काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई तुरुन्त बर्खास्त गर्न नेकपाकै सांसदले माग गरेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सांसद् सुदन किरातीले थापालाई प्रेस सल्लाहकारबाट तुरुन्त बर्खास्त गर्न माग गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले थापालाई सल्लाहकार बनाएर महागल्ती गरेको टिप्पणी उनले गरेका छन् । जतिसक्दो चाँडो थापालाई जिम्मेवारीबाट मुक्त गर्न सांसद किराँतीले माग गरेका छन् ।
एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए । उनको यस भनाईको सांसद किराँतीले कडा विरोध गरेका हुन् ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् । उनले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’
किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन थापालाई चुनौती दिएका छन् । जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने । यस विषयलाई सूर्य थापासँग मात्र नभएर पार्टीसँग जोड्न उनले माग गरेका छन् ।
त्यसैगरी पूर्व माओवादीका तर्फबाट संविधान सभाकी सभासद रुपा महर्जनले पनि सूर्य थापामाथि कडा कारबाहीको माग गरेकी छिन् । उनले थापाको अभिव्यक्ति पार्टी एकता विपरीत भएको भन्दै यस्ता अराजक मानिसलाई पार्टीबाट निष्काशन गर्नुपर्ने माग फेसबुक स्ट्याटसमार्फत गरेकी छिन् ।