२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र



अ+ अ-

नेपालमा पर्यटनको सुरुवात काठमाडौंको पुरानो बस्ती झोँछेँ बाट भएको मानिन्छ । झोँछेँका साँघुरा गल्ली, परम्परागत घर र पुराना कलाकौशलबाट बनेका झ्याल ढोकाको आकर्षण नै पर्यटनको बीउ बन्न गएको पाइन्छ । नेपालमा सन् १९६० को दशकमा भित्रिएका हिप्पीले झोँछेँलाई आफ्नो आश्रयथलो बनाएका थिए । यहीँबाट सुरु भएको हिप्पी पर्यटनले होटल हुँदै व्यवासायिक पर्यटनको बाटो खोलिदियो ।

यसरी झोँछेँबाट सात दशकअघि औपचारिक रुपमा नेपालमा पर्यटनको उदय भयो । आज व्यापारिक दृष्टिले मात्रै नभएर आत्मीयता र संस्कृति प्रवर्द्धनको रूपमा पर्यटनको विकास भएको छ ।

नेपालमा होटल व्यवसाय, पदयात्रा, पर्वतारोहणसहितका गतिविधि चलाउने काम पर्यटकीय सेवाको एउटा पाटो हो । त्यतिबेला पर्यटकलाई पारिवारिक रुपमा खानबस्न दिन होटल खुलेका थिए । अहिले व्यवसायिक हुँदै अन्तर्राष्ट्रिय चेन होटल र कर्पोरेट स्वरूपमा आतिथ्यता दिने उद्योग बनेका छन् ।

होटल व्यवसाय चलाउनु केबल व्यवसाय मात्रै होइन । पर्यटकलाई हामीले खुशी बेच्ने उद्योग चलाएका छौं । पर्यटक जहाँ खुशी र शान्ति हुन्छ त्यहीँ जाने गर्छन् । पर्यटक रमाउन आउने, खुशी हेर्न चाहने गर्छन् । नेपालमा लामो समय दु:ख, पीडा, अशिक्षा, बेरोजगारी र कष्टपूर्ण दैनिकीलाई पर्यटन सेवा भनेर नकारात्मक प्रचार गरियो । वास्तवमा पर्यटन सुख, हाँसो, खुशी, दर्शन, सौन्दर्य, आत्मीयता बेच्ने उद्योग हो । हामीले पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्यौँ भने उनीहरू खुशी हुन्छन । फर्कीफर्की आउँछन् । नेपालको आतिथ्यताको प्रचार उनीहरुबाटै बढ्छ । त्यसैले त पर्यटनको आयु गुणस्तरीय सेवामा जोडिएको हुन्छ ।

पर्यटकीय सेवाका लागि खोलिएका होटल केवल बस्ने घर (भवन) मात्रै होइनन् । नेपाल महशुस गराउने, नेपालीपन अनुभूत गराउने र पाहुनालाई उत्सुकताको आनन्दानुभूति बाँड्ने सेवा उद्योग हो ।

पर्यटन केवल आर्थिक क्रियाकलाप मात्र पनि होइन्, यो त प्राकृतिक, सांस्कृतिक संवादको माध्यमबाट विकास हुँदै गएको सेवा र सत्कारको क्षेत्र हो । नेपाल आउने सबै पर्यटक हिमाल हेर्न मात्रै आउँदैनन् । उनीहरू त कठीन भौगोलिक अवस्थितिमा निर्वाह गर्ने जीवनशैली, सौन्दर्य र दु:खमा रमाइरहेका हँसिलो नेपालीपन हेर्न चाहन्छन् । नेपाली आत्मा अनुभव गर्न आउँछन् । यस्ता पर्यटकलाई नेपालको भूबनोटले असर नगर्न पनि सक्छ । मेरो अनुभवमा पर्यटक खानपिनमा रमाउन होइन अनुभूति लिन आउँछन् । मैले पर्यटन व्यावसायलाई केवल होटलका कोठा र खान्की बेच्ने मात्रै होइन भनेर बुझेँ ।

मेरा हरेक पर्यटन सेवामा स्वदेशी तथा विदेशी पाहुनाले नेपालीपनको अनुभव खोज्छन्। नेपाली होटलमा वास्तुकला, स्थानीय स्वाद र संस्कृतिको बासना खोज्छन् । पर्यटकको यो भावनालाई बुझ्न सक्ने पर्यटन व्यवसायी बन्छन् । नबुझ्नेहरु केवल काँक्रो, गोलभेंडा बेच्ने व्यापारीजस्ता मात्रै हुन्छन् । पाहुनाको भावना नबुझ्ने व्यापारीले गुणस्तरीय र दीर्घकालीन पर्यटनलाई जोगाउन सक्दैनन् । पर्यटन जोगाउन आतिथ्यता जोगाउनुपर्छ ।

