१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सरकारको सूक्ष्म निगरानीमा पर्दै विप्लव समूह

सरकारको सूक्ष्म निगरानीमा पर्दै विप्लव समूह
अ अ+ अ-

काठमाडौं । पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा असुलीको सूचना गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै ठाउँमा पुगेको छ। प्राप्त तीन वटा पत्रअनुसार नेकपाको कीर्तिपुर नगरपालिका इन्चार्च राजु पुतुवारले विभिन्न शिक्षण अस्पताल, संघसंस्था, रेस्टुरेन्ट, उद्योगी÷व्यवसायी एवं निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गरिरहेको उल्लेख छ। गृहले प्रहरी मुख्यालयलाई अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको छ। गृहका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ‘चन्दा संकलनबारे आवश्यक निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्नलाई नियमानुसार कारवाही गरि सो कारवाहीको जानकारी यस मन्त्रालयमा गराउनु।’

उनकै हस्ताक्षरको अर्को पत्रमा विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही हाल काठमाडौंको कलंकी, स्युचाटार क्षेत्रमा बसी गोप्य योजना बनाएर सक्रिय रहेको उल्लेख छ। अर्को पत्रमा विप्लवका ललितपुरका कार्यकर्ता दक्षिणी भेग बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकाको कालेश्वर, गोटिखेल तथा आ श्राङलगायत ठाउँमा संगठन विस्तार गरिरहेको उल्लेख छ। पत्रअनुसार यी स्थानमा निगरानी बढाएर कारवाहीको जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ। विप्लवकै सक्रिय कार्यकर्ता भनिएका राजकुमार परियार हाल गोदावरी नगरपालिकाको चापागाउँमा सक्रिय भएको पत्रमा उल्लेख छ।

विप्लव कार्यकर्ताले चन्दा असुलीलाई तीव्रता दिएको सूचना पाएसँगै प्रहरीले सूक्ष्म निगरानी र कारवाही अघि बढाएको जानकारी प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले दिए। उनले भने, ‘चन्दा असुली बढेको सूचना नआएको होइन तर उजुरी कसैले दिँदैनन्। हामीले सूक्ष्म निगरानी बढाएका छौं। उजुरी नआए पनि छुट्टै टिम बनाएर खोजतलास गरिरहेका छौं।’ सरकारले ०७५ फागुन २९ मा विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि प्रहरीले देशभरि १ हजार २ सय ६४ जना विप्लव नेता कार्यकता पक्राउ गरिसकेको छ।

पक्राउमध्ये १ हजार १ सय १९ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो। ६४ जना रिहा भए। एक जनालाई मुद्दा चलाउन बाँकी छ। मुद्दा दर्तापछि ९ सय ८१ जना धरौटीमा छुटे भने १ सय ३० जना पूर्पक्षका लागि जेल चलान भएका छन्। ८९ जनालाई प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए। पूर्पक्षमा कारागार चलान भएकामध्ये अधिकांशमाथि एनसेल टावरमा विस्फोट गराएको अभियोग छ।

प्रवक्ता क्षेत्रीले विप्लव वा नेकपाको नाम लिएर जो कोहीले चन्दा मागे तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेका छन्। ‘केही स्थानमा बम विस्फोट र आगजनी गरेर डरत्रास देखाई विप्लव कार्यकर्ताले चन्दा मागेको सुनिन्छ,’ उनले भने, ‘जो जस्लाई चन्दा मागिएको छ, हामीलाई सूचना दिनोस्। हामी कारवाहीको दायरामा ल्याउँछौं।’

विप्लव खोज्दै प्रहरी

प्रहरीले भूमिगत रहेका विप्लवको खोजी तीव्र बनाएको छ। काठमाडौं उपत्यकाको ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट, सुकेधारा, बसुन्धरा र अनामनगरको हनुमानस्थानमा भएको बम विस्फोटको जिम्मासमेत विप्लवकै पार्टीले लिएको थियो। केन्द्रीय प्रवक्ता डीआईजी क्षेत्रीले प्रहरीले विप्लवको खोजी गरिरहेको स्विकारे। उनले भने, ‘हामी विप्लवको खोजीमा छौं। उनी भूमिगत छन् भन्ने बुझिएको छ। सूक्ष्म निगरानी गरिरहेका छौं।’

सुकेधारामा भएको विस्फोटमा चार जनाले ज्यान गुमाएका थिए। ललितपुरको एनसेलमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो। प्रहरीले ती विस्फोटमा संलग्न केही माथिल्ला तहका नेता पक्राउ गरेको थियो। त्यसमध्ये नेकपाको स्थायी समिति सदस्य एवं तत्कालीन मध्यक्षेत्रीय इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ अहिले पूर्पक्षका लागि कारागारमा छन्।

विप्लव कार्यकर्ताद्वारा आत्मसर्मपण: बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन्। बागलुङ नगरपालिका–४ का ४५ बर्से सापकोटाले बुधबार विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्दै उनले नेपालको संविधान, कानुनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धतासहित पार्टी त्यागको घोषणा गरेका छन्। उनलाई राज्यविरुद्ध कसुरको आरोपमा गत पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

पार्टी त्यागको घोषणापछि सापकोटाले अबदेखि स्वतन्त्र नागरिकको हैसियतमा व्यवसाय गर्ने बताए। आत्मसर्मपणसँगै सापकोटा १० हजार धरौटीमा रिहा भएको निमित्त सीडीओ धीरेन्द्रराज पन्तले जानकारी दिए। ‘अहिले तारेखमा रिहा गरिएको छ, प्रतिबद्धताविपरीत गतिविधि र व्यवहार नगरेको पाइए पछि सफाइ पाउनुहुन्छ’, निमित्त सीडीओ पन्तले भने। रिहापछि पनि विप्लव समूहका क्रियाकलापमा संलग्न रहे कानुनबमोजिम कारवाही हुने उनको भनाइ छ। अन्नपुर्णपोष्ट दैनिकबाट