२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड



अ+ अ-

महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक सङ्घसंस्थाका अगुवाहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा सम्बद्ध पक्षले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

“निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले निर्वाचन आचारसंहिता परिपालनाबारे निरन्तर अनुगमन गर्नुपर्दछ”,, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले भन्नुभयो, “कहीँकतै कसैले एक–दुई पटक आचारसंहिता उल्लङ्घन गरेमा पछि समस्या बढ्दै जान्छ, तसर्थ तत्काल कारबाही गर्नुपर्दछ ।”

कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका जिल्लास्थित प्रमुखको सहभागिता थियो ।

दुवै निर्वाचन क्षेत्रका छलफलमा मुख्य निर्वाचन अधिकृतले निर्वाचन अभियानभरि पालना गर्नुपर्ने आचारसंहिताबारे कानुनी व्यवस्थाका सम्बन्धमा जानकारी गराउनुभयो । कार्यक्रमले उम्मेदवार, राजनीतिक दल र समर्थकले गर्नहुने र नहुने कामबारे विस्तारमा जानकारी पाइएको सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पूर्ण रूपमा परिपालना गर्ने प्रतिबद्धता जनाउनु कार्याक्रम सकारात्मक र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

“सबैले आचारसंहिता परिपालनाको प्रतिबद्धता जनाउनुभएको छ, यो सकारात्मक पक्ष हो”, उहाँले भन्नुभयो, “हामी (स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालय) निरन्तर अनुगमनमा रहने छौँ, उल्लङ्घनका प्रत्येक घटना कारबाहीका विषय बनाइने छन् ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा यस्ता कार्यक्रम सम्पन्न गरिने जनाएको छ । “क्षेत्र नं १ र ४ मा सोमबार अन्तक्रिया सम्पन्न गरियो । क्षेत्र नं  २ र ३ मा आज छलफल गर्नेछौँ”, मुख्य निर्वाचन अधिकृत अधिकारीले भन्नुभयो, “छलफलका निष्कर्ष सबै पक्षबाट परिपालना हुनुपर्छ ।”

आचारसंहिता उल्लङ्घनबारे कडाइका साथ अनुगमन र कारबाहीको विषय बन्ने स्पष्ट पार्दै यो अवस्था आउन नदिन सबै पक्षको सकारात्मक पहलकदमीका लागि उहाँले आह्वान गर्नुभयो ।रासस