८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिद्धबाट मानिसलाई के फाईदा ? ट्रान्समिटर जडान गरी अध्ययन नै सुरु



अ+ अ-

काठमाडौँ । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा। तुलसी सुवेदीले जानकारी दिए । उनले भने, “नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।” उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ ।

उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो । हिमाली गिद्धले अन्य प्रजातिका पन्छी र वातावरणमा जनाउने प्रतिक्रिया बटुल्न पनि अध्ययन सहायक हुने अनुमान गरिएको छ । हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।

तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ । हिमाली गिद्धको ठ्याक्कै सङ्ख्या उपलब्ध नभए पनि नेपालमा १० हजारको हाराहारीमा रहेको अनुमान चराविद् गर्छन् । आयूसीएनको सूचीमा सङ्कटको नजिक रहेको मानिने हिमाली गिद्धलगायतका गिद्ध प्रजाति प्रकृतिकै कुचीकार मानिन्छ । मानिसले गरेका फोहोर र सिनो खाएर वातावरण सफा राख्ने काम गिद्धले गर्छ ।

नेपालको माथिल्लो मुस्ताङका लामा समुदायका मानिसको मृत्युपछि गिद्धलाई खुवाउने परम्परागत चलनको बिँडो हिमाली गिद्धले नै थामेको पाइन्छ । मानव बस्तीको फोहोर खाएर त्यसबाट फैलने रोगव्याधीबाट मानिसलाई बचाउने मुख्य भूमिका यसले निर्वाह गर्दै आएको छ ।हिमाली गिद्ध नेपालमा एक हजार पाँच सय मिटर माथिदेखि छ हजार एक सय मिटरको उचाइसम्म बसोबास गर्ने गर्छ । विशेष गरी जाडोयाममा भने यो गिद्ध तराईको फाँटसम्म पुग्ने गरेको पाइन्छ ।

हिमाली गिद्धको संरक्षणमा आगामी योजना बनाउन सघाउने अहिलेको अध्ययनअनुसार दुई वर्षमा कुल १५ वटा स्याटलाइट ट्रान्समिटर गिद्धमा जडान गर्ने योजना रहेको छ । जसअनुसार यसै वर्षमात्र पाँचवटा गिद्धमा जडान गर्ने लक्ष्य रहेको सुवेदीले जानकारी दिए । अध्ययनको निष्कर्षसँगै समुदायमा चेतना बढाउने, सम्बन्धित सरोकारवालालाई संरक्षणका लागि पहल गर्ने योजना रहेको उनले बताए । एसियामा पाइने नौ प्रकारका गिद्धमध्ये नेपालमा हिमाली गिद्ध, हाडफोर गिद्ध र राज गिद्ध सङ्कटको नजिक रहेका प्रजाति मानिन्छ । यीबाहेक अन्य पाँच प्रकारका गिद्ध सङ्कटापन्नको सूचीमा छन् । गोरखापत्र दैनिकबाट