३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ गतेको प्रतिक्रियाले २४ गते भयो भन्ने तर्क उचित होइन, २३ गतेको घटना आफैँ ‘षड्यन्त्रको उपज’



अ+ अ-

आज देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । यस अप्ठ्यारो अवस्थालाई फेरि सहज अवस्थामा फर्काउन नेकपा एमाले प्रतिबद्ध छ । त्यही प्रतिबद्धता र संकल्प जनाउन हामीले यस र्‍याली र सभाको माध्यमबाट आफ्नो अभियान प्रारम्भ गरेका छौं ।

हामी भन्न चाहन्छौं –नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री हुन, प्रधानमन्त्री हुनका लागि बनाइएको पार्टी होइन । यो पार्टी यस देशको सार्वभौमसत्ताको, स्वाधीनता र स्वतन्त्रताको, यस देशको भौगोलिक अखण्डताको, यस देशका जायज हितहरूको र यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो ।

यो पार्टी देशमा शान्ति सुव्यवस्था कायम भएको, लोकतान्त्रिक प्रणाली स्थापना, त्यसको प्रयोग र विकासका लागि बनेको पार्टी हो । देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र जनतालाई सहज ढंगले सेवा/ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सुशासनयुक्त समाज, शान्तिपूर्ण समाज निर्माणका लागि बनेको पार्टी हो । यो सुशासन र विकासको माध्यमबाट देशलाई समृद्ध नेपाल र सुखी नेपालीको अवस्थामा पुर्‍याउने संकल्पका साथ अगाडि बढिरहेको पार्टी हो ।

म भन्न चाहन्छु– यस देशमा नेकपा एमाले छ, सबैले बुझ्नु पर्दछ । यी उद्देश्यहरू बोकेको, यी उद्देश्यहरू कहिल्यै पनि नफ्याँकने, महान् उद्देश्यहरूको, राष्ट्रिय उद्देश्यहरूको झण्डा अझमाथि उठाउँदै जाने पार्टी नेकपा एमाले यस देशमा छ । तसर्थ, कसैले कुनै हिसाबले, कुनै तरिकाले, अवैध र असंवैधानिक ढंगले, अलोकतान्त्रिक ढंगले, असामाजिक ढंगले यस देशमा कुनै गडबडी मच्चाएर एकछिन्का लागि सत्ता कब्जा गरिहाल्यो भने पनि, सरकार कब्जा गरिहाल्यो भने पनि हामी त्यस अवस्थालाई फेरि लोकतान्त्रिक प्रणालीमा फर्काएर छाड्छौं, फेरि संवैधानिक बाटोमा फर्काएर छोड्दछौं ।

मिचिएको संविधानलाई नमिचिने स्थितिमा फेरि फर्काएर छोड्छौं । मिचिएको र अस्वीकार गरिएको लोकतन्त्रलाई फेरि फर्काएर ल्याउँछौं । अराजकताको राज धेरै लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्दछ । नेकपा एमाले नेपाली जनताको पार्टी हो । जनताको साथमा छ । जनतालाई नेतृत्व गर्छ । जनताको अगाडि लागेर यसले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई अगाडि बढाउँछ । देशमा शान्ति कायम गर्छ । हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधानअनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ ।

लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रियाबाट नबनेको सरकार छ । त्यस लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकार अवैधानिक, असंवैधानिक र कृत्रिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हो । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनै पर्दछ ।

संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउ नै सक्दैन । ‘कोर्ट’ले यसलाई उचित ठहर्‍याउने ठाउँ नै छैन । यो अनुचित, असंवैधानिक र अलोकतान्त्रिक सरकार हो । यसको उत्पत्ति नै गलत बाटोबाट र असंवैधानिक बाटोबाट भएको छ । त्यसकारण हामी यी सबै राष्ट्रिय समस्याको समाधान सही ढंगले होस् भन्ने कुरा चाहन्छौं र हुनेछ ।

यस कामको अगुवाई र यस कामको नेतृत्व नेकपा एमालेले गर्नेछ, त्यो मैले अघि नै पनि भनेँ । नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ । जेएनजी भन्ने एउटा ‘आर्टिफिसियल’ शब्द अगाडि सारियो । दुनियाँका विभिन्न देशमा र भागमा जेएनजी नामको अश्वभाविक एउटा शब्द निकालिएको छ ।

कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेएनजी पुस्ता भन्ने गरेको छ । यो आफैँमा कृत्रिम र अयथार्थ कुरा हो । यसरी जेएनजीका नाममा युवाहरूलाई दिग्भ्रमित पार्ने र उनीहरुको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो । भ्रष्टाचारका विरुद्ध हामी लडिरहेका थियौंं । सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौंं ।

देशमा वाक्, प्रकाशन र प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर अडिरहेका थियौं । त्यस्तो बेलामा हामीले हाम्रो देशको संविधान र हाम्रो देशको कानून मानेर कुनै पनि व्यवसायिक अन्तर्राष्ट्रिय संस्थाहरू नेपालमा काम गर्नुपर्छ भनेर डेढ वर्षभन्दा अगाडिदेखि प्रयासरत रह्यौं । तर, असम्झदारीले होस् जेसुकैले होस् राष्ट्रिय स्वाभिमानलाई नजरअन्दाज गर्ने र होच्याउने खालका प्रवृत्ति देखेपछि हामीले त्यसलाई स्वाभाविक रूपमा राष्ट्रको स्वाभिमान, संविधान र कानून बमोजिम सबै चलौं भनेर एउटा नियमनको प्रक्रिया अगाडि बढायौं ।

