८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको शल्यक्रिया ९ बजेदेखि सुरु, चिकित्सकहरू भन्छन् प्रधानमन्त्रीमा उच्च मनोबल



अ+ अ-

प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा. ज्ञवालीले बताए ।

पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ । प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए । चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने ।

स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए । प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्नुअघि मुख्य रूपमा मुटु हेरिन्छ ।

‘प्रत्यारोपण सफल–असफल हुने मुटुले निर्धारण गर्छ । प्रधानमन्त्रीको सबै स्वास्थ्य ठीक भएकाले प्रत्यारोपण गर्न लागिएको हो,’ काफ्ले भने । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जिकल टिममा डा. ज्ञवाली र डा. शर्माबाहेक डा. पवन चालिसे, डा. सुमन चापागाईं पनि छन् । भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहनेछन् । त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपाली छन् । एनेसथेसियासहित क्रिटिकल केयरमा डा. सुवास आचार्र्य र डा. अनिल श्रेष्ठ खटिएका छन् । पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ ।

त्यस्तै, कलेजोमा समस्या देखिए डा. रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा. सन्तकुमार दास र मुटुमा समस्या देखिए डा. अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् । शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियापछि उनलाई नियमित आइसियूमा नराखेर कलेजो प्रत्यारोपण युनिटकै आइसियूमा राखिनेछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले केहीबेर ओलीसँग कुरा गरेका थिए ।

त्यसअघि अस्पताल पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको उपचारबारे कुनै पनि सूचना बाहिर नदिने निर्णय भएको छ । मंगलबारदेखि प्रत्यारोपण टिमबाहेक अरूलाई कलेजो प्रत्यारोपण युनिटमा प्रवेशमै रोक लगाइएको छ । प्रत्यारोपण सम्पन्न भएपछि भने अस्पतालले प्रत्येक दिन विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेछ । तर, चिकित्सकहरूले पत्रकारसँग सवाल–जवाफ भने गर्नेछैनन् । नयाँ पत्रिका दैनिक