५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न



अ+ अ-

गण्डकी। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत हकहित र सुरक्षामा सामूहिक ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला आज सकिएको छ ।

महासङ्घको गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको उक्त भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो । भेलाले पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेसागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरी उक्त घोषणापत्र जारी गरिएको उहाँले बताउनुभयो ।

घोषणापत्रमा तीनै तहका सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख छ ।

प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक बनाउन र विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरिएको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पत्रकारहरूले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेसागत आचारसंहिताको कडाइकासाथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

सङ्घ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन भेलाले माग गरेको छ । गण्डकी प्रदेशभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिष्ट्रारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउन माग गरिएको छ ।

भेलाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका सञ्चारगृह र पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निर्वाचन नै लोकतन्त्रको प्रमुख आधार भएकाले वर्तमान अन्योलपूर्ण अवस्थाको निकाश र संविधान रक्षाका लागि निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उक्त भेलामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतको सहभागिता थियो ।

‘लोकतन्त्रको रक्षाका लागि समयमै निर्वाचन हुनुपर्छ’ यसैबीच नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारले तोकिएकौ समयमा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनुपर्ने बताउनुभएको छ । आज  पोखरामा आयोजित महासङ्घको गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलामा उहाँले समयमा निर्वाचन नभए नागरिकका अधिकार कुण्ठित हुने धारणा राख्नुभयो ।

“स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने वातावरण सरकारले बनाउनुपर्छ । यसमा राजनीतिक दल र अन्य सरोकार भएका पक्षहरूले सहयोग गर्नुपर्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “संविधानलाई सही बाटोमा डोर्‍याउन र लोकतन्त्रलाई थप सुदृढ गर्न समयमै निर्वाचन हुनुपर्छ ।” अगुवा नागरिक संस्थाका रूपमा महासङ्घले संविधान र लोकतन्त्रका पक्षमा आफूलाई सधैँ उभ्याउँदै आएको उहाँले बताउनुभयो ।

जिम्मेवार र सन्तुलित पत्रकारितामा जोड दिँदै अध्यक्ष शर्माले पत्रकारिता सशक्त भएमा मात्र महासङ्घ पनि बलियो हुने धारणा राख्नुभयो । पत्रकारिता समाजमा सकारात्मक परिवर्तन ल्याउन गर्नुपर्नेमा जोड दिँदै उहाँले आचारसंहिता पालना गर्नु पत्रकारको पहिलो कर्तव्य हो भन्नुभयो । रासस