सम्मानित सर्वोच्च अदालतले पनि यसो गर्नु भन्ने आदेश सरकारलाई दिएको थियो । त्यसअनुसार हामीले व्यवसायिक संस्थालाई ध्यानाकर्षण गराउनका लागि नियमन गर्ने कदम अगाडि सार्‍यौं । त्यसलाई पनि दुरुपयोग गर्न खोजियो । जेएनजीका मुख्य मागहरु यिनै थिए, जसलाई हामी सर्वाधिक पक्षपोषण गरिरहेका थियौं, त्यसका निम्ति क्रियाशील थियौं । जे होस्, विद्यार्थी भाइ बहिनीहरुलाई, युवाहरूलाई जेएनजीका नाममा आन्दोलनका लागि उकासियो, हामीले त्यसलाई समर्थन गर्‍यौं । त्यसको विरोध गरेनौं हामीले, तर भदौ २३ गते त्यस जेएनजीका नामको आन्दोलनको पछाडि जेएनजीहरुलाई थाहा भएन ‘षड्यन्त्र लुकेको’ थियो ।

त्यो षड्यन्त्र माइतीघर मण्डलबाट एभरेस्ट अगाडि पुग्दासम्ममा षड्यन्त्र प्रकट भयो र जेएनजीका माग, जेएनजीको आन्दोलन, जेएनजीका उद्देश्य सबै कुरा अपहरित भए, खोसिए र अरू नै तत्त्वहरुले त्यसलाई अगाडि बढाए । त्यसपछिका घटना षड्यन्त्रका उपज हुन सबै । निर्वाद देश कसरी जल्यो ?निर्वाद जनप्रतिनिधि संस्था कसरी जले ? निर्वाद राज्यका अंगका हेडक्वार्टरहरू कसरी जले ? निर्वाद एमालेका कार्यालयहरू कसरी जले ? एमाले नेता, कार्यकर्ताका घर,जनप्रतिनिधिहरूका घर छानिछानीकन कसरी जलाइए ? अगाडिदेखि म्यापिंग गरेर, गुगल म्याप दिएर यहाँ यहाँ घर छन् भन्ने तयारीका साथ कसरी जलाइए ? जलाउने, भत्काउने, तोडफोड गर्ने सामग्री सबै कुराको तयारीका साथ यी सबै कसरी भए ? २३ गतेको प्रतिक्रियाले २४ गते भयो भन्ने तर्क उचित होइन । २३ गतेको घटना आफैँ ‘षड्यन्त्रको उपज’ थियो । त्यसकारण पर्खाल फोड्ने र फलाम काट्ने आदि औजारहरू लिएर उपस्थित भएका थिए मानिसहरू, भिडियोमा देख्न सकिन्छ । अहिले पनि ती सुरक्षित छन् ।

अर्थात् त्यो एउटा षड्यन्त्रको उपज थियो । त्यस षड्यन्त्रलाई पराजित गर्न राष्ट्र एकजुट हुनुपर्दथ्यो । शान्तिको पक्षमा एकजुट हुनुपर्दथ्यो । तर त्यस्तो भएन । त्यस्तो देखिएन । सञ्चारकर्मी मित्रहरूले, सञ्चार माध्यमहरूले यस्तै दिन आउला भनेर सोच्नु भएन । एउटा नकारात्मक खालको प्रभाव फैलाउने र त्यसमा बग्ने, त्यस प्रकारका प्रवृत्तिहरू राष्ट्रव्यापी रूपमा विस्तृत गर्न खोजिए, फैलाइए र त्यसको प्रभाव पनि पर्‍यो ।

अहिले प्रेसले आफैँलाई नियन्त्रण गर्नुपर्ने अवस्था भएको छ । धम्की आउँछ । धम्कीको, त्रासको र अराजकताको राज चलाउन खोजिएको छ । अहिले काम गर्न नसक्ने भ्रष्टाचारमा लछप्प डुबेको यो सरकार, नक्कली सरकार हो । यो सरकारले जेएनजीका नाममा केही मानिसहरूलाई बोलाएर आफैँले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने, आफूलाई दबाव दिने वातावरणका लागि तालिम दिइदिइकन मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने खालका कामहरू गरिरहेको छ ।

सुशासनका नाममा कस्तो सुशासन खोजेको छ ? बारामा एमालेले एउटा युवा भेला गर्न खोज्यो । युवा भेला गर्न नदिन जेएनजीका नाममा माओवादी, रास्वपा, राप्रपा लगायतका हिन्दुवादी भनिएका विभिन्न खालका अवाञ्छित तत्त्वहरूले हमला गरे । अरुको आवागमनमा र शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ ? तर दखल दिने कोसिस भयो । उनीहरूले एयरपोर्टको गेट, हाम्रो पार्टीका नेताहरू त्यहाँ सम्बोधन गर्न जानुहुन्छ भनेर एयरपोर्टमा हमला गरे/गराइयो । काठमाडौँबाट प्लेन उड्न दिइएन । त्यो नेताहरू रोक्ने षड्यन्त्र बाहेक केही पनि होइन । त्यो कार्यक्रमलाई फिक्का पार्ने षड्यन्त्र बाहेक केही पनि होइन । यस्ता कामहरू नगर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । अरु पक्षहरूलाई पनि म भन्न चाहन्छु, नेकपा एमालेलाई उत्तेजित बनाउने काम नगर्नुस् ।