जसरी उच्च हिमालमा खोलिएको होटल एभरेष्ट भ्यूले नेपाललाई विश्व पर्यटन नक्सामा फरक रूपमा चिनायो । त्यसैगरी हरेक पर्यटकले नेपालप्रति बनाउने दृष्टिकोण पनि फरक नै हुन्छ । पर्यटकहरू एभरेष्ट भ्यू होटलमा केवल हिमाल हेर्न मात्रै जाँदैनन् । यात्राको अर्थपूर्ण प्राकृतिक सौन्दर्यको अनुभूति गर्न पुग्छन् । त्यहाँ पुग्दासम्मको नेपाली आतिथ्यको अनुभव लिन आउँछन् । होटलले भौतिक सौन्दर्य मात्रै नभएर आध्यात्मिक र आत्मियतालाई बेच्न सक्यो भने संसारभरी बजार फैलाउन सक्छ । जसले नेपालको पर्यटन ब्राण्डिङ गरिदिन्छ ।

पर्यटन पुनर्जागरणमा अभियानको योगदान

पर्यटन व्यवसाय सधैँ सुरक्षित, संयमित र धैर्यवान हुन्छ । नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा पर्यटन सुरक्षित हुँदै आएको थियो । १० वर्षे सशस्त्र द्धन्द्धकालमा समेत नेपालको पर्यटन क्षेत्र सुरक्षित भएको सन्देश संसारभरी दिन सकिएको थियो । त्यतिबेला पर्यटकलाई आक्रमण गर्ने र पर्यटन व्यवसायीलाई हतोत्साहित गर्ने काम भएन ।

तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाल असुरक्षित छ भनेर पर्यटन व्यवसायमा नकारात्मक सन्देश दियो । जेनजी आन्दोलमा पर्यटन सेवामा क्रियाशील केही होटल आक्रमणको निसानामा परे । पर्यटन उद्योगलाई धराशयी बनाउने कुत्सित उद्देश्यले पक्कै पनि होटलमा आक्रमण भएको होइन होला । गरिखाएको वा कमाएको देखिनसहने वर्गले लिएको इगोका कारण पहिलोपटक नेपालका होटल आक्रमणमा परे । यसलाई नकारात्मक रूपमा लिएर जाने भन्दा पनि भैपरी घटनाका रूपमा बुझेर फेरि बलियो आत्मबलका साथ बढ्नुपर्छ । नेपालको पर्यटन फेरि नयाँ उचाईमा पुर्‍याउन सक्ने अथाहा संभावन छ ।

नेपालको पर्यटन पुनर्जागरणमा अभियानको योगदान ठूलो छ । अभियानले पर्यटनलाई प्रवद्र्धन मात्रै नगरेर ब्राण्डिङ गर्छ । त्यसैले अब पुन:जागरको अभियान चलाउन ढिलो गर्नुहुँदैन । हाम्रो अनुभवले यही भन्छ । यस अघि मैले ‘नेपाल भ्रमण वर्ष १९९८’को संयोजक भएर काम गरेको थिएँ । वास्तवमा त्यतिबेला पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड हुन सक्छ भन्ने कुनै अवधारणा नै आएको थिएन । जब पहिलो नेपाल भ्रमण वर्ष मनाइयो त्यसपछि भने पर्यटन पुनर्जागरणको अभियान चल्यो । पर्यटन जागरण नै ल्याइदियो । विश्व मिडियामा नेपालप्रति सकारात्मक सन्देश गयो । सरकार, निजी क्षेत्र र जनतालाई एउटै सूत्रमा बाँध्ने आधार पर्यटन मात्रै हो भन्ने स्थापित भयो । राज्यले होस्टे भन्ने, निजी क्षेत्रले हैंसे गर्ने र जनताले ताली (साथ) दिने हो भन्ने भावनाले नै नेपाललाई विश्व पर्यटनको केन्द्रमा परिचित गराउन सकियो । त्यसकै निरन्तरता हो सन् २०११ को नेपाल भ्रमण वर्ष । त्यसले नेपालको पर्यटनलाई ब्राडिङ गर्‍यो । सहरबाट पर्यटन गाउँसम्म पुग्यो । सहरमा विभिन्न पर्यटकीय विधा जोडेर व्यवासाय बन्न गयो भने गाउँमा आर्थिक उपार्जनको वैकल्पिक स्रोत बन्यो । यसैबेला हो गाउँगाउँमा होमस्टेको अवधारणा बनेको ।

