२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोरको पानी डाँडामा पुगेपछि…



अ+ अ-

पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।”

पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ११ गते तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो । कूल नौ किमी सडक रु ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकासनिर्माणका कामले उत्साहित छन् ।

प्रधानमन्त्री ओलीले यही फागुन ११ गते रु ५१ करोड ३० लाखको लागतमा यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको थियो । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युत्को उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाउनुभयो । चार वर्षअघिदेखि निर्माण शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे । त्यस दिन प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा मात्रै कार्यक्रम तय भएको थिएन, पाँचथर र तेह्रथुमका विभिन्न विकासनिर्माणका आयोजनाको कामको थालनी गरिएको थियो तर देशका कार्यकारी प्रमुखलाई जन्मदिनको शुभकामना व्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार बासिन्दा उहाँको जन्मघर पुगेका थिए ।

उहाँले मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गर्नुभयो । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँकै इच्छानुसार जन्मदिनका अवसरमा यहाँका ४०० ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित सम्मान गरिएको थियो भने दुई हजार विद्यार्थीलाई नोटबुक र कलम वितरण गरिएको थियो ।

यस्तै सशस्त्र द्वन्द्वमा विस्थापित आठराई, सङ्क्रान्तिबजारस्थित नेपाल बैंकको शाखाको सोमबार नै उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले पनि यहाँका बासिन्दा उत्साहित छन् ।

यस्तै शीर्षनेताले जनताका कुरा सुन्दैनन्, प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैनन् भन्ने आरोप प्रधानमन्त्रीका हकमा कहीँ कतै लागू हुन्न भन्ने उहाँको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा गरिएको कार्यक्रमले देखाउँथ्यो । प्रधानमन्त्रीले त्यहाँ आएका ज्येष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उहाँले दोहोरो अन्तरक्रिया गर्नुभयो । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्रीलाई सुनाउन पाएको भन्दै आँशु नै झारे । धेरै ज्येष्ठ नागरिकले खानेपानीको प्रबन्ध गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे । कतिपयले त आफ्ना व्यक्तिगत समस्या र दुःखेसोसमेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको तथा हेलाँहोचो गरेको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिनुभयो । उहाँले सधैँजसोको जस्तो रमाइलो मन्तव्य राख्नु भएन । मलीन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि केकस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गर्नुभयो ।

जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायुको कामना गर्नेको सङ्ख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै त्यहाँ उपस्थित हजारौँ स्थानीयवासीले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवामा आइपुग्नुभएको थियो । गाउँको सानो झुपडीमा जन्मेर ठूलो सङ्घर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याइ थियो ।

प्रधानमन्त्रीसँगै आउनुभएका उहाँका पिता मोहनप्रसादले समेत स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभयो । उहाँको जन्मघरमा तस्वीर र सेल्फी लिनेको भीड नै लागेको थियो । यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उहाँको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्रीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो ।