२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध संग्रहालयले फेरियो सिन्धुलीगढीको पर्यटन तस्वीर



अ+ अ-

सिन्धुली — ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनःनिर्माण तथा युद्ध संग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।

नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि नै कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।

हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेको स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिए । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ ।

नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा संघीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब आठ करोड रुपैयाँको सहयोगमा युद्ध संग्रहालय निर्माण भएपछि पर्यटकको चाप अझ बढेको हो । संग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।

विशेषगरी अंग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलंका, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।

कमलामाई नगरपालिकाका पूर्व मेयर खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध संग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् । सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।