काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
बिहीवार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताउनुभएको हो ।
उहाँले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नको लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताउनु भयो । उहाँले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले आफ्नो संरचना बनाउँदा आफ्नै वन पैदावार प्रयोग गर्ने कुराहरु पनि आएका छन् । पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन । अनि हामीले विस्तारै परिवर्तन गर्दै जाने निर्णय गरेका छौँ । हामी हरेक दिन अन्तिम दिन मानेर काम गरिरहेका छौँ । अर्को दिन शुरु भएपछि फेरि अन्तिम दिन भनेर नै काम गर्ने हो । हामीलाई ३० दिन दिनुहोस् हामी केही न केही गर्छौं ।’
उहाँले वन पैदावार उद्योगी व्यवसायीहरुलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।