नेकपा एमालेलाई जिस्क्याउने काम नगर्नुस् । तपाईंहरू यो भन्दा बढी आक्रमण लोकतन्त्रमाथि गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस् । अब जे गर्नुभयो गर्नुभयो, अब यो भन्दा बढी अगाडि बढ्छु भन्ने ठान्नु भयो भने तपाईंहरूका लागि पनि हितकर हुने छैन, म सचेत गराउन चाहन्छु । त्यसर्थ, हामी लोकतन्त्रको पुन: स्थापनाका लागि, संविधानको पुन: कार्यान्वयनका लागि, राज्यका सबै अंगले आ–आफ्नो काम गर्न पाउनका लागि सरकारलाई हस्तक्षेप नगर्न म सुझाव दिन चाहन्छु । हस्तक्षेप गर्न मिल्दैन ।

एमालेमाथि हमला गर्दा जेएनजीलाई सघाएन भनेर एसपी तुरुन्त तानियो । तमासा होइन यो राज्य सञ्चालनको ? के चलाउनुहुन्छ तपाईंहरुले राज्य ? त्यहाँ कुनै जेएनजी आएको थिएन । एमालेको कार्यक्रममाथि आक्रमण गर्न, एयरपोर्ट बन्द गराउने नाटक गर्न कुनै जेएनजी आएको थिएन । कुन कुन पृष्ठभूमिका को को व्यक्ति आएका थिए, जेएनजी होइन । अरू नै प्रकारका अराजक तत्वहरू आएका थिए । शान्ति खल्बल्याउने तत्त्वहरू आएका थिए । त्यसलाई सरकारले रोक्नुपर्ने ठाउँमा भिडन्त गर्न, आक्रमण गर्न प्रहरीले सहयोग गरेन भनेर एसपी तानिन्छ र अर्को एसपी पठान्छ । अनि प्रहरीले के काम गर्छ ? के काम गर्ने ? प्रहरीले के जेएनजी भएर एमालेका विरुद्ध आइदिनु पर्ने ? म यो सरकार, जो जेएनजी सरकार भन्छ, जेएनजीहरूले आफैँ भनेका छन्, सम्माननीय राष्ट्रपतिज्यू कहाँ डेलिगेशन गएर भनेका छन्, ‘यो सरकार हाम्रो सरकार होइन, यसलाई हटाउनु पर्‍यो’ भनेर जेएनजीहरूले माग गरेका छन् ।

राष्ट्रपतिज्यू, अस्ति अस्ति जेएनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त, जेएनजीका मागअनुसार यो सरकार किन बिदा गर्नुहुन्न ? किन हटाउनु हुन्न ? हटाउनुस् । संविधानले दिँदैन भन्नुहुन्छ भने संविधानले अस्ति कहाँ दिएको थियो ? अस्ति पनि संविधानले नदिएकै त गरेको हो । अब यो संविधानअनुसार नबनेको असंवैधानिक चिजलाई तपाईंले हटाउनलाई के ले रोक्यो ? त्यसो भएर अब कुनै नाटक गरेर देश चल्नेवाला छैन । फागुन २१ मा निर्वाचन यो सरकारले सोचेकै छैन त्यतापट्टि, भ्रम किन पाल्ने हामीले ? अहिले पनि नेताहरूलाई जान निषेध गर्ने, एयरपोर्ट बन्द गर्ने, १५–२० जना, ६० जना जेएनजीका नाममा केही हुल्लट तत्त्वहरू आउँछन्, गेट तानतुन पार्छन्, भत्काउँछन् एयरपोर्टको, त्यो नरोक्ने ! भोलिपल्ट प्रहरीलाई ढुङ्गा मुढा गरेर लखेट् छन् । प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन ।

सरकार एसपी फिर्ता बोलाउँछ ! पहिले नै भाग्नुपथ्र्यो, किन अबेला भागिस ? जेएनजीलाई पहिले नै छोड्नु पथ्र्यो, किनपछि मात्र छोडिस् ? त्यही आरोप होइन एसपी फर्काउनुको ? अब उहाँरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो । अब उहाँरूलाई अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, सशस्त्र प्रहरी पनि एमाले लाग्छ, कर्मचारी पनि एमाले लाग्छ । ‘रेबिज भएको एउटा जनावरले जतापति पानी देख्न थाल्छ ।’ यो त एएमालेमय देश हो । तपाईंहरु के गर्नुहुन्छ अब ? एमालेमय देश हो । एमालेले नेपाली सेनाका लागि काम गरेको छ । एमालेले प्रहरीका लागि काम गरेको छ । एमालेले प्रहरी जवानलाई दर्जाहीन अवस्थाबाट दर्जामा एमालेले उठाएको थियो । रासनको, पहिरनको, सबै कुराको सुबिधाको प्रबन्ध एमालेले गरेको थियो । नेपाली सेना कस्तो अवस्थामा थियो, बस्ने छाप्रो छैन, बङ्करमा बस्नु पथ्र्यो । ‘बङ्कर टु ब्यारेक’ भन्ने नारा नेकपा एमालेले दिएर बस्ने ठाउँसम्म, छाप्रोसम्म नेपाली सेनालाई एमालेले सारेको थियो । एमालेले सेनाका लागि, प्रहरीका लागि, कर्मचारीका लागि, किसानका लागि, मजदूरका लागि, नेपालीहरूका लागि सिंगै देशलाई विकसित र आधुनिकीकरण गर्ने बाटोमा अगाडि बढाएयो थियो । अनि तपाईंहरु झस्केर हुन्छ यतिबेला ? यतिबेला तर्सिएर हुन्छ ? नेकपा एमाले प्रिय छ सबैका लागि, त्यो त साँचो कुरा हो । सबैका लागि प्रिय छ ।

