४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाधिवेशनका केही प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी गम्भीर संकटको सामना गरिरहेको भन्दै उनीहरुले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सक्ने नेतृत्व चुनिनुपर्ने समेत धारणा राखे । पार्टी केन्द्रीय सदस्य समेत रहेकी महाधिवेशन प्रतिनिधि सूर्यकुमारी श्रेष्ठले एमाले विशाल पार्टी भएको कारण महाधिवेशनमार्फत नेतृत्व जाने नेताहरुको आकांक्षा स्वभाविक रहेको बताउनु भयो । उहाँले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा एकताका लागि सर्वसम्मत नेतृत्व उपयुक्त हुने बताउनु भयो । यद्यपि लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुनु पनि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई एकढिक्का र बलियो बनाएर अगाडि बढ्ने नेतृत्व चाहिन्छ । एमाले एउटा विशाल पार्टी हो । यो एउटा समून्द्र हो । त्यसकारण महाधिवेशनमार्फत नेतृत्वमा जान चाहनु स्वभाविकै हो । तर अहिले चौतर्फी रुपमा पार्टीमाथि घेराबन्दी भइरहेको बेलामा पार्टीको हित र पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानको लागि केपी शर्मा ओलीलाई सर्वसम्मतीका साथ नेतृत्व दिनुपथ्र्यो । तर मतदानमार्फत नेतृत्व चुन्ने कुराहरु पनि आइरहेको छ । लोकतान्त्रिक पद्धतीमार्फत नेतृत्व चयन गर्ने कुरा पनि सकारात्मक नै छ ।’

महाधिवेशन प्रतिनिधि चक्रप्रसाद स्नेही रसाइलीले पार्टीमा व्यक्तिभन्दा विचारको नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीमा विचारभन्दा व्यक्ति हाबी भए पार्टी र मुलुक समेत ठिक ठाउँमा पुग्न नसक्ने बताउनु भयो । उहाँले महाधिवेशनमा मत विभाजन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताउनु भयो । पार्टीमा मतविभाजन नभए नेतृत्व निरङ्कुश हुनसक्ने उहाँको बुझाई छ ।  उहाँले भन्नुभयो, ‘पार्टीमा व्यक्तिको भन्दा विचारको नेतृत्व हुनुपर्छ । कहिल्यै पनि व्यक्तिको नेतृत्व हुदैन र हुनुहुदैन । यो महाधिवेशन हो, महाधिवेशनमा मत विभाजन भएन भने निरङ्कुशता हुन्छ । एकल निर्णय जस्तो हुन्छ त्यसकारण मत विभाजनलाई अन्यथा लिनु हुदैन ।’

पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टी अहिले संकटको अवस्थामा रहेको भन्दै सामुहिक नेतृत्व प्रणाली आवश्यक भएको धारणा राख्नुभयो । उहाँले परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको समयमा एकल नेतृत्व पर्याप्त नहुने उल्लेख गर्दै विचारको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टी व्यक्तिगत आधारमा चल्न नसक्ने उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘पार्टी अहिले संकटको अवस्थामा छ । यो बेलामा सामूहिक नेतृत्व प्रणालीलाई अंगिकार गर्ने, सबैको अस्तित्वलाई स्वीकार गर्ने, सम्पूर्ण कार्यकर्ताको भावनालाई बुझेर अगाडि बढ्न सक्ने सबल र सक्षम नेतृत्व आवश्यक छ । अहिले आम मान्छेले परिवर्तन खोजिरहेको बेला छ । पुस्तान्तरणको प्रश्न पनि उठेको समय छ । एकल नेतृत्वले हुँदैन, सामुहिक नेतृत्व चाहिन्छ भन्ने आउँछ । तदअनुसारको नेतृत्व निर्माणमा महाधिवेशन लाग्नुपर्छ जस्तो लाग्छ । पार्टीमा जहिले पनि नेतृत्व विचारको हुन्छ । झन कम्युनिष्ट पार्टी त व्यक्तिगत आधारमा चल्नै सक्दैन ।’

