महेन्द्रनगर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको सभागृह (सिटीहल) अझै सञ्चालनमा आउन सकेको छैन् ।
विसं २०७५ मा निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेको छ । ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको तीनतले सुविधा सम्पन्न सभागृहमा तीन वटा हलको सुविधा पनि छ ।
भीमदत्त नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह तयार छ । जिल्लामा हुने सभा, सम्मेलन तथा कार्यक्रमको सहजताका लागि निर्माण गरिएको थियो ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह हाल भीमदत्त नगरपालिकाको मातहत छ । भीमदत्त नगरविकास समितिको अध्यक्षमा नगर प्रमुख रहने प्रावधान छ ।
नगरपालिकाको नेतृत्वले चाँसो नदिँदा करोडौँ लगानीमा निर्माण भएको सभागृह जीर्ण बन्दै गएको स्थानीयबासीको गुनासो छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी भने सभागृह सञ्चालनका लागि काम भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“निर्माण कम्पनीले नगरविकास समितिलाई सभागृह हस्तान्तरण गरिसकेको छ ।
प्रतिवेदन तयार गरी सञ्चालन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सुझावअनुसार अघि बढ्ने गृहकार्यमा छौँ ।”
अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता रहेको छ । विसं २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएकामा धेरै वर्षपछि सभागृह सम्पन्न भयो । सञ्चालनमा पनि थप समय लागेको भन्दै धेरैले असन्तुष्टि जनाइरहेका छन् । रासस