नेकपा एमाले देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि क्रियाशील छ । समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि, परिपूर्ण लोकतन्त्रको माध्यमबाट जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै, समृद्ध नेपाल, सुखी नेपाली बनाउने, त्यसका लागि निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई विकास गर्ने दृढ संकल्पमा छ । यो कुरा कतै लुकेको छ र ? यस संकल्पमा नेकपा एमाले अगाडि बढ्छ । यसैअनुसार आजको यो सभाको आयोजना भएको हो । आजको र्‍यालीको आवश्यता भएको हो ।

अब देशमा अभिलम्ब प्रतिनिधिसभाको अनधिकृत सिफारिसमा, असंवैधानिक सिफारिसमा र असंवैधानिक ढंगले भंग भएको प्रतिनिधिसभाको अभिलम्ब पुन:स्थापना हुनुपर्दछ र हुन्छ अब, अर्को बाटो छैन । त्यहीं बाटोबाट अब देश अगाडि बढ्ने छ । अर्को बाटो छैन । कसलाई मन पर्छ कि पर्दैन, को डराउँछ, कसको सातो जान्छ, त्यो वेग्लै कुरा हो । अब देशमा प्रतिनिधिसभाको पुनस्र्थापना एकमात्र सही समाधानको सही निष्कर्ष हो र यो एकमात्र बाटो हो । म देशभरी सबै साथीहरूलाई भन्न चाहन्छु, विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि अगाडि बढ्नुस् । नेकपा एमालेका सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरूलाई सबैलाई आग्रह गर्न चाहन्छु, खुलेर आत्मविश्वासका साथ यो बाटोमा विघटित प्रतिनिधिसभा, जो मैले अघि तीनवटा शब्द भने ।

एउटा अनधिकृत सिफारिस, सिफारिस भन्ने कुराको अर्थ नै छैन । किनभने त्यो अधिकार नभएको व्यक्तिले, अनधिकृत तरिकाले गरिएको सिफारिस हो । त्यसकारण त्यो अनधिकृत सिफारिस, असंवैधानिक सिफारिस, अलोकतान्त्रिक सिफारिसमा गलत ढंगले, असंवैधानिक ढंगले गरिएको विघटन र दवाबमा गरिएको विघटन हो । सम्माननीय राष्ट्रपतिज्यूसँग पनि नभएको अधिका र संविधानमा नभएको अधिकार प्रयोग गर्न पाइँदैन । त्यो प्रयोग गरेर अथवा बल मिच्याईका साथ, आगजनी, तोडफोड र लुटपाटका बलमा भंग गरिएको प्रतिनिधिसभा अभिलम्ब पुन: स्थापित हुन पर्दछ र देशलाई फेरि सही बाटोमा, लोकतान्त्रिक बाटोमा, संवैधानिक बाटोमा, शान्तिको बाटोमा र सुशासनको बाटोमा फर्काउनु पर्छ । विभिन्न काण्डहरूको जवाफ दिनु छैन । उल्टै मान्छे समाउँछु, गिरफ्तार गर्छु भनेको छ, थर्काएको छ, तर्साएको छ, गिरफ्तार गरेको छ ।

दुर्गा प्रसाईंको अरु के हो म जान्दिनँ । दुर्गा प्रसाईंले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ र प्रधानमन्त्रीले बताउनुपर्छ के हो त्यो क्यासेट ? प्रधानमन्त्री सुशिला कार्कीको आवाज हेलिकप्टर उडेको देखाएपछि, सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने ? किन बचाउने भनेको पूर्व प्रधानन्यायाधीश अहिलेका असंवैधानिक प्रधानमन्त्री सुशिला कार्कीजीको आवाज सुनिन्छ । त्यो के हो ? नेपाली जनतालाई बताउनुस् सुशिला कार्कीजी । बताउनु पर्‍यो नेपाली जनतालाई ।

तपाईं देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यो किन बाहिर ल्यायो क्यासेट भनेर मान्छे गिरफ्तार गरेर धर पाउनु हुन्छ ? मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनु पर्‍यो । गर्नुस् न, भन्नुस् न के हो त्यो ? कहाँ बसेर तपाईं आगलागी देश जलिरहेको हेरिरहनुभएको थियो ? कहाँ बसेर तपाईं मारकाटको पक्षपोषण गरिरहनुभएको थियो ? तपाईं त नेताहरू किन बचाउने ? किन बचाउने भन्दै हुनुहुन्थ्यो भनेको मराउने भन्दै हुनुहुन्थ्यो त, होइन र ? कस्तो कस्तो मान्छे देशमा प्रधानन्यायाधीश भएछन्, आहा…! सेनाले बचायो भन्दा, किन बचाउने ? किन बचाउने भनेर उफ्रिने मान्छे प्रधानन्यायाधीश भएका रहेछन् यो देशमा । कठै बरी देशको हालत ! त्यस्तै मान्छे फेरि प्रधानमन्त्री भएका छन्, त्यसै बापत् । यसको जवाफ दिनु परेन प्रधानमन्त्रीज्यू ? त्यो क्यासेट के हो ? त्यो जवाफ दिनुपर्‍यो । मजाक हो यो ? तसर्थ, मैले अस्ति पनि भनेको थिएँ, यो त आतंकको राज भयो, त्रासको राजनीति भयो, तर्साउने कुरा भयो । दह्रो मुटु भएकाहरू तर्सिदैनन्, कमजोर मुटु भएकाहरू तर्सेलान्, नेकपा एमाले तर्सिदैन, नेपाली जनता तर्सिदैन ।