महाधिवेशन प्रतिनिधि विदुर चालिसेले कार्यकर्तामा देखिएको मतभेद रोक्न नेतृत्व स्वयं जिम्मेवार र परिपक्व हुनुपर्ने धारणा राख्नुभयो । नेतृत्वको वरिपरि मात्र घुम्ने प्रवृत्ति निस्तेज पार्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको बुझाई छ ।  उहाँले भन्नुभयो, ‘कार्यकर्तामा देखिएको मतभेद रोक्नको लागि सबैभन्दा पहिले नेतृत्व तयार हुनुप¥यो । नेतृत्वले आफ्नो परिपरि घुम्ने जुन माखा प्रवृीत्त छ त्यसलाई निस्तेज पार्नको लागि नेतृत्वले निकै मेहेनत  गर्नुपर्छ जस्तो लाग्छ । त्यस्तो नगरेकै कारणले अहिले परिस्थितिहरु जन्मेका हुन् ।’

पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको मार्गदर्शन विचारले गर्ने भएपनि नेतृत्वमा व्यवहारिक गुण र क्षमता पनि आवश्यक हुने बताउनु भयो । उहाँले विचार, सिद्धान्त र दृष्टिकोणबिनाको नेतृत्व दिशाहीन हुने तर्क गर्नुभयो । उहाँले पार्टीले विधान महाधिवेशनमार्फत नीति पारित गरिसकेको उल्लेख गर्दै सोअनुरुप अगाडि बढ्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, ‘पार्टीको नेतृत्व विचार र व्यक्ति दुवै कुराको हुन्छ । तर मुख्य कुरा पार्टीलाई गाइड गर्ने कुरा विचार नै हो । यदि विचार, सिद्धान्त र दृष्टिकोण छैन भने नेतृत्व कुइराको काग जस्ता हुन्छ । त्यसकारण विचार प्रधान हो । त्यसैगरी नेतृत्वमा विषेशता र गुणहरु पनि चाहिन्छन् । त्यसकारण विचार र व्यवहारिकता दुवै आवश्यक छ ।’

पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले महाधिवेशनले पार्टीको विधान महाधिवेशनले नीति, विधि र विधान पारित गरिसकेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादका सिद्धान्तअनुसार अघि बढ्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो विधि र नीति विधान महाधिवेशनले नै पारित गरिसक्यो । मुलुकका लागि जनताको बहुदलीय जनवाद, माक्सवाद, लेनिनवादका सिद्धान्त अनुपालन गर्नेगरी अगाडि बढेर पार्टीलाई राष्ट्रिय शक्तिको रुपमा विकास गरेर समाजवादको गन्तव्यमा जाने नीति पारित गरेको छ । सोहीअनुसार अघि बढ्ने नेतृत्व आजको आवश्यकता हो ।’

कोशी प्रदेश सचिवालय सदस्य विनादेवी राईले एमालेजस्तो ठूलो पार्टीमा मत र मन र विभाजन हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले सके सर्वसम्मत नभए लोकतान्त्रिक विधिमार्फत चुनिएको नेतृत्वले पार्टी र देशको हितमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ ।
उहाँले भन्नुभयो, ‘ठुलो पार्टी भएको कारणले र मत विभाजन हुनु स्वभाविक नै हो । त्यसलाई हामीले अन्यथा लिनु हुदैन । सकेसम्म सर्वसम्मत बनाउने प्रयासमा नेताहरु रहेको देखिन्छ । यदि त्यसो हुन सकेन भने लोकतान्त्रिक विधि अपनाएर भएपनि त्यसमार्फत चुनिने नेतृत्वले पार्टी रदेशको लागिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो विचार छ ।’

नेकपा (एमाले)११ औं राष्ट्रिय महाधिवेशनको तयारी चरणमा छ । पार्टीको ११ औं राष्ट्रिय महाधिवेश यही मंसिर २७–२९ गते हुँदैछ ।