सन् २०२० मा पनि सरकारले नेपाल भ्रमण वर्ष मनाउँदै थियो । त्यहीबेला कोभिड–१९ को महामारीमा पर्यटन क्षेत्र पर्‍यो । यो पटक नेपालको पर्यटनमा लगानीको बहार आउने अपेक्षा थियो । लगानीसँगै यहाँको सेवा, सुविधा र आतिथ्यतारुपी संस्कारका कारण संख्यात्मक रूपमा पनि पर्यटक बढाउने अपेक्षा थियो ।

कोभिडका कारण एक तहमा विकास भइसकेको पर्यटनलाई एकैपटक हातबाट भूइँमा झरेको सिसाको अनुभूति गराइदियो । पर्यटन उद्योगको जरो नै हल्लाइदियो । सामान्यदेखि स्तरीय पाँचतारे होटल बन्द भए । कैयौको रोजगारी गुम्यो । तर पनि विस्तारै महामारीको मारलाई हामीले अवसरमा बदल्न थाल्यौं । फलत: आज पर्यटनको शक्ति भवनमा होइन, सम्बन्धमा छ भन्ने कोणबाट हामी यो क्षेत्रलाई माथि उठाउन खोजिरहेकै छौँ ।

जेनजी आन्दोलनमा भने पर्यटन उद्योगले आर्थिक क्षति नै व्यहोर्नुपर्‍यो । यसलाई अपवाद मानेर अभियानमार्फत पुनर्ताजगी गराउनुपर्छ । पर्यटन फेरि सबल सेवा उद्योग हुन्छ र बनाउन सकिन्छ ।

स्थानीयता र मौलिकताको पुन:स्थापना

पर्यटनको भविष्य स्थानीयता र मौलिकतामा अडिएको हुन्छ । अहिले नेपाल आउने पर्यटक सहर हेर्न होइन, स्थानीयता र मौलिकताको खोजीमा आउँछन् । पर्यटक अब केवल दृश्यावोलकन होइन, वास्तविक आनन्दको अर्थ खोज्न आउँछन् । उनीहरूले आत्मा महशुस गर्न चाहन्छन्, स्थानीयसँग जोडिन चाहन्छन् र नेपालले त्यो आत्मीयता दिन सक्छ, मौलिकपनबाट । पर्यटन उद्योग एउटा ठाउँ र स्थान विशेषको लागि मात्रै हुँदै होइन् भनेर बुझाउनुपर्छ ।
विदेशीले जीवन्त नभएका र मानवनिर्मित संरचनालाई भव्य रूपमा बेच्न सकेका छन् ।

हाम्रोमा त पर्यटन नै जीवन्त छ । प्राकिृतक सौन्दर्य, हिमाल, जीवन, संस्कृति, जीवित देवी कुमारी आदि यहाँका जीवन्त पर्यटनका उदाहरण हुन् । हामीले आफ्नो मौलिकता बेच्नुपर्छ । अरुको नक्कल नगरी पर्यटक भित्र्याउन सक्छौं । विदेशी नक्कल गरियो भने पर्यटनबाट नेपाली आत्मा हराउँछ । त्यसैले हरेक पर्यटन व्यवसायीले स्थानीय सामग्री, खाना र वास्तुकलामा ध्यान दिनुपर्छ । मैले र मेरो परिवारले सञ्चालन गरेका १५ वटा होटल अन्य भन्दा फरक भएकै विदेशीको नक्कल नगर्नाले हो । हिमाल त संसारभर नै छन् । नेपालमै किन आउने ? यसको उपयुक्त जवाफ नेपालीपन र मुस्कान नै काफी छ ।

यसका लागि राज्यले नीति बनाउने, संरचना बनाउने, निजी क्षेत्रलाई सहजीकरण गर्ने र भएकै सेवासुविधाको बजारीकरण मात्रै गरिदिए पुग्छ । यसले यो क्षेत्रमा भएको क्षतिलाई छोटो समयमा नै पूर्ताल गर्न सक्छ।

यतिले मात्रै पर्यटन टिकाउन सकिदैन । पर्यटनमा दिगोपना प्रमुख विषय हो । हरेक होटल र रिसोर्टले ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्थानीय उत्पादनको प्रयोगमा जोड दिनुपर्छ । यसको अभ्यासले पर्यटनलाई केवल आर्थिक दृष्टिले होइन, नैतिक दृष्टिले पनि सबल बनाउँछ ।

भावको शक्ति

पर्यटन सबल बनाउने होटलको भवन नभएर कर्मचारी हो भन्ने मूल मन्त्रलाई पनि आत्मसाथ गर्नुपर्छ । तिनले गर्ने व्यवहारले पर्यटक लोभिनुपर्छ । राम्रो भावनाले पर्यटकको स्वागत सत्कार गरेमा उनीहरुको विश्वास बढ्छ ।

