१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय



अ+ अ-

काठमाडौँ, २९ मङ्सिर (रासस):नेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौँ उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम्मलाई प्रदूषणले प्रभाव पारिरहेको छ । यसको असरबाट नयाँ प्रकारका रोगहरू देखिने क्रममा छन् ।

अझ पछिल्लो दशक संसारमा नसर्ने रोगहरूको महामारी फैलनुमा पनि प्रदूषणको प्रभाव हो भन्ने कुरालाई प्रतिष्ठित अनुसन्धानमा संलग्न संस्था र व्यक्तिहरूले प्रमाणित गरेका छन् । हरेक साल झैँ यस साल पनि काठमाडौँमा वायु प्रदूषणको मात्रा बढ्न थालेको समाचारहरू आएका छन् । साधारण रूपमा हामीलाई हिँडडुल गर्दा पनि आँखा पिरो हुने, नाक पोल्ने, वाकवाकी लाग्ने, रिँगटा लागे जस्तो हुने, श्वासप्रश्वासमा असहजता हुने जस्ता लक्षणहरू भोग्दै आएका छौँ ।

संसारभर प्रदूषण बढ्नु हरेक देशका आ–आफ्ना प्रमुख कारणहरू छन् तर पनि मुख्य कारण भने अठारौँ शताब्दीमा भएको औद्योगिक क्रान्तिलाई मानिन्छ । एकपछि अर्को उद्योग स्थापना हुँदै जाने क्रममा त्यस्ता उद्योगले गर्ने प्रदूषण नियन्त्रणमा कसैले ध्यान दिएनन् । आर्थिक विकास गर्ने होडमा शक्तिशाली देशहरूले जनमानसको स्वास्थ्यमापर्ने असरप्रति ध्यान दिएनन् ।

त्यसैगरी जनसङ्ख्या वृद्धि, तीव्र सहरीकरण, सवारीसाधनको अनियन्त्रित विस्तार र प्रभावकारी नीतिको अभावले प्रदूषणको समस्या झन् पछि झन् जटिल बन्दै गयो । यसले क्रमशः बहुआयामिक प्रभाव पार्दै गयो । फलस्वरूप पर्यावरण, अर्थतन्त्र, पर्यटन, कृषि तथा समग्र जीवनयापनमै गम्भीर असर पार्न थाल्यो । त्यस्ता असरबाट नेपाल र मुख्यगरी यसको राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन ।

काठमाडौँमा वायु प्रदूषण

कचौरा जस्तो भौगोलिक भू–बनोटले गर्दा काठमाडौँ उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषणलाई हावाले सजिलै बाहिर लान सक्दैन । अझ जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतह नजिक चिसो हावाको एक तह बन्छ जसलाई तातो हावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ; यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोयाममा प्रदूषण जमिनको सतह नजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्न जान्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३ सयदेखि १३ सय ५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौँ उपत्यकामा गाडीले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धुवाँ फाल्ने गर्दछ । त्यस्तै अन्य निम्न कारणले पनि काठमाडौँमा वायु प्रदूषण बढ्ने गरेको छ ः

सवारीसाधनद्वारा अत्यधिक धुँवा उत्सर्जन: यसै त काठमाडौँ उपत्यकाको भू बनोट कचौरा आकारको छ । जसले गर्दा प्रदूषित हावा तल्लो तहमा थिग्रिएर बस्न पुग्छ । त्यही हावा श्वासप्रश्वासका माध्यमबाट मानिसको फोक्सोमा पुगेर सङ्क्रमण गर्दछ । पुराना र मापदण्डविहीन सवारीसाधन, गुणस्तरहीन इन्धन, भिडभाडयुक्त तथा कच्ची सडक र ट्राफिक व्यवस्थापनको कमजोरीले उपत्यकाको प्रदूषणमा करिब ५० प्रतिशतसम्म योगदान गरेको देखिन्छ । सहरी क्षेत्रमा सवारीसाधन सञ्चालनको मापदण्डलाई कडाइ नगर्ने हो भने यसको हिस्सा बढ्दै जाने कुरामा कसैको दुई मत नहोला ।

सिमेन्ट र इँटा उद्योग: बढ्दो सहरीकरणसँगै उत्पादन बढाउँदै गएन भने देशको अर्थतन्त्र क्रमशः ऋणात्मक हुँदै जाने गर्दछ । तसर्थ, औद्योगीकरण कुनै पनि देशको प्रगतिको पहिलो मानक हो । तर त्यसता उद्योग बस्तीहरूबाट निश्चित दूरीमा हुनु आवश्यक छ । अझ धँुलो र धुँवा उत्सर्जन गर्ने सिमेन्ट, इँटा जस्ता उद्योगहरूलाई त बस्तीभन्दा निकै टाढा राख्नुपर्ने हुन्छ । हामीकहाँ भने नियमनबिना सञ्चालन हुने त्यस्ता उद्योगहरूले वातावरणमा धुलो, कार्बन–मोनोअक्साइड, सल्फरडाईअक्साइड जस्ता प्रदूषक तत्वहरू छरिरहेका हुन्छन् ।

