीनसम पुर्याउने रणनीति अपनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।गिरोहले भारतबाट नेपालसम्म रक्तचन्दन ल्याउने भरियालाई प्रतिकिलो पाँच हजार रुपैयाँसम्म दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

नेपाल भित्रिएको रक्तचन्दन भने चिनियाँ तस्करले १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको प्रहरी दाबी छ । अन्तर्राष्ट्रिय व्यापार ९साइटिस० महासन्धिको धारा ८ अनुसार लोपोन्मुख वन्यजन्तु तथा वस्तुको चोरीसिकारी तथा ओसारपसार गर्न प्रतिबन्ध छ । त्यही व्यवस्थाअनुसार वन पैदावारमध्येको एक रक्तचन्दनको ओसारपसार तथा कारोबारलाई अवैध मानिँदै आएको छ ।

भारतको तमिलनाडु, आन्द्र प्रदेशलगायतका धेरैजसो घना जंगलमा रक्तचन्दन पाइन्छ । त्यहीँबाट नेपाल हुँदै चीनसम्म यसको अवैध ओसारपसार हुने गरेको प्रहरीको दाबी छ । २०७१ फागुन तेस्रो साता मात्रै नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर नेपालमा बरामद करिब ५० करोड रुपैयाँ मूल्यबराबरको रक्तचन्दन भारतलाई फिर्ता पठाएको थियो ।

वन परिसरमा कुहिँदै रक्तचन्दन: भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागले जनाएको छ । सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा बरामद रक्तचन्दन बबरमहलस्थित वन परिसरमा कडा सुरक्षाका साथ राखिएको छ । डम्पिङ गरी राखिएको रक्तचन्दनको विषयमा सरकारले उपयुक्त निर्णय गर्न नसक्दा समस्या भएको छ । महासन्धिअनुसार नेपाल सरकारले आफैं निर्णय गरे पनि रक्तचन्दनको बिक्रीवितरण गर्न पाउँदैन ।

यस्तो अवस्थामा नेपाल सरकारले औपचारिक रूपमा निर्णय गरी सम्बन्धित देशलाई फिर्ता गर्नुपर्छ । २ माघ २०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । १२ फागुन २०७१ को मन्त्रिपरिषद् बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने सरकारको निर्णय थियो । तर, भारतले आफ्नो खर्चमा रक्तचन्दन फिर्ता लाने प्रक्रिया बढाएको छैन ।

के हो रक्तचन्दन ?रक्तचन्दन एक किसिमको सुगन्धित काठ हो । यसलाई धार्मिक शुभकार्यका साथै सौखिन सामग्री बनाई प्रयोग गरिन्छ । रक्तचन्दको प्रयोग गरी बनाएका सामग्री महँगोमा बिक्री हुन्छन् । त्यसैगरी, विभिन्न किसिमका बिरामीका लागि जडीबुटीका रूपमा रक्तचन्दन प्रयोग गरिन्छ । रक्तचन्दनको रूख नेपालमा पाइँदैन । नेपालमा सेतो रक्तचन्दन मात्र पाइन्छ तर सेतो रक्तचन्दन तस्करी हुँदैन । राजधानी दैनिकबाट