काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग–एनपीएलअन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन् । तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ । दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।
यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ । यो सिजन दुई खेलमा रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
सन्दीप लामिछाने सर्वाधिक विकेट टेकरको रुपमा शीर्ष स्थानमा छन् । उनले दुई खेल खेल्दा सात विकेट हात पारेका छन् ।
विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन । पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो । अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा छ ।
चितवन भने तालिकाको पाँचौं स्थानमा छ । पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको हो ।
दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा हुनेछ । विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ ।