म तपाईंहरुलाई भन्न चाहन्छु, नेकपा एमाले तर्सिदैन । विधिको शासन फर्किन्छ, फर्काउनुपर्छ र फर्काइन्छ । तर्सिदैन नेकपा एमाले । यस्तो राजनीतिक अवस्था देशको छ । यति अस्थिरता, यस्तो अराजकता, विधिहीन अराजक शासन र अर्थतन्त्र ध्वस्त छ । भ्रष्टाचारका ठूल्ठूला काण्डहरू पेपरले बाहिर ल्याइराखेका छन् । सामाजिक सञ्जालले बाहिर ल्याएका छन् । सामाजिक सञ्जाललाई धम्काउने थर्काउने कारबाही गर्ने होइन, बाहिर ल्याएबापत् जवाफ दिनुस् । जवाफ दिनुस् । तपाईंहरूलाई अरूलाई भ्रष्ट भन्न मन लाग्छ होइन ? अहिले त सप्रमाण कहाँ ४३ करोड घाटा पर्‍यो, कहाँ कसलाई कर छुट दिइयो, यस्ता कुराहरु आएका छन् त ।

अनि तपाईंहरुले के ठान्नुभएको छ, तपाईंहरु घामजुन रइनजेल रहनुहुन्छ, सधैं अब तपाईंहरुको सरकार हुन्छ, कहिल्यै तपाईंहरुमाथि कारबाही हुँदैन, छानबिन हुँदैन भन्ने ठान्नुभएको छ ? भ्रम नपाल्नुहोला । तपाईंहरु यो दुई दिनको ‘घामछाया’ हो । तसर्थ, अरूलाई भ्रष्ट भन्न तपाईंहरुलाई मन पर्छ होइन ? सुशासनका नाममा केही अपराध नभएपनि गिरफ्तार गरिछोड्ने, त्यस्तो रहर लाग्छ होइन तपाईंहरुलाई ? यस्ता रहर छोड्नुस् । लोकतान्त्रिक विधि र प्रक्रियामा आउनुहोस् । उत्तेजना छोड्नुहोस् । अब तपाईंहरू सरकार छोड्ने मानसिकता बनाउनुहोस् । सरकारबाट हट्नुपर्छ तपाईंहरु । जनताले छानेको होइन तपाईंहरूलाई ।

सरकार त्यसले मात्र चलाउन पाउँछ, जो नेपाली जनताले छानेको छ । नेपाली जनताको जो प्रतिनिधि हो, उसले सरकार चलाउने हो । ‘आगो लगाएर, घर जलाएर, अफिस जलाएर, लुटपाट गरेर, तोडफोड गरेर, आतङ्क फिजाएर, सत्ताकब्जा गरेर अनि हामीले त बलियो किलो गाड्याै सत्तामा’ भन्ने ठान्नुभएको छ भने त्यो होइन । तपाईंहरुले छोड्नुपर्छ । तपाईंहरुसँग शासक हुने हक छैन । जनताबाट तपाईंहरू निर्वाचित होइन । साधारण एउटा गैरसरकारी संस्थाले पनि शपथमा के भन्छ भने, ‘शासन विधिको हुनुपर्छ, व्यक्तिको होइन’ भनेर । अहिले शासन विधिको त कुरै छोडिदिऔं, व्यक्ति पनि यस्तो व्यक्तिको, जो कुनै अधिकार प्राप्त छैन ।

अनधिकृत व्यक्तिको अराजत्तामा आधारित उत्पातबाट सिर्जना भएको सरकार चलिराखेको छ । यस्तो हुनु हुँदैन । म सोध्न चाहन्छु, तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न ? एकपल्ट धेरैवटा कुरा गर्नुभएको छ प्रधानमन्त्रीजीले, लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न ? बताउनुहोस् । लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भने यही हो लोकतन्त्र ? जनतामा विश्वास गर्नुहुन्छ कि हुन ? बताउनुहोस् । यसैगरी बन्छ सरकार ? २१ गते फागुनमा चुनाव गराउछन् नि भन्नुहुन्छ । ढाँट कुरा गर्नुहोला । त्यो चुनाव गर्ने, गराउने अधिकार पनि तपाईंलाई छैन । को हो तपाईं चुनाव गराउने ? कसले अधिकार दियो चुनाव गराउने ? त्यसका लागि तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन । तपाईंहरू सरकारबाट हट्नु पर्दछ । संविधान यो हो, लोकतन्त्र त्यो हो, त्यस्तै भन्छ लोकतन्त्रले, संविधानले ।

संसद अनुचित ढंगले विघटन भएको छ । पुन:स्थापना हुनुपर्छ । विघटन हुन्छ भने पनि त्यसको विधि हुन्छ । त्यस विधिअन्तर्गत हुन सक्छ । अब संसद्को पुनस्र्थापना गर्ने र त्यसबाट सर्वदलीय/सर्वपक्षीय सरकार बनाउला । संविधान संशोधन हुन सक्छ संसदबाट । संविधान संशोधन नभइकन थुप्रै कुराहरु पूरा गर्न अप्ठ्यारो छ भने संविधान संशोधन राष्ट्रिय सहमतिबाट गरौँला, सर्वदलीय सहमतिबाट गरौँला, संसदको सहमतिबाट गरौँला । सांसदहरू जनताबाट निर्वाचित जनउत्तरदायी प्राणीहरु हुन् । उनीहरुले गम्भीरतापूर्वक सोच्ने छन् र जेएनजीका मागको जुन दुहाइ दिइन्छ । जेएनजीका माग पनि संसदबाट, संसद्को पुनस्र्थापानबाट पूरा गर्ने बाटो निस्किन्छ । संसद पुनस्र्थापना गरौं । जेएनजीका मागलाई पनि सम्बोधन गरौं । लोकतन्त्र पुनस्र्थापना गरौं । संविधानलाई बाटोमा हिडाऔं । शान्ति स्थापना गरौं । सुशासन र विकासको बाटोमा देशलाई लैजाऔं र अगाडि बढौं ।

म सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु, भावनामा नबग्नुस् । लोकतन्त्रबिना राजनीतिक दलहरुले एकछिन्का लागि भ्रम पाल्नु हुँदैन । कसैसँगको इष्र्याभाव, मनमुटाव अथवा प्रतिशोधको भावनाले लोकतन्त्र गएकोलाई ठीक हो भनेर ताली पिट्नु हुँदैन–राजनीतिक दलहरुले । राजनीतिक दलले, राजनीतिक तर्क र राजनीतिक यथार्थ त्यसअनुसार अगाडि बढ्नु पर्छ । त्यसर्थ म सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह, पूर्वाग्रह र प्रतिशोधको हिसाबले सोच्ने होइन, विचार गर्ने होइन र यस असंवैधानिक सरकारका पछिपछि जन्ती जस्तो भएर, जन्तीले पाउने के हो ? गएर एकछाक भात खाएर फर्किने होला कि खाजा खाएर फर्किने होला ।

राजनीतिक पार्टीका काँधमा देशप्रतिको उत्तरदायित्व छ, अनि यस्तो सरकारको जन्ती हुने ? सुहाउँदैन । म सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह, सर्कीणता र प्रतिशोध छोडौं । देशका लागि, लोकतन्त्रका लागि, हामीले बडो दु:ख गरेर बनाएको संविधानको रक्षाका लागि, त्यसको कार्यान्वयनका लागि, हामी बस्ने, हामी बाँचेको देश र हाम्रा सन्तती भोलि बाँच्नु पर्ने देश, शान्तिपूर्ण र सुशासनयुक्त हुनुपर्दछ । त्यसका लागि प्रतिनिधिसभाको पुनस्र्थापना एकमात्र बाटो हो । त्यस मागमा जाऔं । म सबैलाई आग्रह गर्न चाहन्छु । म त्यसैगरी विभिन्न संघ संस्थाहरूलाई, नागरिक समाजलाई, सञ्चार माध्यमहरूलाई तपाईंहरू सेल्फ सेन्सरशिपमा लेख्यो कि धम्की आउँछ, लेख्यो कि के के हुने हो, लेख्यो कि घरमा ढुङ्गा हान्न आउँछन् ।

त्यस प्रकारको त्रासदिपूर्ण स्थितिमा डराइरहनु भयो भने बसिरहनु पर्दछ, त्यस्तै अवस्थामा । डर छोड्दिनुहोस् । प्रेस स्वतन्त्रताको पक्षमा, वाक् स्वतन्त्रताको पक्षमा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेकपा एमाले छ । नेकपा एमाले भनेको क्लब होइन, देशको सबैभन्दा लोकप्रिय पार्टी हो । नेकपा एमाले तपाईंहरूको साथमा छ, तपाईंहरूको स्वतन्त्रताको पक्षमा छ । तपाईंहरू देशको पक्षमा र लोकतन्त्रका पक्षमा उभिनुहोस्, सबैलाई म आग्रह गर्न चाहन्छु ।

नेकपा एमालेका नेता, कार्यकर्ता साथीहरूलाई म अग्रह गर्न चाहन्छु, पहिले कहिल्यैभन्दा असहज र अप्ठ्यारो अवस्थामा देश छ, यस्तो अवस्थामा नेकपा एमाले जस्तो जनताको पार्टी, देशभक्त पार्टी डबल होइन, चौबर सक्रियताका साथ सही विचार लिएर जनताका बीचमा जानुस् । टोलटोलमा सुरक्षा समितिहरू बनाउनुस् । राज्यले सुरक्षा दिन सकेन । हामी देखिरहेका छौंं, राज्यले सुरक्षा दिन सकेको छैन । राज्यले हाम्रा नेताहरूलाई सिमरा जानबाट रोक्यो । राज्यले त्यहाँ पुर्‍याउन पथ्र्यो । पुर्‍याउने होइन, रोक्ने बाटोमा रह्यो । राज्यले सुरक्षा दिन सकेन । निर्वाध रूपमा देश जल्यो, तोडफोड भयो, लुटियो । उद्योगधन्दाहरू लुटियो । किन उद्योगधन्दा लुटिए, यस देशलाई गरिब पार्न होइन भने धनी बनाउनका लागि लुटिए ? आगो लगाइयो किन ? उद्योगहरूमा आगो किन लाग्यो ? विकास, निर्माणका काममा किन आगो लाग्यो ? किन तोडफोड भए ? देशलाई कंगाल बनाउनका लागि । यस्तो अवस्थामा शान्ति स्थापना गर्न जनता आफैँ अगाडि सर्नुपर्‍यो कि परेन ? टोलटोलमा सुरक्षा समिति बनाउनुहोस् । हामीले राष्ट्रिय स्वयंसेवक बनाएका छौंँ । त्यसबाट कोही पनि आत्तिनु दिनु पर्दैन, यसकारण कि यसले कसैको सुरक्षामा तलमाथी पार्दैन, सबैको सुरक्षा सुदृढ गर्छ । यसले कुनै पत्रकारलाई धम्काउने छैन, कुनै मिडियालाई धम्काउने छैन, कसैका घरमा आगो लगाउन जाँदैन, कसैका घर तोडफोड गर्दैन, कसैका घर लुटपाट गर्दैन, पसल/डिपार्टमेन्टल स्टोरहरु लुटपाट गर्दैन ।