निर्माण कार्यबाट उड्ने धुलो: हाम्रो जस्तो भौतिक विकासमा पछि रहेका देशहरूमा आधुनिक समयसँगै विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य तीव्र गतिमा हुँदै गरेका छन् । अझ पछिल्लो समय विकास भनेकै भौतिक निर्माण हो भन्ने भाष्य विकास हुँदै गएको छ । सडक विस्तार, घर निर्माण र सार्वजनिक संरचनाहरूको निर्माण स्थलहरूमा सुरक्षा मापदण्ड नअपनाइँदा जथाभावी धुलो उड्ने गरेको देखिन्छ । त्यो धुलोले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा सम्बन्धित पक्षहरू संवेदनशील नभइदिँदा प्रदूषण घट्नुको साटो झन् बढ्दो क्रममा रहेको छ ।

फोहर दहन र डम्पिङ साइट: सामान्यतः घर वरपर, खेतबारीमा रहेका प्लास्टिक, सिमेन्टको बोरा, चाउचाउका खोल, गुट्खाका खोल, कागज, ढोड, पराल, छ्वाली, झिक्राझिक्रीहरूलाई हामी खुला रूपमा जलाउने प्रवृत्ति रहेको छ । त्यस्ता वस्तु जलाउँदा विषालु ग्यास उत्पन्न भई वातावरणमा मिसिन जान्छ । यसले गर्दा हामीले फेर्ने श्वासमा प्रदूषण मिसिन पुग्छ । त्यस्तो प्रदूषित हावा लिएर हाम्रो फोक्सो के स्वस्थ रहन्छ र !

प्राकृतिक तथा मौसमी कारणहरू: त्यसो त प्रदूषित वातावरणको कारण पृथ्वीको बढ्दो तापक्रम, हावाको कम गति, डढेलो र खाद्य बालीका अवशेषहरूलाई जलाउने गर्दा पनि वायु गुणस्तरलाई निरन्तर रूपमा बिगारी रहेका छन् ।
वायु प्रदूषणका प्रभावहरू
स्वास्थ्यमा प्रभावः वायु प्रदूषणको प्रमुख असर भनेको यसले मानिसको स्वास्थ्यमा एकपछि अर्को असर गर्दै जानु हो । यसले श्वासप्रश्वाससम्बन्धी रोग (दम, एलर्जी, सिओपिडी), फोक्सो क्यान्सर, मुटु तथा रक्तसञ्चार प्रणाली र प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरू लाग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसो त यसले बालबालिका, वृद्धवृद्धा र गर्भवतीलाई उच्च जोखिममा पार्दछ ।

अर्थतन्त्रमा प्रभावः कुनै पनि अर्थतन्त्रको प्रमुख मेरुदण्ड भनेको जनशक्ति नै हो । प्रदूषणले मानव स्वास्थ्यमा प्रहार गर्न थालेपश्चात् जनशक्तिको उत्पादन क्षमता पनि हस आउन थाल्दछ । यसका कारण उत्पादन एवम् सेवा क्षेत्रमा गम्भीर असर पर्न जान्छ । बिरामी जनशक्तिले न त उत्पादन गर्न सक्छ न त उपभोग नै गर्नसक्छ । त्यसै गरी प्रदूषणले स्वास्थ्य उपचार खर्च बढ्ने र पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पारी समग्र आर्थिक चक्रलाई नै क्षति पु¥याई समग्र अर्थतन्त्रलाई शिथिलतातर्फ लाने सम्भावना रहन्छ ।

पर्यावरणीय प्रणालीमा प्रभावः प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदा समग्र जीवहरूको पुनरुत्पादन प्रक्रियामा गम्भीर असर परिरहेको हुन्छ । त्यसरी प्रदूषण र तापमान बढ्दा हरियो वनस्पति कमजोर बन्ने, जैविक विविधतामा असर पर्ने, वर्षा ढाँचामा परिवर्तन हुने जस्ता असर देखिँदै जानेछन् । यसले समग्र जीवको प्रणालीमै असर गरी नयाँ सङकट बढाउने जोखिम दिनानुदिन बढ्दै गएको पाइन्छ ।

पर्यावरणीय प्रणालीमा रहेका समस्याहरुको तत्कालीन समाधानका विभिन्न उपायहरू हुन सक्छन् । धुलो नियन्त्रण अभियान कडाइका साथ सञ्चालन गर्न सकिन्छ । सडक लगायतका भौतिक संरचना निर्माणस्थलमा नियमितरूपमा पानी छर्कने र जिओ–टेक्सटाइल लेयर उपयोग गर्न सकिन्छ । पुराना सवारीसाधनहरू चरणबद्ध रूपमा हटाउने र विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्छ । सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित पार्दै निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित र इन्धन गुणस्तर नियमित अनुगमन एवम् परीक्षणमा कडाइ गर्न सकिन्छ ।

