काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि योगदान गर्ने मानवअधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।
आयोगका दिवङ्गत कर्मचारी स्व दयाराम परियारको नाममा स्थापित ‘स्व दयाराम परियार स्मृति सम्मान– २०८२’, मानवअधिकार विशेषतः आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रूपमा कार्यरत शङ्कर लिम्बू (इलाम) लाई प्रदान गरिने भएको छ ।
यसैगरी, दुर्गममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरूका सवाललाई जुझारु रूपमा उठान गर्ने पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई यस वर्षको मानवअधिकार पुरस्कार–२०८२ प्रदान गरिने भएको छ ।
आयोगका माननीय सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसमा आयोगको आज बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
मानवअधिकार सम्मान र पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । आयोगले उक्त सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर)को कार्यक्रममा प्रदान गर्ने जनाएको छ । रासस