यसले त्यस्ता लुटपाट गर्ने, आगजनी गर्ने, तोडफोड गर्नेहरूलाई गर्नु हुँदैन भनेर रोक्छ, सम्झाउँछ । त्यसकारण यससँग डराउनुपर्ने कुनै आवश्यकता छैन । अवश्य नै, यो नवगठित संस्था लोकतन्त्रको पक्षमा उभिन्छ, लोकतन्त्र पुन: स्थापनाका लागि उभिन्छ र क्रियाशील हुन्छ । संविधानको रक्षाका लागि उभिन्छ र जनताका मौलिक हकअधिकारको रक्षाका लागि उभिन्छ । त्यसकारण योसँग तर्सिनु पर्दैन । यो सकारात्मक सोचका साथ सकारात्मक राष्ट्रिय कार्यका लागि बनेको हो र त्यसैगरी यो क्रियाशील हुनेछ ।

म सबैलाई आग्रह गर्न चाहन्छु, युवाहरूलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् राष्ट्रिय युवा फोर्समा संगठित हुनुहोस्, क्रियाशील हुनुहोस् र अगाडि बढ्नुहोस् । यसले प्रहरीलाई समेत सुरक्षा दिन्छ । बारामा प्रहरी किन लखेट्यो ? प्रहरी लखेट्न पाइँदैन, प्रहरीलाई ढुङ्गा हान्न पाइँदैन, जोसुकैले जेसुकै भनोस् । प्रहरीमाथि लाठी हान्न पाइँदैन, ढुङ्गा हान्न पाइँदैन, प्रहरी कुट्न पाइँदैन, लखेट्न पाइँदैन र प्रहरीलाई घाइते बनाउन पाइँदैन । त्यहाँ युवा मोर्चा राम्ररी बनिसकेको थिएन । त्यसकारण त्यो घटना भयो । म भन्न चाहन्छु, पाइँदैन भनेपछि पाइँदैन, प्रहरी चुट्न पाइँदैन, लखेट्न पाइँदैन र प्रहरीमाथि ढुङ्गा हान्न पाइँदैन । हाम्रो भोलेन्टियर फोर्स त्यसमा उभिनु नपरोस् । त्यसका लागि क्रियाशील हुन नपरोस्, म पहिले नै सबैलाई भन्न चाहन्छु ।

शान्ति स्थापना हुनुपर्दछ देशमा । हिंसात्मक ढंगले र उत्तेजना फैलाउने ढंगले कोही पनि क्रियाशील हुन पाउँदैन । अस्ति मैले सुनिराखेको छु, प्रधानमन्त्रीजी भनिरहनुभएको छ, ‘देशमा उत्तेजना फैलाउन पाउँदैन, हिंसा भड्काउन पाइँदैन’ भनेर । विरगञ्जमा के भइरहेको छ ? त्यसलाई साथ दिन तपाईंले एसपी फिर्ता गर्‍या होइन ? त्यही हिंसालाई साथ दिन, उत्तेजना भड्काउनलाई साथ दिन तपाईंले फिर्ता गर्‍या होइन ? सायद तपाईंलाई एमालेका विचारहरू उत्तेजक लाग्यो होला, हिंसा भड्काउन खोजेको लाग्यो होला । उहाँले भन्नुभएको छ, ‘यो सरकार असंवैधानिक भन्न थाल्ने हो भने हिजोभन्दा बढ्ता अझ ठूलो आन्दोलन हुनेछ ।’ कहाँ भएको आन्दोलन ? तपाईंले आगजनीलाई आन्दोलन भनेको ? तपाईं प्रधानमन्त्री बेठिक ढङ्गले बन्नुभयो । तपाईं प्रधानमन्त्री बनेको हुनाले देशभरिको आगजनी क्रान्ति हुन्छ ? सही हुन्छ ? त्यो सकारात्मक कुरा हो ? त्यो राम्रो कुरा हो ? त्यसलाई तपाईं आन्दोलन र क्रान्ति भनेर आफू प्रधानमन्त्री भएको हुनाले त्यत्ति सस्तो मूल्यमा यत्रो विध्वंसको महिमा मण्डन गर्दै हुनुहुन्छ ।

इतिहासले यो विध्वंशलाई महिमा मण्डन गर्नेछ ? प्रधानमन्त्रीजी अलिक परसम्म हेरेर, अलिक परसम्म सोचेर बोल्नुहोस् । तपाईं प्रधानमन्त्री हुनुभयो भन्दैमा यो देशभरि आगजनी, तोडफोड, लुटपाट, यो आतंक, यो अराजकता, विभिन्न तत्वहरूको यो ताण्डवनृत्य, यो कुरालाई महिमा मण्डन गर्न सकिँदैन । ‘ग्लोरिफाइ’ गर्न सकिँदैन यसलाई र गर्न पनि हुँदैन । तपाईं त त्यसै कुरालाई बढावा दिइरहनु भएको छ । अनि अरूलाई भन्नुहुन्छ, उत्तेजना फैलाउने खालका कुरा नगर्नू । शायद दुर्गा प्रसाईंलाई समातेको त्यही उत्तेजना फैलिने कुरा र क्यासेट बाहिर निकाल्दियो भनेर हो । अब यस्ता खालका गतिविधिहरू होइन ।

