२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाडा चौपायाको जगजगी बढ्यो



अ+ अ-

महोत्तरी । जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने चौपायाले पैदलयात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँ कुनै नौलो नभएको सर्वसाधारण बताउँछन् ।

“बजार, चोकतिर हिँडडुल गर्न डरमर्दो भएको छ”, जलेश्वर नगरको मुख्य बजार क्षेत्र शङ्करचोककी रामरती साह भन्छन्, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” जलेश्वर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजार क्षेत्रमा गाई र साँढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । छाडा पशुले फोहर बढाएका सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन÷आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजिककी बासिन्दा कल्पना ढकाल बताउछन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

“खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?” भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्छन्, “नगरपालिकाका हाकिमले ध्यान दिनुहुन्न ।” जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउछन्नुहुन्छ । “छाडा चौपायाका कारण हुने ट्रफिक समस्या हटाउन ट्रफिक प्रहरीको तत्परता त हुन पर्छ”, उनले भने, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउन पर्छ ।”

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको जानकारी दिए । “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशु धनीलाई दण्ड जरिवाना गर्ने व्यवस्था गर्न लागेका छौं”, उनले भने, “कार्यालय (नगरपालिका कार्यालय) कै तर्फबाट यससम्बन्धमा गरिनुपर्ने कामबारे सघन छलफलमा छौँ, उपयुक्त निर्णय हुनेछ ।”