८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने, कस्तो छ तयारी ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले फागुन १५ गते पार्टीको वाग्मती प्रदेशको प्रशिक्षण कार्यक्रममा भनेका थिए– ‘म केही दिनमै मिर्गौला प्रत्यारोपण गर्दै छु। पाँच दिन अस्पताल बस्छु। छैटौं दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु।’ उनले त्यसको तीन दिनमै प्रत्यारोपणको मिति अप्रत्याशित रूपमा तय गरेका छन्। ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको छ। उनी सोमबार अस्पताल भर्ना हुँदै छन्। त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

‘उहाँ स्वस्थ हुनुहुन्छ। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएको छ’, उनले भने। प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा, रगतको जाँच गरिएको थियो। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकसँग छलफल भएको थियो। पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो। त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्यासिंह शाहले प्रत्यारोपणको संयोजन गरिरहेकी छन्। प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा. शाह स्वदेशी एवं विदेशी चिकित्सकसँग परामर्शमा छिन्।

ओलीको स्वास्थ्य रिपोर्ट आइतबार बालुवाटार पठाइएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले बताए। ‘सबै रिपोर्ट आजै (आइतबार) पठाइएको छ। प्रत्यारोपण गर्न सकिने अवस्था छ’, उनले भने। उनका अनुसार प्रत्यारोपणमा विदेशी चिकित्सकसमेत संलग्न हुने सम्भावना छ। ‘विदेशी विज्ञ पनि ल्याउने सम्बन्धमा डा. दिव्यासिंह शाहले नै समन्वय गर्नुभएको छ’, उनले भने।

छैन विशेष तयारी: त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गालाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने विषयमा औपचारिक जानकारी छैन। यसबारे मिडियाबाट थाहा पाएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीज्यूले मिर्गौला प्रत्यारोपणको तयारीबारे पार्टीमा जानकारी गराउनुभएको रहेछ’, निर्देशक डा. खड्गाले भने, ‘त्यहाँबाट मिडियालाई जानकारी दिएपछि मैले थाहा पाएको हुँ।’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दा चिकित्सकको टिम तयार पार्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्री कार्यालय र परिवारका सदस्य कसैले पनि अस्पतालमा भर्ना हुनेबारे केही जानकारी दिनुभएको छैन’, उनले भने, ‘औपचारिक ढंगले लिखित वा मौखिक रूपमा केही बताइएको छैन, गाइँगुइँ हल्ला सुनेको हुँ।’

अस्पताल तयारी अवस्थामा भने रहेको उनले सुनाए। हरेक बुधबार प्रत्यारोपण गरिँदै आएकाले प्रधानमन्त्रीका लागि विशेष तयारी नगरिएको उनको भनाइ छ। ‘हामीले हरेक साता प्रत्यारोपण गरिरहेका हुन्छौं’, उनले भने, ‘विशेष तयारी गर्नै पर्दैन।’

कसरी बढ्यो आँट ?

‘हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण आवश्यक परेमा नेपालमै गर्न दृढ हुनुहुन्छ।’ वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीले गत मंसिर ३ मा फेसबुकमा लेखेका थिए। त्यहीअनुरूप प्रधानमन्त्री ओली स्वदेशमै प्रत्यारोपण गर्न तयार देखिएका छन्। भारतमा मिर्गौला प्रत्यारोपणपछि उनी अन्य उपचारका लागि सिंगापुर जाने गरेका थिए। चिकित्सकले उनको दोस्रो पटकको प्रत्यारोपण स्वदेशमै गर्ने आँट देखाएका छन्। ७ सयभन्दा बढी सफल प्रत्यारोपण गरिएकाले आँट आएको निर्देशक डा. खड्गाको भनाइ छ। ‘हरेक बुधबारलाई मिर्गौला प्रत्यारोपण डेका रूपमा लिएका छौं। त्यही भएर प्रधानमन्त्रीज्यूको प्रत्यारोपण पनि बुधबार गर्ने निर्णय गरिएको हुन सक्छ’, उनले भने।

प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहन्छ। नेफ्रोलोजी विभाग प्रमुखमा डा. शाह छिन्। उनको टिममा डा. महेश सिग्देल, डा. मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्राडा. उत्तम शर्मा, डा. ज्ञवाली, भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।नेफ्रोलोजी र युरोलोजीको समन्वयमा प्रत्यारोपण हुँदै आएको निर्देशक डा. खड्गाले बताए। ‘नेफ्रोलोजी विभागका चिकित्सकले तारतम्य मिलाइदिन्छन्। त्यसपछि युरोलोजी विभागका चिकित्सकले शल्यक्रिया गर्छन्’, उनले भने। सुरुआतका बेला प्रत्यारोपणका लागि विदेशी चिकित्सक आए पनि पछिल्लो समय बोलाइएको छैन।

त्रिवि शिक्षणमा गरिएको प्रत्यारोपण ९८.७ प्रतिशतभन्दा बढी सफल रहेको जनाइएको छ। एकै व्यक्तिको मिर्गौला प्रत्यारोपण धेरै पटक गरेको अनुभव चिकित्सकसँग छ। दोस्रो पटक प्रत्यारोपण गरेका व्यक्ति १० भन्दा बढी रहेको अस्पतालले जनाएको छ। उनीहरूको मिर्गौलाले सफल रूपमा काम गरिरहेको जनाइएको छ। डा. शाह र डा. ज्ञवाली संलग्न टिमले ग्रान्डीमा पनि प्रत्यारोपण गरेको छ। ग्रान्डीका मेडिकल निर्देशक डा. पाण्डेका अनुसार त्यहाँ ५७ जनाको प्रत्यारोपण गरिएको छ। ‘अन्यत्र प्रत्यारोपण गर्दा विफल भएका घटना पनि यहाँ सफल भएका उदाहरण छन्’, उनले भने। विभिन्न सरकारी एवं निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ। १ हजार ५ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको तथ्यांक छ। अन्नपुर्णपोष्ट दैनिक