११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चुनाव आयो, मुसहर बस्तीमा सुरु भयो नेताको दौडधुप

चुनाव आयो, मुसहर बस्तीमा सुरु भयो नेताको दौडधुप
अ अ+ अ-

सञ्जीतकुमार मण्डल

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरु जनताका घरदैलोमा पुग्न थालेका छन् । विगत तीन वर्षमा एक पटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरु पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताउनुभयो ।

उहाँका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने यहाँका बासिन्दा अहिले राति १/२ बजेसम्म पनि जाग्राम बस्ने गरेका छन् । बस्तीमा दिनहुँजसो नेताहरुको चहलपहल बढ्न थालेपछि यहाँका मुसहरहरु रातिसम्म नै जाग्राम बस्न थालेका हुन् ।

पहिले पहिलेका चुनावमा जस्तै अहिले पनि यस मुसहर बस्तीमा नेताहरु पुगेर आश्वासन बाँड्न थालेको भए पनि यस बस्तीका वासिन्दामा नेताहरुले कुनै काम गरिदिने विश्वास भने छैन । उनीहरु पहिलेजस्तै नेताहरुको आश्वासन सुन्न मात्र भए पनि राजनीतिक दलका कार्यक्रमहरु सहभागी हुने र आफ्ना विगत लामो समयदेखिका पुरानै माग राख्ने गरेको उनीहरुको भनाई छ ।

“विसं २०७९ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आपूm जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जितेका थिए । तर ती नेताहरु मुसहर बस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् । अहिले मुसहर बस्तीका मतदाताहरु नेताको रङ फेरियो, बस्ती फेरिएन भनेर दु:ख व्यक्त गर्ने गर्दछन्” अगुवा मुसहर अमृतले भन्नुभयो, “सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु । तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपूर्जा बनाइदिएन् अब यसपालिको चुनावमा भने हामी निकै सोचविचार गरेर मात्र मत दिने योजना बनाएका छौँ ।”

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दुरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाज लिएर जाँदा पनि सहयोग नगर्ने गरेको अनुभव सुनाउँछन् । बस्तीका ६३ वर्षीया मुसहर महिला तेतरी सदाले दु:खेसो गर्दै भन्नुभयो ‘मुसहरलाई आपत विपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पनि पन्छिने गर्दथे ।’

तर त्यही बस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्न थालेको छ । चुनावको मिति नजिकिँदै जाँदा अहिले दिनहुँ आएर नेताहरु फेरि आफूले आसन्न निर्वाचनमा मुसहरको मत पाएर जितेपछि समुदायमा विकासको लहर ल्याउने भाषण सुरु गरिसकेका छन । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ रहेको बस्तीका अर्का ७३ वर्षीया महिला सिलिया सदाले बताउनुभयो ।

जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । तर उनिहरुका लागि न शौचालयको व्यवस्था छ, नत खानेपानीकै सहजता । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाईप (ह्याण्डपाईप) छ भने प्रत्येक ८/१० घरमा एउटा शौचालय छ । त्यो पनि ३ वटा रिङ्ग भएको । जुन एक/दुई महिनामै भरिन्छ । त्यसपछि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीय ४८ वर्षीया महिला सुकमरिया सदाले बताउनुभयो ।

सुकमरियाका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेको बताउँदै तर बस्तीमा खानेपानी, नाला र सडकको वर्षौंदेखिको आवश्यकता अहिले पनि यथावत नै रहेको सुनाउनुभयो ।

सबै चुनावमा घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नाला लगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिने गरे पनि अहिले सम्म बन्न नसकेको स्थानीय लड्डु सदाले बताउनुभयो ।

भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबै भन्दा गहिरो ठाउँ हो । बर्षात्का बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । ९० घरधुरी रहेको यो बस्तीमा करिब एक सय ७५ जनासँग नागरिकता समेत छैन भने उनीहरु पुस्तौँ पुस्ता देखि यहीँ बस्दै आएका छन् । बुबाको नागरिकता नभएकै कारण छोराछोरीको समेत जन्मदर्ता नबन्दा यो बस्तीका बालबालिकालाइ विद्यालय जानपनि समस्या छ ।

स्थानीय अर्जुन सदा भन्नुहुन्छ ‘बस्तीमा एउटा मात्र चापाकल (खानेपानी पाईप) छ । यसले नपुग्दा गर्मीमा पानीको हाहाकार हुन्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । नाला नबन्दा बर्षात्मा उनीहरूको घर डुब्छ । त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।’

खैरा गाउँभरि बिजुलीबत्ती पुगेपनि गाउँमै रहेको मुसहर बस्ती वर्षौदेखि अँध्यारो रहेको छ । गरिबी र विपन्नताले गर्दा कतिले बिजुली जडान नै गर्न सकेका छैनन भने एक/दुई जनाले जडान गर्न चाहेपनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर पाउन सकेका छैनन् । गाउँमा बिजुली बत्ती छ, तर लालपुर्जा नभएकालाई विद्युत कार्यालयले मिटर दिँदैन ।

स्थानीय सिरिया सदाले भन्नुहुन्छ ‘मुसहर बस्ती अझै उस्तै छ । यहाँका सबै सधैँ अभावमा बाँचिरहेका छन् । यो बस्तीमा नेता चुनावका बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ । तर बस्तीको रङ फेरिँदैन । प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट बटुल्ने काम मात्रै गरेका छन् ।’

नेपाल सरकारले देशलाई खुला दिशामुक्त घोषणा समेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीय बिरु सदाको गुनासो छ ।

जमिनदारको जमिन उनीहरु अधियाँमा उनीहरु खेती गर्छन् । तर बर्षाका बेला खेत डुबानमा पर्छ । बर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छ । तर पनि यसको व्यवस्थापन गर्न तथा गरिबको भोको पेट भर्न कसैले पहल नगरिदिएको स्थानीय विमलेश सदाले गुनासो गर्नुभयो । उहाँले भोट माग्ने बेला हामीले नै सबै गरिदिन्छौँ जस्तो गरेर नेताहरु बस्तीमा आउने गर्छन् तर कसैले सहयोग गर्दैनन् भन्नुभयो ।

सो बस्ती जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ मा पर्दछ । विसं २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको थियो ।

गरिबीमा रहेको यस बस्तीका एक सय पाँच बालबालिकाको जन्मदर्ता बन्न पनि सकेको छैन । यसका लागि आफूहरु पटक पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसदकोमा पुगेको भए पनि कतैबाट सहयोग नपाएको स्थानीय बिरजु सदाले दुखेसो पोख्नुभयो ।

जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिका नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्ता सहित बालबालिकासँग सम्बन्धित अन्य सुविधा र नि:शुल्क शिक्षाबाट समेत बञ्चित रहेको जिबछी सदाले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन् । (रासस)