१८ श्रावण २०८३, सोमबार
,
Latest
शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित बस्तीमा निर्वाचनको चर्चा



अ+ अ-

सर्लाही। आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ग्रामीण भेगका दलित बस्तीहरूमा सरगर्मी बढ्न थालेको हो । यहाँका चोकचौतारामा हुने दैनिक बहसमा चुनावी तालमेल, मतदाताका जोडघटाउ तथा उम्मेदवारको विजयको चर्चा हुने गरेका छन् ।

उम्मेदवार र उहाँहरूका समर्थक घरघरमा पुगेर आ आफ्ना पक्षमा मत माग्नेक्रम देखिएको छ । यहाँका गल्लीलाई पक्की सडकमा रूपान्तरण गर्नेदेखि, सुरक्षित खानेपानी, रोजगारी, छात्रवृत्ति, सामाजिक सुरक्षा भत्तालगायत सुविधा दिनेसम्मका योजना आफूसंग रहेको उम्मेदवारले मतदातालाई दिइराखेका छन् ।

चन्द्रनगर गाउँपालिका–६ कामतटोलका ६५ वर्षीय राजकुमार माझीले नेताका प्रतिवद्धता पूरा हुनेमा विश्वस्त हुने आधार नरहेको गुनासो गर्नुभयो ।

जिल्लाको चन्द्रनगर, ईश्वरपुर, हरिपुर, ब्रह्मपुरीलगायत क्षेत्रमा दलित समुदायको पुरानो बस्ती छ । यहाँका माझी मुसहरहरू आधारभूत पूर्वाधारका अभावमा कष्टकर दैनिकी गुजारिरहेका छन् । कतिपय दलित बस्तीका साँघुरा सडक हिउँदमा समेत वर्षायामको झै हिलाम्मे हुने गर्छन् भने बस्ने बास, दैनिकको छाक तथा पिउने पानीको समस्या यहाँको पुरानो नियति हो ।

चन्द्रनगर–६ कामतटोलाका जितन माझी विपन्नको कुरा सुन्ने दल र तिनका नेतालाई भोट दिने बताउनुहुन्छ । बालबालिकाका लागि विद्यालयसम्मको पहुँचसमेत कठिन रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो ,“हरेक चुनावमा नेता तथा कार्यकर्ता आउँछन्, आश्वासनका कुरा गर्छन् । सुकुम्बासी परिवारलाई पक्की घर दिन्छौँ भन्छन् । कसैले नसुनेको समस्या हामी सुन्छौँ भन्छन् । हामीलाई पनि यसपालि केही होला भन्ने लाग्छ । तर, जितेर गएपछि फेरि कमै फर्केर आउँछन् ।”

दलित समुदाय परिवारमा जमिनको स्वामित्व कम नै छ । उनीहरु कष्टपूर्ण मजदुरी गर्न बाध्य छन् । राजनीतिक दलहरूले चुनावका बेला समावेशी विकासदेखि अनेकन आश्वासन कार्यान्वयनमा खासै चासो नदिने गरेको उहाँहरूको गुनासो छ । यस वडामा झन्डै सय परिवार मुसहर माझीको बसोबास छ । त्यसमा आधाजसोका आफ्नो नाममा जमिनसमेत छैन । अहिलेसम्म बसेको घडेरीसमेत आफ्नो नाममा नरहेको स्थानीय तारा माझीले दुखेसो पोख्नुभयो ।

स्थानीय तहले बजेट विनियोजन गर्दा दलित बस्तीको समस्यालाई खासै प्राथमिकतामा नराखेको स्थानीय अगुवा रामकेवल माझीले बताउनुभयो । नागरिक अगुवा रजनीकान्त झाका अनुसार दलित बस्तीलाई मतदाताका रूपमा मात्र हेर्ने प्रवृत्ति परिवर्तन हुन आवश्यक छ ।

साथै, यस्ता समुदायको पहिलो आवश्यकतालाई प्राथमिकता दिएर योजना तयार गर्नेे, पारदर्शी रूपमा बजेट कार्यान्वयन गर्ने तथा स्थानीय विकासमा उनीहरूको नेतृत्वलाई निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यास आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्थानीय शिक्षिका नुनिया माझीले दलित समुदायको आय आर्जन बढाउन सीप आवश्यकता रहेको बताउनुहुन्छ । रासस