त्यस्तै जथाभावी फोहर जलाउने कार्यलाई पूर्ण प्रतिबन्ध लगाउन आवश्यक छ । घरवर, खेतबारीमा रहेका फोहरहरूलाई खुल्लारूपमा जलाउने कार्यलाई प्रतिबन्ध लगाउनुपर्छ । त्यस्ता कार्यलाई स्थानीय तहमार्फत नियमित निरीक्षण, दण्डजरिवाना प्रणाली लागू गरिनुपर्छ । राष्ट्रिय तथा स्थानीयस्तरमा वायु गुणस्तर सूचकाङ्क मापन र तत्क्षणिक सूचना प्रवाह गर्ने प्रणालीको विकास गरी त्यसलाई कडाइका साथ लागू गरिनुपर्छ । खुला रूपमा निर्माण सामग्रीको ढुवानी गर्ने कार्य रोक्न भौतिक निर्माणमा आवश्यक ढुङ्गा, बालुवालगायतका सामाग्रीलाई ढाकेर मात्र ढुवानी गर्ने, व्यवस्था गर्नुपर्छ ।

दीर्घकालीन समाधानका उपायहरूमा विद्युतीय सवारीसाधनको प्रयोगलाई रणनीतिक रूपमा प्रोत्साहित गर्दै ट्राफिक व्यवस्थापन सुधारमा गर्दै एमआरटी, बिआरटीजस्ता आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्नुपर्दछ । दैनिक जीवनमा नवीकरणीय ऊर्जा खपतलाई प्रोत्साहित गराउन आवश्यक छ । सबैभन्दा बढी प्रदूषण गर्ने सिमेन्ट र इँटा उद्योगमा आधुनिक प्रविधिको जडान गरी प्रदूषण कम गर्न सकिन्छ । त्यसका लागि ‘जिगज्याग’ प्रविधिलाई अनिवार्य गर्दै शून्य उत्सर्जन उद्योगको अवधारणामा रूपान्तरण गर्नुपर्दछ । त्यसैगरी त्यस्ता उद्योगलाई सहर बाहिर सर्नका लागि प्रोत्साहन गर्नुपर्दछ । सहरी क्षेत्रमा बढ्दो कङ्क्रिटका संरचनाले तापक्रम र प्रदूषण बढाउन मुख्य भूमिका खेलिरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकारले ‘ग्रिनबेल्ट’ क्षेत्रहरूको विकास गर्दै पार्कहरूको निर्माणमा जोड दिनुपर्नेछ । वृक्षरोपण अभियानलाई तीव्रता दिँदै जमिन उपभोगको नीतिमा निर्मम बन्नुपर्दछ ।

त्यसैगरी बढ्दो प्रदूषणलाई कम गर्नका लागि वातावरण संरक्षण वातावरण संरक्षण ऐनको पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्नेछ । स्थानीय तहलाई वातावरणीय निगरानी अधिकार विस्तार गर्दै वातावरण प्रभाव मूल्याङ्कन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइई) को प्रावधानलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । विद्यालयदेखि समुदायस्तरसम्म वातावरण शिक्षालाई अनिवार्य रूपमा लागू गरिनुपर्छ । हरेक घर–परिवारमा धुलो नियन्त्रण, मास्क प्रयोग, हरियाली अभियान र खुल्ला फोहर दहन बन्द गर्ने विषयलाई प्रभावकारी रूपमा चलाउनुपर्छ ।

निष्कर्ष

प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरभन्दा बढी हुने गर्छ । हरेक वर्षको हिउँद र प्रि–मनसुन समय फागुनदेखि वैशाखसम्म उपत्यकामा वायु प्रदूषण बढ्ने गर्छ । वातावरण विभागको प्रतिवेदनमा काठमाडौँ उपत्यकामा प्रदूषणको मुख्य स्रोत दश लाखभन्दा बढी सवारीसाधन नै हुन् । नेपालमा सन् २०३० सम्ममा वायु प्रदूषणको वित्तीय भार दुई सय ५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बंैकको अनुमान छ । वनजङ्गलमा लाग्ने डढेलो, किसानले खेतबारीमा जलाउने कसिङ्गर, धुलो धँुवा र पश्चिमी तथा पूर्वीय वायु सक्रिय हुन नसक्दा काठमाडौँमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बताएको छ । यसरी बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने गरेको छ ।

वायु प्रदूषण केवल वातावरणीय समस्या मात्र होइन, जीवनरक्षासँग सम्बन्धित राष्ट्रिय प्राथमिकता बन्न पुगेको छ । यस क्षेत्रमा यदि आजै प्रभावकारी कदम चालिएन भने आगामी दिनहरूमा स्वास्थ्य सङ्कट, आर्थिक क्षति र सामाजिक समस्या गहिरिँदै जानेछ । तत्कालीन कदम तत्काल लागू गरेर र दीर्घकालीन कदम नीतिगत सुधारमार्फत यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक र सञ्चार क्षेत्रको सामूहिक भूमिकाले मात्र स्वच्छ हावा र सुरक्षित भविष्य सुनिश्चित हुनसक्छ ।रासस