१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ बुधबारदेखि

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ बुधबारदेखि
अ अ+ अ-

कैलाली । विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरुको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरुलाई एउटै मञ्चमा जमघट हुने अवसर प्रदान गर्न लागेको हो ।

‘नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान, विश्वलाई जोड्ने कला संस्कृति हो, हाम्रो स्वाभिमान’ भन्ने नारासहित सुदूरपश्चिमाञ्चल साहित्य समाजको पहलमा यो महोत्सव यही फागुन १४ देखि २० गतेसम्म आयोजना हुँदैछ ।

प्राकृतिक सुन्दरता, भौगोलिक सम्पदा, मनोरम र सांस्कृतिक विविधताले सम्पन्न सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको समेत उर्वर भूमि मानिँदै आएको छ । विविधतामा आधारित नेपालको सुन्दरतालाई अभिवृद्धि गर्दै सुदूरपश्चिम प्रदेशले पनि हिमाल, पहाड र तराईका विविध भाषा, संस्कृति, वेशभूषा, रहनसहन, खानपान र सांस्कृतिक सौन्दर्यलाई वरण गरेको छ ।

यसै प्रदेशबाट विभिन्न देशमा पुगेका नेपालीभाषी वीर जातिले नेपाली भाषा संस्कृति सभ्यता र पहिचानलाई बोकेर आफ्नो भाषा संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएका छन् । नेपाली भाषा साहित्य र सभ्यताकै जननीस्थलका रूपमा चिनिने काली—कर्णाली क्षेत्रको गौरवमयगाथाका साथै कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य जस्ता पक्षलाई उजागर गर्नका लागि यो महोत्सवको पहल गरिएको मदन पुरस्कार विजेतासमेत रहेका सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी बताउनुहुन्छ ।

“संसारभरिका नेपालीभाषीहरुलाई जोड्दै नेपाली भाषा साहित्यको श्रृवृद्धि गर्नका लागि महोत्सव गर्न लागेका छौँ”, जोशीले भन्नुभयो, “महोत्सवका माध्यमले सुदूरपश्चिमलाई चिनाउनसमेत मद्दत पुग्नेछ ।”

महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी नेपालीभाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवका संयोजक यज्ञराज उपाध्यायले महोत्सवमा नेपालसहित भारत, बर्मा, अमेरिकालगायत देशमा रहेका नेपालीभाषी, लेखक, कवि, साहित्यकार, कलाकार र बुद्धिजीवी सहभागी हुन लागेको बताउनुभयो ।

महोत्सवको साहित्य सत्रमा विभिन्न वक्ताले साहित्य र राजनीति शीर्षकअन्तर्गत ‘अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध’, ‘सङ्घर्ष र सफलताको कथा’, ‘काव्यसभा’ जस्ता प्रस्तुति गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

आयोजकले सार्वजनिक गरेको महोत्सवको कार्यतालिकाअनुसार विभिन्न वक्ताबाट ‘लोकसभा नपढिएको विश्वविद्यालय’, ‘स्वाभिमानी जातिका स्वाभिमानी पाइला’, ‘महको मिठास’, ‘नेपाली समालोचनाको दशा र दिशा’, ‘हास्यव्यङ्ग्यको झटारो’, ‘नेपाल बाहिरको नेपालीभाषीको जीवन’ लगायतका विषयमा प्रस्तुति हुन लागेको छ । यसबाहेक ‘छन्दसभा’, ‘आख्यानमा आञ्चलिकता’, ‘लेखनमा लिङ्गीय भेदको सकस’, ‘सङ्गठनले धानेको साहित्य आख्यानको नयाँ लोक’, सांस्कृतिक कार्यक्रमसहित कविता, गजल, साहित्यिक छलफल, समालोचना, संवादलगायत विषयमा प्रस्ुतति गरिने बताइएको छ ।

उक्त महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकले महोत्सवको लोगोसमेत सार्वजनिक गरिसकेको छ । महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार डा पवन चामलिङ, सरुभक्त, नीलम कार्की निहारिका, डा विष्णुविभु घिमिरे, साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत स्रष्टाहरुको सहभागिता हुन लागेको छ ।

महोत्सव आयोजना हुने स्थल स्थानीय खुलमञ्चमा स्वागतद्वार र मञ्च निर्माणलगायत काम भइरहेको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

यस्तै विश्व नेपाली साहित्य महोत्सवलाई लक्षित गरी महोत्सवस्थल परिसरमा खाना महोत्सवको पनि आयोजना हुन लागेको छ । होटेल व्यवसायी सङ्घ कैलालीको पहलमा हुन लागेको यो महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी गरिएको छ ।

“सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किने तयारी गरेका छौँ”, होटेल व्यवसायी सङ्घका महासचिव केशवदत्त पाण्डेयले भन्नुभयो, “संस्कार र संस्कृति जोगाउनका लागि यो प्रयास गरिएको हो ।”

प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरेलगायत परिकार मुख्य छन् ।