११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति
अ अ+ अ-

म्याग्दी। जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हँुदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।

यो सडक योजना निर्माणका लागि २०८१ साल जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि नुवाकोटले रु ११ करोड ७६ लाख १२ हजार ५४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालोपत्र भएको सडकमा रङरोगन र सङ्केतचिह्न तथा साइडबार लगाउने काम पनि सकिएको छ, बजेट अभावको असहज अवस्थाका बाबजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको हो ।”

निर्माण व्यवसायी कार्कीले काम सम्पन्न गरे पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको गुनासो गर्नुभयो । कार्यालयका अनुसार यो योजनाका लागि रु एक करोड ५० लाख बजेट अपुग भएको छ ।

चार किलोमिटर दूरीमा स्तरोन्नति

भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो ।

पाँच सय ५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ ।

म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधि तहबाट सहजीकरण र समुदायस्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्यअघि नै भएको कामले दिएको बताउनुभयो ।

“धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्यअघि नै योजना सम्पन्न हुनु हाम्रा लागि सकारात्मक विषय हो”, उहाँले भन्नुभयो, “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने वातावरण बनाएका छौँ ।”

बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजीकरण गर्न सरोकार समिति बनाइएको उहाँले बताउनुभयो । सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनामार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन ।

यात्राअवधि छोटियो

यात्राअवधि छोटिएको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताउनुभयो । सफा सडकमा सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको उहाँले अनुभव सुनाउनुभयो ।

यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताउनुभयो । बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा चल्न थालेको छ ।

सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ, पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका छन् ।

तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । थप बजेट व्यवस्थापनका लागि कार्यालयमार्फत प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।

बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु पाँच करोडको बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ । रासस