२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा शुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताउनु भयो । लाखौँको संख्यामा नेता, कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताउनु भयो । असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताउनु भयो । महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताउनु भयो । बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पनन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा कतिपय बाँकी रहेका कामहरु तत्काल सम्पन्न गर्ने, आर्थिक पाटोको व्यवस्थापन गर्ने सम्बन्धमा पनि केही समितिसँग जोडिएका कामहरु छन्, त्यो व्यवस्थित गर्नुपर्नेछ । मुख्यतया हामीले २७ गतेको उद्घाटन समारोहलाई असाध्यै विशाल र भव्य जनमासका साथ सम्पन्न गर्ने उद्देश्य राखेका छौँ । जन परिचालनलाई मुख्य प्राथिमकता दिनेकुरा आजको बैठकमा छलफल भएको छ । यो पटकको महाधिवेशनमा वाह्य देशबाट विदेशी पाहुनाहरुको हकमा भौतिक रुपमा उहाँहरुलाई आमन्त्रित गरेका छैनौँ । उहाँहरुबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरुलाई त्यसरी पत्राचार गरेका छौँ । विभिन्न देशका हाम्रो पार्टी संवद्ध रहेका २६ वटा पार्टीहरु, र ननकम्युनिष्ट पार्टीहरुलाई निमन्त्रणा पठाएका छौँ । नेपालका १६ वटा दलहरुलाई पत्राचार गरेका छौँ । जनपरिचालनमा लाखौँको संख्यामा आम नागरिकहरु आउने क्रम जारी छ । २७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरको सन्देश संवैधानिक लोकतान्त्रिक फ्रन्टमा उभ्याउनका लागि नेकपा एमालेमार्फत नेपाली जनताहरु यसका पक्षमा छन् । असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येय राखेका छौँ । १०८ जना मनोनितसहित २२ सय ६८ कुल प्रतिनिधि हुनुहुनेछ । लाखौँ नेपाली जनताहरुको सहभागितामा यो महाधिवेशन भव्यताकासाथ सम्पन्न हुनेछ ।’

उहाँले नेकपा एमालेले युवाहरुलाई महत्वपूर्ण स्थान दिने बताउनु भयो । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको बताउनु भयो ।