रिसेप्सनिस्टको मुस्कान, सेफको स्वाद, सफा कोठा, मुस्कानसहितको सेवा नै होटलको पहिचान हुन । यस्तो भाव भएका होटलमा तलबले होइन, प्रेरणाले काम गर्न सक्ने वातावरण बन्छ । पर्यटन सबलीकरणको मूल मन्त्र यही हो ।

होटल व्यवसायीले कर्मचारीलाई तलब दिन सक्छन् । तर गर्व र आत्मसम्मान दिन सक्दैनन् । आत्मसम्मानबिना सेवाले दीर्घकाल पछ्याउँदैन । पर्यटक तान्न ठूला भवन चाहिँदैन । तर सफा भावना चाहिँ अनिवार्य छ । पर्यटक आएपछि राख्ने ठाउँ बनाउँदै जाँदा चुली भवन देखिएका हुन् । वास्तवमा हिमालमा, पदयात्रामा, होमस्टेमा, साहसिक पर्यटनमा पर्यटकले विलासिता खोजेकै हुँदैनन् ।

सबलीकरणको सवाल

पर्यटन सबलीकरणका लागि सरकार, निजी क्षेत्र र समुदायबीचको साझेदारी चाहिन्छ । सरकारले पूर्वाधार बनाइदिने र निजी क्षेत्रले गरेका लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ । निजी क्षेत्रले सेवाको गुणस्तर र पारदर्शितामा ध्यान दिनुपर्छ भने समुदायले आत्मीयतासहितको आतिथ्य दिनुपर्छ । यसो गरेमा पर्यटकको बृद्धि हुन्छ ।

पर्यटन सवलीकरण गर्न पर्यटक आउने सहजता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । क्षमता सकिएको त्रिभुवन विमानस्थलमा मात्रै भर परेर हुँदैन । त्रिभुवन विमानस्थलबाट वार्षिक ५० औं लाख अन्तर्राष्ट्रिय यात्रुको आवागमन हुँदा त्यसमध्ये पर्यटक मुश्किलले १०/११ लाख मात्रै हो । अपवाद स्वरुसन् २०१९ मा १२ लाख पुग्नु बेग्लै कुरा हो । हामीले ५० लाख पर्यटक ल्याउने भन्छौ । तर ल्याउने बाटो कुन हो ? दिने सेवा कसरी हो ? कसैलाई थाहा छैन । यति ठूलो प्रश्नको उत्तर कोहीसँग छैन । सरकार गम्भीर छैन ।

नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न नयाँ सोच बनाउनै पर्छ । जसरी देशमा आन्तरिक द्वन्द्व हुँदा पनि हामी पर्यटन व्यवसायीले सरकारको साथ छोडेनौं । बरु, लगानी बढाउँदै गयौ । त्यसरी नै अब पनि काम गर्नुपर्छ । नेपालको पर्यटन प्रवद्र्धनको लागि पर्यटन बोर्डले धेरै काम गर्न सक्छ । सरकारले बोर्डलाई सहजीकरण गरेर काम गर्न दिनुपर्छ ।

पर्यटन प्रवर्द्धनको अभियान गरिरहनुपर्छ । पर्यटन भनेकै संसारमा हल्लाखल्ला गरेर गर्ने व्यवसाय हो । यस अघि दिएको भन्दा बढी अधिकार, स्वतन्त्रता, सहजता र कानूनी बाटो खोलेर बोर्डलाई प्रवर्द्धनको जिम्मा दिएर खर्चालु पर्यटकलाई लोभ्याउनुपर्छ ।

राष्ट्रिय ध्वजाबाहकमा ६ दशकदेखि राजनीति मात्रै भइरहेको छ । यसलाई काम गर्न दिने, सवलीकरण गर्ने, विदेशी वायुसेवा सरह प्रतिस्पर्धी बनाउने, अन्तर्राष्ट्रिय जगतमा निगमलाई पुर्‍याउँने एउटै मात्र मिसन र भिजन सरकारले बनाउनुपर्छ । जबसम्म नेपाल वायुसेवा निगम बलियो हुँदैन तबसम्म हामीले जति हल्ला गरेपनि गुणस्तरीय पर्यटक अरु वायुसेवाले ल्याइदिँदैनन् ।

पर्यटन व्यवसायलाई सरकारले नियमनसम्म गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । अवको १० वा २० वर्षमा कति पर्यटक ल्याउने भन्ने भिजन र मिसनमा सबै लागे नेपालको पर्यटन भविष्य उज्वल छ ।

कर्ण शाक्य, पर्यटन व्यवसायी हुनहुन्छ । यो बिचार नेपाल आर्थिक पत्रकार समाजद्वारा २९औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘अर्थनीति’ सेजन स्मारिका २०८२ बाट साभार गरिएको हो ।