सबैलाई संवादमा आउन, विघटित प्रतिनिधिसभा पुन:स्थापना गर्न, संविधानबमोजिम देशलाई अगाडि बढाउन, आवश्यक ठाउँमा संविधानको पनि संशोधन गर्न नेकपा एमाले खुला छ । तर अनुचित क्रियाकलाप सच्याउनुपर्छ र लोकतान्त्रिक प्रणाली वापस गर्नुपर्दछ, संविधान कार्यान्वयन हुनुपर्दछ, संविधानबमोजिम देश हाँकिनुपर्दछ । नेकपा एमाले यस कुरामा दृढ छ । यसभित्र बसेर सम्पूर्ण कुराहरूमा छलफल गरौँ, संविधान भित्रको निकास खोजौं । म प्रधानमन्त्रीजीलाई पनि भन्न चाहन्छु, तपाईं १२५ का हुलमा चुनावसम्बन्धी छलफल गरेको अरे विमर्श ! ‘ड्रामा’बाहेक के हो ? त्यो ड्रामा हो । ड्रामा छोड्नुस् । सक्नुहुन्छ भने वातावरण बनाउनेतिर लाग्नुस् न । अपराधीले लगेका हतियार खोस्नुस् त, फिर्ता ल्याउनुस् त, बाहिर छुटेका र छुटाइएका, अपराधी किन छुटाइए ? कस्ता कस्ता तमासा भए, छोड्ने आदेश दिएको छ, छोड्ने आदेश दिएको छैन, छुटेको डेढ घन्टापछि मलाई कागजमा ल्याएर सही गराए भन्छ एकजना जेलर । भएको के हो यस्तो तमासा ? अनि यस्ता कीर्ते, ठगी, जालसाजी र यस्ता मुद्धाहरु जेल फोड्ने सिलसिला सुरु गर्ने, फोडाउने ।

अराजकता जहाँबाट सकिन्छ, त्यहाँबाट बढाएको होइन ? जहाँबाट देश भड्काउन सकिन्छ, जहाँबाट देशमा विध्वंश मच्याउन सकिन्छ, त्यहाँबाट मच्याउन खोजेको होइन ? यी चिजहरु बन्द गर्नुस् र सकारात्मक ढंगले सोच्न सुरु गर्नुस् । घामजुन रहिनजेल तपाईंहरु रहने होइन । बरु सहजताका साथ लोकतन्त्र फर्काउने मार्गमा आउनुस् । मान्नुहुन्न भने जनताले देशमा लोकतन्त्र फर्काइ छोड्ने छन् । विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी छोड्ने छन् । नेपाली जनताले संविधानको बाटोबाट देशमा हिंड्न सक्ने अवस्था सिर्जना गर्नेछन् । त्यसको अगुवाई नेकपा एमालेले गर्नेछ, म स्पष्ट पार्न चाहन्छु ।

हामीले असली बाघ वनमा पनि देखेका छौं, किताबमा, कापीमा, चित्रमा, कहिले कहिले मन्दिर अगाडि बनाएका ढुंगाका बाघ पनि देखेका छौं । अहिले देखा परेका बाघ कागजका बाघ हुन् । कागजका बाघले तर्साउन नखोजे हुन्छ । नेकपा एमाले एउटा देशभक्त पार्टी हो । देशभक्ति, लोकतन्त्रप्रतिको निष्ठा र देशलाई विकास गर्ने हाम्रो संकल्प अटल छ । यहाँ कागजी बाघले तर्साउने प्रयास नगरे हुन्छ ।

अघि नै महासचिवजीले भनिसक्नु भयो, ‘यो अन्तिम होइन सुरुआत हो ।’ यो कुनै भोट माग्नका लागि चुनावी सभा गरिएकोे होइन । देश बचाउनका लागि, लोकतन्त्र बचाउन, संविधान बचाउन र जनताका अधिकार बचाउनका लागि गरिएको सभा हो । यो नेपाली जनताको सभा हो । एमालेले त आयोजना गरेको हो । यस्ता सभाहरू अब आयोजना गर्दै गइने छ । तसर्थ, आगामी दिनमा अझ व्यापक, अझ सशक्त सभाहरू हामी गर्दै जानेछौंँ । जबसम्म प्रतिनिधि सभाको पुनस्र्थापना हुँदैन, यो माग राख्नका लागि राखिएको माग होइन, पूरा गराउनका लागि राखिएको माग हो ।

यसकारण यो आन्दोलन अगाडि बढ्दै जानेछ, यसमा सहभागिता बढ्दै जानेछ, यसले सफलता प्राप्त गर्नेछ भन्ने विश्वास गर्दै र सबैमा विश्वास दिलाउँदै, किनभने नेकपा एमाले यसको अग्रभागमा छ । फेरि एक पल्ट सम्पूर्ण राजनीतिक दलहरूलाई पनि राजनीतिक दलको औचित्य सावित हुनेगरी प्रस्तुत हुन पनि आग्रह गर्न चाहन्छु । किन राजनीतिक दल ? त्यसको औचित्य सावित हुनेगरी अगाडि बढ्न सबैमा म आग्रह गर्न चाहन्छु ।

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ मंसिर, २०८२ मा काठमाडौंमा आयोजित जनप्रदर्शन तथा सभा कार्यक्रममा गर्नुभएको सम्बोधनका आधारमा तयार पारिएको)